हुलाकलाई सामुदायिक सूचना केन्द्र बनाइने



नेपाल समाचारपत्र
हेटौंडा
सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सूचना मन्त्रालयमा सूचनाबाहेक अन्य कुरा मात्र रहेकाले सूचनाको भकारी बनाउन हाल कार्यविहीन भएको हुलाकलाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउन सरकार अन्तिम तयारीमा रहेको बताएका छन्।

हुलाकको कामलाई जनसरोकार केन्द्रको रूपमा विस्तार गर्ने योजनाअनुसार सरकारले तयारी गरको उनले बताए। नेपाल पत्रकार महासंघ मकवानपुरको हेटौंडा–४ स्थित कार्यालयमा रहेको सूचना केन्द्रको उद्घाटन गर्दै मन्त्री कार्कीले आधुनिक सञ्चारका प्रविधि उपयोग गर्दै नागरिकलाई सही सूचना पुर्याउन केन्द्रबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री कार्कीले हुलाक सेवाको स्थापना जनसरोकारसँग प्रत्यक्ष जोडिएकाले हुलाकलाई अब चिठीपत्रसँग मात्र जोडन नहुने बताए। हुलाक, सूचनाको अभिन्न अंग भएको बताउँदै उनले सरकारले तयारी गरेको सूचना केन्द्र रेमिटइन्स सेवा र सामजिक सुरक्षाभत्ता प्रदान गर्ने स्थलका रूपमा रहने बताए। मन्त्री कार्कीले पत्रकारिता एक संवेदनशील पेसा भएकाले सोहीअनुरूप पत्रकारहरू पनि गम्भीर बन्नुपर्ने बताए। पत्रकारिता क्षेत्रले केन्द्रको कुराहरूलाई मात्र ध्यान दिँदा आवाजविहीनको आवाज मूलप्रवाहमा नआउने बताउँदै मन्त्री कार्कीले सञ्चारजगत्ले आवाजविहीनका क्षेत्रमा काम गर्नुपर्ने सुझाए।

उनले अब केही दिनमा मोफसलका रेडियोहरू नवीकरणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने र रेडियोको नवीकरण दस्तुर घटाउन आफूले निर्देशन दिएको बताए। मन्त्री कार्कीले सबभन्दा खतरनाक हतियार पत्रकारसँग हरेक नेपाली जनतालाई सुसूचित गराउने काम पत्रकारको भएको बताए। उनले सुसूचित गर्ने पत्रकारलाई पुरस्कृत गरिने बताए।

प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले पत्रकार महासंघ मकवानपुरले राम्रो कार्य गर्दै आएको बताउँदै सूचना केन्द्रलाई संस्थागत गराउन र दिगो सञ्चालनको आधार तय गर्न आग्रह गरे। पत्रकार महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठले पत्रकार महासंघ मकवानपुरले हालसम्म गरेका गतिविधि प्रस्तुत गरेका थिए भने उपाध्यक्ष गिरिजा अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्