संघीयता र समानुपातिक देशका लागि ‘क्यान्सर’ : कटवाल



नेपाल समाचारपत्र
पाँचथर
पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले संघीयता र समानुपातिक देशका लागि क्यान्सर भएको बताउनुभएको छ। उहाँले नेपाललाई हिन्दू राज्य घोषणा नगरिए अखण्ड, स्वतन्त्र र स्वाधीन राष्ट्र नरहने पनि बताउनुभएको छ।

राष्ट्रिय हिन्दू एकता समाज मञ्च, नेपालले सदरमुकाम फिदिममा आयोजना गरेको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल पुनः स्थापना महाअभियान कार्यक्रममा बोल्नुहुँदै उहाँले सो विचार व्यक्त गर्नुभएको हो।

उहाँले देश बचाउनका लागि पनि नेपाललाई हिन्दू राष्ट्र बनाउन जरुरी रहेको जिकिर पनि गर्नुभयो। उहाँले भन्नुभयो– ‘नेपाललाई हिन्दू राज्य घोषणा नगर्ने हो भने अखण्ड स्वतन्त्र स्वाधीन राष्ट्र नरहने हुनाले परिर्वतनको नाममा देशलाई संघीयता र समानुपातिक विभाजन गरेर यो भूमिलाई चक्लाबन्दी बनाउने काम भइरहेको छ। यो कार्य देशको क्यान्सर बराबर हो। देश बचाउने काममा नेताहरू नलागी बिगार्ने काममा लागेकोमा मलाई चिन्ता लागेको छ।’

कार्यक्रममा उहाँले संविधानमा २५ सदस्सीय मन्त्रीमण्डल रहने व्यवस्था हुँदा हुँदै अहिले ४१ सदस्यीय मन्त्रीमण्डल यो सरकारले पुर्याएको भन्नुहुँदै यो देशलाई माया गर्ने कुनै नेता नजन्मेकामा आफूलाई दुःख लागेको भन्नुहुँदै त्यसतर्फ सबै सचेत रहन अनुरोध गर्नुभयो। उहाँले देश बचाउनका लागि अब नेताहरू होइन पत्रकार, शिक्षक र जनताको साथ चाहिएको भन्नुहुँदै नेताहरूप्रति आक्रोस व्यक्त गर्नुभयो। कार्यक्रममा नेकपा मालेका पोलिटब्युरो सदस्य दीनानाथ घिमिरे र झापाका कवि अशोक सुबालले समेत नेपाल हिन्दू राज्य हुनुपर्ने धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्