‘राज्यले स्रष्टाको कदर गर्न सकेन’



काठमाडौं, (नेस)
राज्यले देशको गहना भनिने कलाकार एवम् स्रष्टाको उचित सम्मान गर्न नसकेको आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। लहना मिडियाद्वारा आयोजना हुन लागेको वरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष सम्मानसहितको सांगितिक कार्यक्रम ‘युएफओ भिन्तुना सनिल’ को जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनका वक्ताहरूले राज्यले कलाकारलाई देशका गहना भन्दै साँच्चिकैमा गहनाकै रूपमा मात्र प्रयोग गरेको गुनासो गरे।

वक्ताहरूले कलाकारलाई देशको गहना भन्दै सजावटका लागि आवश्यक परेको बेला प्रयोग गर्ने र अरू बेला वास्ता नगर्ने व्यवहार गरेको भनेका थिए। पत्रकार सम्मेलनमा राज्यले बेवास्ता गरेको कलाकार एवम् स्रष्टाहरूको उचित किसिमले कदर गर्न नसकेको अवस्थामा जनस्तरबाट नै निरन्तर रूपमा सम्मान हुनुबाट राज्यले पनिसक्नुपर्ने कुरा बताइएको थियो। लहना मिडियाले यही माघ १४ गते शुक्रबारका दिन काठमाडौंमा एक सांगीतिक कार्यक्रमको आयोजना गरी गोल्डन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानालाई सम्मान गर्न लागिएको हो। वरिष्ठ गायक प्रधानलाई दोसल्ला ओढाइ सम्मानपत्रका साथमा नगद रु. ५१,१११⁄– सहित सम्मान गर्न लागिएको हो। लहनाले नयाँ वर्ष नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा सांगीतिक कार्यक्रमको आयोजना गरी सोही कार्यक्रममा गायक प्रधानलाई सम्मान गर्ने जनाएको हो।

कार्यक्रममा सातौं फिल्मफेयर अवार्ड कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्रममै भ्वाइस अफ नेपाल उपाधि पाएका गायक प्रधानलाई सो समयमा बुम्बईमै बस्न आग्रह गरिंदा पनि आफ्नो मातृभूमिमै फर्केर, नेपाली संगीत क्षेत्रमै निरन्तर दिइरहनुभएको योगदानको कदरस्वरूप प्रधानलाई सम्मान गर्न लागिएको बताइयो। गायक प्रधानलाई सम्मान गरीने उक्त कार्यक्रममा गायक भीम तुलाधर, ज्योति घिमिरे, जेम्स प्रधान, निशा देशार, सुरजवीर वज्राचार्य, एन्जिला सिं, भुपेन्द्र वज्राचार्य, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, सुलिन्द्र शाक्यका साथै आराध्यलक्ष्मी खड्गीको सांगीतिक प्रस्तुतीसमेत रहनेछ।

लहना मिडियाद्वारा आयोजना हुने यस कार्यक्रमको सञ्चार संयोजन भने नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाबाट भएको हो। पत्रकार सम्मेलनमा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, लहना मिडियाका साथै भिन्तुना सनिल कार्यक्रमका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाका उपाध्यक्ष विराजकाजी राजोपाध्यायले कार्यक्रमको आ–आफ्नो मन्तव्य राख्नुका साथै पत्रकारहरूको जिज्ञासा एवम् प्रश्नको उत्तर दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्