हुलाकी सडक बनाएरै छोड्छुः ओली



भद्रपुर, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुप्रतिक्षित हुलाकी सडक बनाएरै छोड्ने दाबी गर्नुभएको छ। वामपन्थी नेता स्वर्गीय द्रोणाचार्य क्षेत्री स्मृति महिला तथा बाल विकास भवनको झापाको पथरियामा शनिबार शिलान्यास गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले स्वदेशी लगानीमा पूर्व–पश्चिम तराई जोड्ने हुलाकी सडक निर्माणको प्रकृया शुरू गरेकाले निर्माण सम्पन्न गरेरै छोड्ने दाबी गरेका हुन्।

विगत १९ वर्ष यता हुलाकी सडक निर्माणको नारा दिएर चुनाव जित्नेहरूले सडक निर्माणलाई महत्त्व नदिएर जनतालाई विकास र प्रगति नदिएको भन्नुहुँदै ओलीले राजनीतिक उपलब्धीले उच्च स्थान बनाइसकेकाले अब आर्थिक उन्नतिका लागि युवा परिचालनको समय आएको बताउनुभयो।

उहाँले विकासका लागि नेपाल सरकारसित पैसाको अभाव नभएको उल्लेख गर्नुहुँदै स्वाभिमानी भावना र इमान्दार नेतृत्वको आवश्यकता औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्