पाठ्यपुस्तक छाप्न हामी सक्षम छौंः साझा



करारमा कर्मचारी नियुक्त गर्छु, काम नगर्नेलाई हटाउँछुः महाप्रबन्धक
नेपाल समाचारपत्र
काठमाडौं,
साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफूहरू पाठ्यपुस्तक छपाइ र बिक्रीवितरण गर्न सक्षम भएको बताउनुभएको छ।

आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको चरम अभाव हुने सम्भावना भएको बेला उहाँले सो धारणा राख्नुभएको हो। उहाँले आफ्नो कार्यकालमा भएको संस्थाको प्रगति र आगामी २ वर्षको कार्यकालको नयाँ कामहरू सार्वजनिक गर्ने क्रममा सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले निजी क्षेत्रले त्यही पाठ्यपुस्तकको काम गरेर नाफा कमाउने र राज्यका संस्थाहरू घाटामा जानुको कारण खोज्न अध्ययन समूह गठन गरिएको भन्नुहुँदै विगतमा प्रकाशनमा भएका अनियमितताबारे पनि आगामी वैशाखभित्र लेखा परीक्षण प्रतिवेदनसहित सबै विवरण सार्वजनिक गर्ने बताउनुभयो।

उहाँले साझामा काम गर्न नयाँ करारका कर्मचारी आवश्यक रहेको उल्लेख गर्नुहुँदै राजनीतिक स्वार्थपूर्ति गर्न कामै नगर्न आएका कर्मचारीलाई हटाएर छाड्ने प्रतिवद्धता जनाउनुभयो।

आफू पनि राजनीतिक नियुक्तिबाट पदासिन भए पनि काम गरेर देखाएको दाबी गर्नुहुँदै उहाँले भन्नुभयो– ‘म त काम गर्न आएको हुँ, भ्रष्टाचार गर्न होइन।’ उहाँले आफ्नो कार्यकालमा नयाँ काम गर्न नसके कुर्सी छाड्ने दावीसमेत गर्नुभयो।

सरकारले गत महिना ऋण र अनुदान गरी ३० करोड रुपियाँ निकासा गरे पनि संक्रटग्रस्त सो संस्था बामे सर्न थालेकाले अब आफैं कमाएर राज्यसँग माग्ने होइन दिनसक्ने नमूना संस्थाका रूपमा यसलाई विकसित गर्ने शर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो। शर्माले दुई वर्षअघि आफू साझामा प्रवेश गर्दा प्रेस र अन्य कारोबार बन्दको अवस्थामा रहेको र साझा बचाउ अभियानले सुधारको बाटोमा अग्रसर गराएको बताउनुभयो।

लेखकहरूको लेखकस्व, कर्मचारीको पारिश्रमिकलगायत सेवानिवृत्त तथा अवकाश प्राप्त कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने कूल ४० करोडभन्दा बढी ऋण दायित्व साझा प्रकाशनलाई छ। यो ऋण चुक्त गर्न पनि आफ्नो कार्यकाललाई सफलता बनाउन सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्रीदेखि सबै दलका उच्च नेताले साझाको पछिल्लो कामको प्रशंसा गरेको चर्चा गर्दै उहाँले आफूलाई जस्तो सुकै जिम्मेवारी दिए पनि पूरा गरेरै छाड्ने बताउनुभयो।

टाट पल्टेको साझामा अहिले १६ करोड रुपियाँ छ। सरकारले वचन दिएको ३० करोड उपलब्ध भए समयमै पाठ्यपुस्तक छपाइ गरी ढुवानी गर्ने छौं–पाठ्यपुस्तकको पछिल्लो अवस्थाबारे जानकारी दिर्दै भन्नुभयो।

‘अब हामी सरकारका निकायको छपाइको काम गर्न सक्षम भैसकेका छौं, कतिपय निकायले काम लैजाउ भनिसकेका छन्, ती निकायको कामको चाँडै थालनी गर्नेछौं’–उहाँले भन्नुभयो। पछिल्लो समय साझाले १ सय ७२ जना कर्मचारीलाई कटौती गरी ८३ जना कायम गरेको थियो। प्रकाशनका सञ्चालक सदस्य तथा पूर्वशिक्षामन्त्री प्रदीप नेपाल र डा. कृष्णहरि बरालले विगतमा राजनीतिक भर्ती केन्द्र र भनसुनका आधारमा साहित्यिक कृति प्रकाशन गरेर संस्था डुबेको बताउनुहुँदै शर्मालाई जिम्मा दिएपछि साझामा केही सुधार भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्