सरकारले मन्त्री थप्नु अनुचितः बिजुक्छे

0
Shares

भक्तपुर, (नेस)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेले सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु अनुचित रहेको बताउनुभएको छ। श्रमिक साप्ताहिकको २४औं र मजदुर दैनिकको १९औं वार्षिकोत्सव एवं अनलाइन मजदुर शुभारम्भ गर्दै उहाँले संविधान संशोधन पारित गर्न दुई तिहाइ पुर्याउनकै लागि सरकारले मन्त्रीको संख्या बढाउँदै लैजानु अनुचित रहेको बताउनुभएको हो।

अन्य केही दल पनि सरकारमा जान पाए हुन्थ्यो भन्ने लालसामा रहेर कसरत गरिरहेको चर्चा गर्दै उहाँले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितका लागि लड्ने बताउनुभयो।

मधेसवादी दल विदेशी इसारामा चलेको बताउँदै उहाँले मधेसवादी दलले आफ्नो भाषा नभई उनीहरूले बोलेको भाषा विदेशी भाषा भएको टिप्पणी गर्नुभयो। नेपालको सञ्चार क्षेत्रमा पनि विदेशी हस्तक्षेप बढ्दै गएको तर्क राख्दै उहाँले सञ्चार क्षेत्रमा हुने विदेशी लगानीसमेत बन्द गर्नुपर्नेमा जोड दिनुभयो।

व्यावसायिक पत्रकारिताले श्रमिक पत्रकारलाई शोषण गरेर पुँजीपति वर्गको मात्र हित गर्ने बताउँदै उहाँले ठूला पत्रिका आफ्ना हित र विज्ञापनका लागि मात्रै चलेको टिप्पणी गर्नुभयो।
अमेरिकी राजनीतिको विश्लेषण गर्दै उहाँले शपथ लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले बोलेकै जस्तो उग्रतालाई एक साताभित्र नियन्त्रण नगरे उहाँमाथि आफ्नै देशबाट खतरा हुने उहाँको भनाइ थियो।

रूससँंग मिलेर चीनलाई एक्ल्याउने योजनामा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो शैलीलाई नसुधारे अमेरिकाकै लागि समेत खतरा हुने बिजुक्छेले बताउनुभयो।
कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले पत्रकारले सत्य र साँचो समाचारलाई निरन्तरता दिनुपर्ने औंल्याउँदै पुराना पत्रिकाको म्युजियम खोलेर पछिल्ला पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा श्रमिक साप्ताहिकका सम्पादक एवं मजदुर दैनिकका प्रधान सम्पादक सरोजराज गोसाईंले नियमित रूपमा प्रकाशित हँुदै आएका यी दुई पत्रिका र अनलाइन मजदुरले आमपाठकलाई सत्य, तथ्य समाचार मात्रै सम्प्रेषित गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस अवसरमा नेमकिपाका कोषाध्यक्ष चैत्यराज शाक्य, केन्द्रीय सदस्यद्वय सनकमान महर्जन, कृष्णकुमार वैद्य, मजदुर दैनिकका सम्पादक विष्णुकुमार कुसी, अनलाइन मजदुरका संयोजक रवीन्द्र ज्याख्वाले वर्षमा ३६५ दिन नै प्रकाशित हुने मजदुरले देश जनताको पक्षमा समाचार सम्प्रेषित गरिरहने बताउनुभयो।

Skip This