इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन सुरु



काठमाडौँ, ५ माघ । विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

शुक्रबारसम्म चल्ने सो सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ शुभारम्भ गर्नुभयो ।

मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल हुनेछ ।

एसिया क्षेत्रका ५२ सदस्य मुलुक र तीन पर्यवेक्षक मुलुक गरी ५५ राष्ट्रको प्रतिनिधित्व हुने भनिए पनि सम्मेलनमा ३६ राष्ट्रका कानुन कार्यान्वयन गर्ने अधिकारीको प्रतिनिधित्व भएको छ । सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललले मानव बेचबिखनबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

सम्मेलन शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले अपराधमा देखिएको प्रवृत्ति र चुनौतीको समाधानका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“कुनै एउटा मात्रै मुलुकको प्रयासले सङ्गठित अपराध र यसका चुनौती रोक्न सकिदैन, यसका लागि राष्ट्र–राष्ट्रबीच सहकार्य गर्दै अघि बढ्न जरुरी छ । एसियाका क्षेत्रका भावि दिनका सुरक्षा चुनौती सामना गर्न सक्नेगरी निष्कर्ष निकाल्न सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

उहाँले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै यो नयाँ चुनौती सामना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले अपराधका नयाँ प्रवत्तिलाई निरुत्साहित गर्न आवश्यक रणनीति तय गर्न सम्मेलन सफल हुने बताउनुभयो । उहाँले बहुआयामिक चुनौती रहे पनि त्यसलाई चिर्दै कानुनको कार्यान्वयन गर्न आवश्यक रहेकामा पनि जोड दिनुभयो ।

इन्टरपोलका अध्यक्ष मेङ हङवेइलले एसिया क्षेत्रको सुरक्षा चुनौती र समाधानका उपायबारे सम्मेलनमा छलफल हुने बताउनुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान, सहयोग, समन्वय र सहकार्य गर्न सम्मेलन आयोजना गरिएको बताउनुभयो । यसअघि १०औँ क्षेत्रीय सम्मेलन गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गर्दैछ । रासस

प्रतिक्रिया दिनुहोस्