विद्यालय व्यवस्थापन समिति गठनमा सकस



नानीराम नेपाल, सिन्धुपाल्चोक
शिक्षा ऐनको पछिल्लो संशोधनसँगै विद्यालय व्यवस्थापन समिति विघटन भएपछि नयाँ व्यवस्थापन समितिका लागि भदौ ५ गते खाडीचौरको बालशिक्षा माध्यमिक विद्यालयमा अभिभावक भेला भयो। सोही दिन १३ जना अभिभावकले विद्यालय व्यवस्थापन समितिमा जानका लागि मनोनयन दर्ता पनि गराए। तर ५ महिना बित्नै लाग्दा पनि नयाँ व्यवस्थापन समिति गठन हुन सकेको छैन।

राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा बालशिक्षामा व्यवस्थापन समिति गठनमा ढिलाइ भइरहेको छ। महिनौंसम्म दलहरूले आ–आफ्नो अडान नछाडेपछि विद्यालय प्रशासनले पुनः भेला बोलाएर विद्यालय व्यवस्थापन समिति गठनको नयाँ प्रक्रिया थाल्ने तयारी गरेको छ।

माघ १२ गतेसम्ममा चुनावी प्रक्रियाबाट भए पनि नयाँ विव्यस गठनको तयारी गरिएको विद्यालयका एक शिक्षकले जानकारी दिए। ‘दलहरूबीच रस्साकस्सी छ, लामोसमयसम्म विव्यस गठन हुन सकेन’, बालशिक्षा माविका शिक्षक सीताराम पराजुलीले भने– ‘पुनः भेला बोलाएर दुई साताभित्र चुनावी प्रक्रियाबाट भए पनि गठन गर्ने तयारी भइरहेको छ।’

लामो समयसम्म विव्यस नहुँदा शिक्षक पदपूर्ति नहुँदा पठनपाठन प्रभावित बनिरहेको भन्दै शिक्षक पराजुली विरोधस्वरूप हातमा कालोपट्टी बाँधेर अध्यापन गराइरहेका छन्। ‘विद्यालय डामाडोलको अवस्थामा छ, लामो समयसम्म विव्यस गठन नहुनु दुर्भाग्य हो।’ –उहाँले भन्नुभयो।

फुल्पिङडाँडास्थित जालपादेवी माध्यमिक विद्यालयमा विव्यसमा भागवण्डा गरेर स्थानीय दलीय संयन्त्रले ५ जनालाई चुनेर पठायो। नेपाली कांगे्रसबाट दुई, माओवादीबाट दुई, एमालेबाट दुई र जनमोर्चाबाट एक जनालाई विव्यसमा पठाइए पनि अध्यक्ष भने अझै चुनिन सकेन। दलहरूबीच विद्यालयको अध्यक्ष कसलाई बनाउने भन्नेमा ‘रस्साकस्सी’ शुरू भएको छ। कांग्रेसले माओवादीका लेखबहादुर सुवेदीलाई अघि सारेको छ तर सुवेदीको नाममा एमाले र जनमोर्चाले समर्थन नगरेपछि अध्यक्ष चयन हुनसकेको छैन।

शहीद पार्क निर्माणमा अनियमितताको आरोपमा अख्तियारमा उजुरी परेका कारण सडकको अध्यक्षसमेत रहेका सुवेदीसँग जिविसमा योजना सम्झौता रोकिएपछि सुवेदीलाई नै अध्यक्ष बनाउन नहुने एमाले र जनमोर्चाको अडान छ। ‘लेखबहादुरजीलाई अध्यक्ष बनाउँदा सडकको योजना सम्झौता नै रोकियो, अनि विद्यालयको अध्यक्ष कसरी बनाउन मिल्छ?’, एमालेका स्थानीय प्रतिनिधिले भने– ‘अख्तियारमा उजुरी परेको छ, उहाँलाई अध्यक्ष बनाउने कुरामा हामी समर्थन गर्न सक्दैनौं।’ दलीय सहमतिबाट नेतृत्व चयन नभएमा चुनाव नै गर्ने अन्तिम तयारी भइरहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

पछिल्लो पटक विद्यालय व्यवस्थापन समिति गठनका क्रममा देखिएका प्रतिनिधि दृश्यहरू हुन् यी। शिक्षा ऐनको आठौं संशोधनपछि जिल्लास्थित विद्यालयहरूले नयाँ व्यवस्थापन समिति पाउन सकस परिरहेको छ। स्थानीय तहमा दलहरूबीच विव्यसको नेतृत्वमा जान हानथाप हुँदा जिल्लाका डेढ सयभन्दा बढी विद्यालयहरू व्यवस्थापन समिति विहीन बनिरहेका छन्। दलहरूबीच कुरा नमिल्दा विद्यालयले व्यवस्थापन समिति पाउन सकिरहेका छैनन्।
जिल्ला शिक्षा कार्यालयका अनुसार हालसम्म ३ सय ५० हाराहारीमा विद्यालय व्यवस्थापन समिति गठन भएका छन्। राजनीतिक दलहरूकै कारण विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकिरहेका बेला जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे पनि समुदायस्तरमा कुरा नमिल्दा विव्यस गठनमा केही ढिलाइ भएको स्वीकार गर्नुहुन्छ। ‘कुरा नमिल्दा विव्यस गठन हुन सकेका छैनन्, हामीले यथाशीघ्र गठन गर्न भनिरहेका पनि छौं’, उहाँले भन्नुभयो– ‘हामीसँग पर्याप्त जनशक्ति नहुँदा पनि विव्यस गठनमा ढिलाइ भएको हो।’

माघ महिनाभित्र जिल्लाका सबै विद्यालयमा व्यवस्थापन समिति गठन भइसक्ने उहाँले बताउनुभयो। ‘विभागले माघभित्र गरिसक्नु भनेको छ, सोहीअनुसार हामी लागिपरेका पनि छौं’, उहाँले थप्नुभयो– ‘आशा गरौं माघ महिनाभित्र सबै विद्यालयले व्यवस्थापन समिति पाउनेछन्।’

प्रतिक्रिया दिनुहोस्