नेविसंघ विवाद असन्तुष्ट पक्षद्वारा बैठक बहिष्कार



काठमाडौं, (नेस)
नेपाल विद्यार्थी संघमा विवाद चुलिएपछि पौडेल समर्थक केन्द्रीय पदाधिकारीले हिजो सोमबार भएको बैठक बहिष्कार गरेका छन्। त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागि घोषणा गरेको निर्वाचनमा उमेरको विषयलाई लिएर पौडेल पक्षका पदाधिकारीले बहिष्कार गरेका हुन्। अध्यक्ष नैनसिंह महरले एकलौटी रूपमा स्ववियु निर्वाचन घोषणा गर्न त्रिविलाई सहयोग गरेको, विवादित ११ जिल्लाको अधिवेशन गर्न नसकेको र प्रतिनिधि छनोट भएर निर्वाचनमा आएका १३ जिल्लामा खाली रहेको स्थानमा पदाधिकारी चयन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गरेको हो।

नेविसंघका महामन्त्री कुन्दन अर्याल, उपाध्यक्ष दिल्लीराम सुवेदी, रामप्रसाद अधिकारीलगायत दुई दर्जनभन्दा बढी पदाधिकारी र सदस्यले बैठक बहिष्कार गरेको असन्तुष्ट पदाधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए। निर्वाचनको विरोधी नभए पनि सबैको भावना समेट्न नसकेको आरोप खेपेका अध्यक्ष महरले नेविसंघका अधिकांश निर्णय एकलौटी रूपमा गर्ने गरेको असन्तुष्ट पक्षको आरोप छ।

असन्तुष्ट पक्षले त्रिविले घोषणा गरेको निर्वाचन तत्काल हुनुपर्ने तर एकपटकका लागि उमेर हद तोक्न नहुने भनाइ राख्दै आएका छन्। असन्तुष्ट पक्षका उपाध्यक्ष रामप्रसाद अधिकारीले लामो समयसम्म क्याम्पसमा योगदान दिएका विद्यार्थीलाई एकपटकका लागि मौका दिन पनि उमेर हद हटाउनुको विकल्प नभएको बताएका छन्।
उता नेविसंघका पूर्वसभापतिहरूले मंगलबार तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने माग राख्दै जुलस निकालेका थिए। थापाथली क्याम्पसका पूर्वस्ववियु सभापति कुमार दुलालले आठ वर्षपछि हुन लागेको निर्वाचनमा सबै सहभागी हुन जुलुस प्रदर्शन गरेको बताउनुभयो।

यसै गरी अनेरास्ववियुले कार्यतालिका घोषणा गर्न माग गर्दै त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका छन्। संगठनले सोमबार बिहान तीनै पदाधिकारीकारीलाई ज्ञापनपत्र दिँदै तत्काल कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्