मातृभाषाबाट लोकसेवा आयोगको परीक्षा दिनुपर्ने व्यवस्था गर्न माग



ललितपुर(नेस)
निजामती सेवा समावेशी बनाउन नेपालमा बोलिने विभिन्न मातृभाषाबाट लोकसेवा आयोगको परीक्षा दिनुपर्ने व्यवस्था गर्न सम्बद्ध व्यक्तिहरुले माग गरेका छन् ।

ज्यापू समाज यलले ललितपुर उपमहानगरपालिकासंग सहकार्य गरेर आयोजना गरेको एक महिने लोक सेवा आयोग तालिमको सोमबार उद्घाटन समारोहका सहभागी वक्ताहरुले सो माग गरेका हुन् ।

सो अवसरमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले संघीय संरचनामा रुपान्तरण गर्न लागिएको निजामती सेवालाई समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि लोकसेवा आयोगमा विभिन्न भाषाबाट जाँच दिनपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
ज्यापू समाजका उपाध्यक्ष सविना महर्जनले संविधानले नै नेपालमा बोलिने सबै भाषाहरु राष्ट्र भाषा भनिसकेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उर्तान सो व्यवस्था गर्नुपर्ने पनि उनीहरुले भनाई रहेको छ । अहिले आयोगको परीक्षा नेपाली र अंग्रेजीमा भाषाबाट मात्र जाँच दिन पाउने व्यवस्था गरिएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लले निजामती सेवा प्रवेश गर्न संञ्चालन गर्न लागिएको तालिम महत्वपूर्ण हुने बताउँदै ज्ञानको दायरा, क्षमता बढाएर अघि बढ्नुपर्ने खाँचो औल्याउँनुभयो । प्रमुख जिल्ला अधिकारी काफ्लले नेपालको विविधतालाई व्यवस्थापन गरेर नै उन्नत नेपाल बनाउन सकिने धारणा राख्नुभयो ।

ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेले निजामती सेवा, स्थानीय निकाय र विभिन्न संस्थानमा प्रवेश गर्ने इच्छाका साथ तालिम लिन आग्रह गर्नुभयो । निजामती सेवामा आदिवासी जनजाति,युवाहरुको पहुँच बढाउन तालिम आयोजना गरिएको उहाँको भनाई रहेको छ । आज मंगलबारदेखि शुरु हुने एक महिने बिहान र साँझ गरी दुई सिफ्टमा सञ्चालन हुने बताइएको छ । तालिमममा १ सय ५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्