प्रधानमन्त्रीले राम्रो काम गर्न सकेनन्ः नेपाल



नेपाल समाचारपत्र
भक्तपुर
नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म कुनै पनि राम्रा काम गर्न नसकेको आरोप लगाउनुभएको छ। आइतबार समय समाज साप्ताहिक पत्रिकाको १२औं वर्ष प्रवेश एवम् ‘सपनाको राजधानी’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले राम्रो काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।

‘अहिलेसम्म धेरै नराम्रा कार्यहरू गर्नुभयो, कमसेकम एउटा मात्र भए पनि राम्रो काम गरेर हिजो भएको क्षतिलाई पुर्ताल गर्नुहोस्’, प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म कुनै पनि राम्रा काम गर्न नसकेको आरोप लगाउनुहुँदै नेता नेपालले भन्नुभयो– ‘म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भन्न चाहन्छु, तपाईंले राम्रो काम गर्नुभयो भनेर कसैले पनि प्रशंसा गरेका छैनन्, अब मौका आएको छ, गतिलो काम गरेर देश जोगाउनुस्, प्रजातन्त्रलाई बलियो बनाउनुहोस्, राष्ट्रियतालाई जोगाउनुहोस्, भ्रष्टाचारलाई न्यूनीकरण गर्नुहोस्, सुशासन कायम गर्ने, राष्ट्रको रक्षा गर्ने र छिटो निर्वाचन गर्ने काम गर्नुस्।’

देश टुक्रइउन खोज्ने तत्त्वलाई सरकारले संरक्षण गरेको आरोप लगाउनुहुँदै उहाँले भन्नुभयो– ‘अहिले देश टुक्रइउने कुरा उठिरहेको छ, सरकारले अहिले तिनलाई कारबाही गर्नुको सट्टा संरक्षण गर्न खोजिरहेको छ, यस्ता देशद्रोही र राष्ट्रघातीलाई नङ्ग्याउनुपर्छ, आलोचना गर्नुपर्छ।’ पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो– ‘अहिले जात र धर्मका कुराहरू आइरहेका छन्, यी कुरा आगोजस्तो हुन्, यस्ता संवेदनशील पक्षलाई रोक्न नसके देश चक्रब्यूहमा फस्छ।’ देशलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बेलामा देशलाई खण्ड खण्ड पारेर विखण्डनमा लैजाने दुस्साहस गर्ने खोज्नेहरूलाई जनतासामु नाङ्गेझार पार्नुपर्नेमा जोड दिनुभयो।

संविधान कार्यान्वयनलाई संशोधनसँग बार्गेनिङको विषय बनाएकामा आपत्ति जनाउँदै नेता नेपालले संविधान संशोधनसँग यसलाई बार्गेनिङ गर्ने अनि संशोधन भएमा निर्वाचनमा जाने, नभएमा नजानेजस्ता कुरामा सरकार अल्झिएको बताउनुभयो। नेता नेपालले भन्नुभयो– ‘चुनावमा जान हिम्मत नभएकाले निर्वाचन नचाहेकाले विभिन्न बार्गेनिङ गरिरहेका छन्, सरकार तिनका कुरामा अल्झिएको छ।’ सरकारलाई त्यस्ता कुरामा नअल्झिन सुझाव दिँदै उहाँले संविधान कार्यान्वयनका लागि चुनावको मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिनुभयो।
नेता नेपालले भन्नुभयो– ‘निर्वाचनको मिति घोषणा गर्ने कुरामा प्रधानमन्त्री गम्भीर छैनन्, ठूलो प्रतिपक्ष दल एमालेलाई पन्छाएर गलत तरिकाले सरकार काम गर्न सक्रिय छ, छिटो निर्वाचनको मिति घोषणा गर्नु जरुरी छ, संसदीय निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग छिटो गठन गर्नुपर्छ, प्रदेशको संख्या तय गरेर निर्वाचन क्षेत्र तयार गर्नेलगायतका धेरै काम बाँकी छन्, यसमा सरकारको ध्यान जाओस्।’
भारतमा समेत जातीय कुरा उठाउन नपाउने ऐन बनेको प्रसंग कोट्याउँदै उहाँले जातीय द्वन्द्व सृजना गर्ने र देशलाई अलग गर्ने धारणालाई अस्वीकार र आलोचना गर्नुहुँदै त्यस्ता कसिंगरलाई हटाउन कुचोको प्रयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो। उहाँले भक्तपुरको समाचार सम्प्रेषण गर्ने कान्तिपुरका भक्तपुरकी संवाददाता लीला श्रेष्ठलाई नगद रु. २ हजार १२१ सहित सम्मान गर्नुभयो। कार्यक्रममा सांसद् रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले समयमै निर्वाचन गर्न नसके देश असफल हुने चर्चा गर्दै सरकारले निर्वाचनका कार्यक्रम छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

त्यस अवसरमा माओवादी केन्द्रका जिल्ला संयोजक डीपी ढकाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम, महासंघ भक्तपुर शाखाका अध्यक्ष अमर भुजू, पत्रकार अखण्ड भण्डारी, सम्मानित हुने पत्रकार लीला श्रेष्ठलगायतले भक्तपुरमा पत्रकारिता क्षेत्रको विकास विगतका तुलनामा निकै अगाडि बढेको चर्चा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्