राप्रपाको एकता महाधिवेशन केन्द्रीय समितिको संख्या अझै अन्यौल



रामकृष्ण चापागाईं, काठमाडौं
मुलुकमा चौथो राजनीतिक शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यतालिका अनुसार निर्धारित समयमै एकता महाधिवेशन सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको छ। साथै राप्रपाले यो एकता अधिवेशनलाई स्थानीय निर्वाचनको तयारीका रूपमा समेत अघि बढाएको छ। यस अघिको कार्यतालिकाअनुसार नै महाधिवेशन तयारी अघि बढाएको राप्रपाको महाधिवेशन पछि बन्ने केन्द्रीय समितिको संख्या भने अझै अन्यौल छ।

महाधिवेशनको तयारीस्वरूप गाउँको तल्लो निकायसम्म संगठन विस्तार गरिहेको राप्रपाले एकता महाधिवेशन फागुनको ६ शुरु गरी ९ गते सम्पन्न गर्ने गरी तयारी अघि बढाएको हो। राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र सम्वृद्ध हिन्दूराष्ट्र निर्माण गर्ने मूल लक्ष्यका साथ कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मंसिर ६ गते एकीकरण भएको थियो। संवैधानिक राजतन्त्रलाई आत्मसाथ गरेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसाथ गरेको राप्रपाबीच हिन्दू राष्ट्र निर्माणमा भने दुवै पार्टी एकमत भएका हुन्। पार्टी एकीकरणपछि व्यवस्थापिका संसद्मा राप्रपाको ३७ सदस्य भएका छन्।

पार्टी एकीकरणपछि हाल तीन सय सदस्यीय केन्द्रीय समिति रहेको राप्रपाको एकता महाधिवेशनले कति सदस्यीय केन्द्रीय समिति बनाउने भन्ने बारेमा निक्र्यौल गरिसकेको छैन। नयाँ विधानको मस्यौदा नआएको अहिले केन्द्रीय समिति कति सदस्य हुने भन्ने बारेमा स्पष्ट नभएको हो। पार्टी एकीकरणपछि नेता बुद्धिमान तामाङको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो। यो समितिले नयाँ विधानको मस्यौदा तयार परिसकेको छैन्। तत्कालीन अवस्थामा एकीकरणसम्बन्धी नीति तथा आधारपत्रअनुरूप तयार पारिएको राप्रपाको अन्तरिम विधान २०७३ अनुसार केन्द्रीय महाधिवेशनबाट नयाँ विधान तयार नभएसम्म अन्तरिम विधान कायम रहने बताइएको छ।

महाधिवेशनको तयारीस्वरूप यसअघि मंसिर २५ देखि २९ गतेसम्म देशभर साधारण सदस्यता वितरण गरेको राप्रपाको यही माघ ७ देखि १५ गतेसम्म गाउँ नगर अधिवेशन सम्पन्न गर्नेछ भने माघ २१ गते एकै दिन २ सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्ने भएको छ। राप्रपाका सबै जिल्लाको अधिवेशन माघ २५ गते एकै दिन सम्पन्न गर्ने कार्यतालिका छ। राप्रपाले पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरेको छ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई जना महिलासहित समानुपातिक हिसाबले ९ जनाको दरले २ हजार १ सय ६० जना प्रतिनिधि आउनेछन् भने प्रत्येक जिल्ला कार्य समितिबाट ९ जनाको दरले ६ सय ७५ जना प्रतिनिधि आउनेछन्। महाधिवेशनमा प्रतिनिधिको रूपमा भ्रातृ संगठनबाट चार जनाको दरले सहभागी हुनेछन्। राप्रपाको २० वटा भ्रातृ संगठन रहेको बताइएको छ। सहप्रवक्ता श्रेष्ठका अनुसार फागुनको २ गतेसम्म केन्द्रीय निर्वाचन समितिमा सबै महाधिवेशन प्रतिनिधिको नामावली आइसक्नेछ। एकता महाधिवेशनमा महिला प्रतिनिधिको संख्या ८ यस ३५ जना हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्