बाबुरामद्वारा उपेन्द्रलाई नेता मान्न अस्वीकार



बीपी साह, काठमाडौं
नयाँ शक्ति पार्टी नेपालले उपेन्द्र यादवकै नेतृत्वमा संघीय गठबन्धनमा सहभागी हुन अस्वीकार गरेको छ। संघीय गठबन्धनको संरचना र नीतिमा परिवर्तन भए मात्र गठबन्धनमा आबद्ध हुने नयाँ शक्ति नेपालले जनाएको छ।

आइतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताहरू र नयाँ शक्ति पार्टीका नेताहरूबीच भएको छलफलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गठबन्धनका संयोजक उपेन्द्र यादवकै नेतृत्वमा गठबन्धनमा सहभागी हुन नसकिने स्पष्ट पार्नुभएको छ।

बबरमहलस्थित नयाँ शक्तिका नेता केशवमान शाक्यको घरमा आइतबार भएको छलफलमा गठबन्धनका संयोजक यादवले अहिलेकै संरचनामा गठबन्धनमा आबद्ध हुन भट्टराईलाई आग्रह गर्नुभएको थियो। तर, डा. भट्टराईले अहिलेको नेतृत्व र संरचना परिवर्तन गर्नुपर्ने बताउनुभएको थियो। त्यसलगत्तै, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले हतारमा सहकार्य गर्न नहुने बताउनुभयो। ठाकुरले पहिले आ–आफ्नो पार्टीभित्र छलफल गर्ने र आगामी बैठकमा अझै कुराकानी अगाडि बढाउने बताउनुभयो।

बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले क्षणिक सहकार्यभन्दा दीर्घकालीन सहकार्यका लागि आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभयो– ‘बाबुरामजीप्रति मधेसीहरूमा सकारात्मक विचार आएको छैन। बाबुरामजीले पनि धेरै कुराहरू प्रस्ट गरेर सहकार्य गर्नुपर्ने हुन्छ।’

बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनीष सुमनले दुई पक्षबीच सकारात्मक छलफल भएको बताउँदै छलफललाई निरन्तरता दिनका लागि पुनः बिहीबार बैठक बस्ने नेपाल समाचारपत्रलाई बताउनुभयो।

उहाँले बाबुरामलाई संघीय गठबन्धनमा ल्याउने विषयमा यसअघि पनि छलफल भएको बताउनुहुँदै आगामी दिनमा पनि योजना बनाई छलफल हुने बताउनुभयो। छलफलमा नयाँ शक्ति नेपालको तर्फबाट संयोजक डा. भट्टराई, देवेन्द्र पौडेल र करिश्मा मानन्धरसहितका नेताहरू सहभागी थिए। तर, मोर्चा र गठबन्धनसँग सहकार्यका लागि पार्टीभित्र बनाइएको वार्ता समितिका रामकुमार शर्मालगायतका मधेसी नेताहरूलाई यसबारे कुनै जानकारी दिइएको थिएन।

त्यस्तै, गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, थरुहट तराई पार्टीका गोपाल दहित, कुमार लिंगदेनलगायत नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्