दुई साहित्यिक पुरस्कार वितरण



दोलखा, (नेस)
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले शनिबार दुईवटा साहित्यिक पुरस्कार वितरण गरेको छ। समितिले हरेक वर्ष माघ १ गते प्रदान गर्दै आएको विष्णुलक्ष्मी साहित्य सम्मान २०७३ बाट दोलखा जिरी निवासी अग्रज साहित्यकार टेकबहादुर जिरेललाई सम्मानित गरिएको छ भने तुलसीमाया रेडियो साहित्य पुरस्कार २०७३ बाट कालिञ्चोक सामुदायिक एफएमका कार्यक्रम प्रस्तोता प्रल्हाद आचार्यलाई सम्मान गरिएको छ।

पत्रकार चिरञ्जीवी मास्केले आफ्नो दुई आमा विष्णुलक्ष्मी श्रेष्ठ र तुलसीमाया श्रेष्ठको नाममा स्थापना गरेको उक्त पुरस्कार पूर्वसंस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हस्तान्तरण गर्नुभयो। सो अवसरमा पूर्वसंस्कृति तथा पर्यटन मन्त्री पोखरेलले साहित्यले विकासलाई समेत जोड्ने भएकाले यसको सम्र्वद्धनका लागि आफूले प्रयत्न गर्ने बताउनुभयो। उहाँले सांसद विकास कोषबाट समेत नियमित रूपमा साहित्य विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, प्रहरी नायव उपरिक्षक रविन कार्की, पुरस्कार छनोट समितिका संयोजक कृष्णबहादुर गौतम, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धव पोखरेल, पूर्वअध्यक्ष राजेन्द्र मानन्धर, प्रेस चौतारीका केन्द्रीय सदस्य शरद सापकोटा, प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईं, लघुकथा समाजका केन्द्रीय सदस्य श्रीबाबु कार्की, विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका उपाध्यक्ष मुरारी दुलाल र सदस्य विनिता शिवाकोटीले मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले प्रकाशन गरेको प्रदेय लघुकथा विशेषाङ्को सार्वजनिक पूर्वमन्त्री पोखरेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्