सहकारी : विश्वास, विकास र समृद्धिको आधार

376
Shares

बाजुरा ।

पछिल्ला वर्षहरूमा नेपालमा सहकारी क्षेत्र धेरै चर्चा र विवादको विषय बन्यो । केही सहकारी संस्थामा देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग, सञ्चालक कर्मचारीहरुको गैरजिम्मेवार व्यवहार तथा ठगीका घटनाले समग्र सहकारी अभियानप्रति नागरिकको विश्वास कमजोर बनाएको छ । कतिपयले सहकारीलाई ठगी गर्ने माध्यमका रूपमा चित्रित गर्न थालेका छन् । तर केही व्यक्तिको गलत क्रियाकलापका आधारमा सम्पूर्ण सहकारी आन्दोलनलाई दोष दिनु न्यायोचित हुँदैन । नेपालभर हजारौं सहकारी संस्थामध्ये धेरै संस्था आज पनि इमानदारितापूर्वक सदस्यको जीवनस्तर उकास्न, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र समुदायको विकासमा योगदान पु¥याउन निरन्तर सक्रिय छन् ।

बाजुरा जिल्लाको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यस्तै सफल संस्थामध्ये एक हो । २०५८ सालमा स्थापना भएको यो संस्था आज २५ वर्ष पूरा गर्दै जिल्लाको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण साझेदार बनेको छ । सहकारी भनेको केवल बचत र ऋणको कारोबार गर्ने संस्था मात्र होइन, समुदायको विकास, आत्मनिर्भरता र सामाजिक रूपान्तरणको माध्यम पनि हो भन्ने तथ्य त्रिवेणीले आफ्नो कार्यबाट प्रमाणित गरेको छ ।

सहकारीको मूल मर्म भनेको सानो–सानो पुँजी, श्रम र सीपलाई एकीकृत गरी सामूहिक समृद्धिको आधार निर्माण गर्नु हो । एक व्यक्तिले एक्लै गर्न नसक्ने काम सामूहिक प्रयासबाट सम्भव हुन्छ भन्ने दर्शन सहकारी आन्दोलनको आधार हो । बाजुराजस्तो दुर्गम जिल्लामा आर्थिक अवसर सीमित छ । बैंक तथा वित्तीय संस्थाको पहुँच अझै पनि सबै गाउँसम्म सहज छैन । यस्ता परिस्थितिमा स्थानीय नागरिकको बचतलाई सुरक्षित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने माध्यमका रूपमा सहकारीको भूमिका झन् महत्वपूर्ण हुन्छ ।

त्रिवेणी सहकारीले आफ्नो स्थापनाकालदेखि नै यही सिद्धान्तलाई आत्मसात् गर्दै आएको देखिन्छ । द्वन्द्वकालको कठिन समयमा स्थापना भएको संस्थाले केवल आर्थिक कारोबारमा सीमित नरही स्थानीय समुदायका आवश्यकतासँग जोडिएर काम ग¥यो । सञ्चार सुविधा अभाव भएको बेला पीसीओ सेवा सञ्चालन गरेर नागरिकलाई बाहिरी संसारसँग जोड्ने काम ग¥यो । सरसफाइ र वातावरण संरक्षणको चेतना कमजोर भएको समयमा ठोस फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन ग¥यो । विद्युत् सेवा संकटमा परेको बेला जलविद्युत् व्यवस्थापनमा सहयोग पु¥यायो । यस्तो गतिविधिले सहकारी समुदायको अभिन्न साथी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

सहकारीको सबैभन्दा ठूलो सफलता भवन निर्माण, सम्पत्ति विस्तार वा आर्थिक सूचकाङ्क मात्र होइन, सदस्यको जीवनमा आएको सकारात्मक परिवर्तन हो । कुनै किसानले सहकारीबाट ऋण लिएर कृषि व्यवसाय विस्तार गर्न सफल हुनु, कुनै महिलाले आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिन सक्नु, कुनै युवाले स्वरोजगार सिर्जना गरेर रोजगारदाता बन्नु नै वास्तविक सफलता हो । सहकारीको प्रभाव सदस्यको बैंक खातामा मात्र होइन, उसको जीवनशैली, सोच, आत्मविश्वास र सामाजिक हैसियतमा पनि देखिनुपर्छ ।

त्रिवेणी सहकारीसँग यस्ता सयौं प्रेरणादायी कथा छन् । सानो लगानीबाट व्यवसाय शुरु गरेर सफल उद्यमी बनेका सदस्य, कृषि उत्पादनबाट आत्मनिर्भर बनेका किसान, ऋण सुविधाको उपयोग गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका अभिभावक तथा स्वरोजगार सिर्जना गरेका युवाहरू सहकारी आन्दोलनका वास्तविक उपलब्धि हुन् । यस्ता कथाले सहकारीले केवल पैसा दिन्छ भन्ने होइन, अवसर दिन्छ भन्ने सन्देश दिन्छन् ।

आजको युगमा सहकारीको सफलता केवल पुँजीको आकारले निर्धारण हुँदैन । सुशासन, पारदर्शिता, प्रविधि प्रयोग, उत्तरदायित्व र सदस्यप्रतिको जवाफदेहिताले यसको भविष्य निर्धारण गर्छ । सहकारी संस्थाले नियमित लेखापरीक्षण, सदस्यलाई सही सूचना उपलब्ध, वित्तीय अनुशासन कायम र निर्णय प्रक्रियामा सदस्यको सहभागिता सुनिश्चित गर्नुपर्छ । सहकारीमा विश्वास कायम राख्ने एकमात्र उपाय भनेको पारदर्शी व्यवस्थापन हो ।

त्रिवेणी सहकारीले आगामी वर्षका लागि तयार गरेको रणनीतिक योजना पनि आशावादी देखिन्छ । सदस्य विस्तार, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी, डेरी उद्योग, मिनरल वाटर उद्योग, कृषि उपज संकलन केन्द्रलगायतका योजनाले स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्छन् । विशेष गरी कृषि र उद्यमशीलतामा आधारित लगानीले गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना बढाउँछ । युवाहरू विदेशिन बाध्य हुने अवस्थालाई कम गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुन सक्छन् ।

नेपालको संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीतिमध्ये सहकारी क्षेत्र एक महत्वपूर्ण आधार हो । सरकार र निजी क्षेत्रसँगै सहकारीलाई आर्थिक विकासको साझेदारका रूपमा हेरिएको छ । तर यो भूमिका प्रभावकारी बनाउन सहकारीहरू आफैं पनि जिम्मेवार बन्न आवश्यक छ । नीति, विधि, प्रविधि र सुशासनलाई आत्मसात् नगरी सहकारी अभियान सफल हुन सक्दैन । सदस्यको विश्वास नै सहकारीको सबैभन्दा ठूलो सम्पत्ति भएकाले त्यसको संरक्षण पहिलो प्राथमिकता हुनुपर्छ ।

आज जब सहकारी क्षेत्र आलोचनाको घेरामा छ, त्यही बेला त्रिवेणीजस्ता संस्थाहरूले सकारात्मक उदाहरण प्रस्तुत गरिरहेका छन् । यस्ता संस्थाका सफल अभ्यासलाई उजागर गर्नु आवश्यक छ, ताकि समाजले सहकारीको उज्यालो पक्ष पनि देख्न सकोस् । खराब अभ्यासलाई कारबाही गर्दै राम्रो अभ्यासलाई प्रोत्साहन गर्नु नै सहकारी क्षेत्र सुधारको सही बाटो हो ।

सहकारी भनेको गरिबको बैंक, किसानको साथी, युवाको अवसर र समुदायको शक्ति हो । सही नेतृत्व, इमानदार व्यवस्थापन र सदस्यको सक्रिय सहभागिता भए सहकारी आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ । बाजुराको त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले २५ वर्षको यात्रामा यही सन्देश दिएको छ ।
आज त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था बाजुराको एक सशक्त वित्तीय संस्थाको रूपमा स्थापित भएको छ । संस्थामा २,३०० भन्दा बढी शेयर सदस्य आबद्ध छन् । झन्डै ४,९०० बचतकर्ता रहेका छन् । करोडौं रुपैयाँको बचत, ऋण तथा लगानी परिचालन भइरहेको छ ।

संस्थाले साना किसान, व्यापारी, कर्मचारी, महिला समूह, युवा उद्यमी तथा स्वरोजगार बन्न चाहने व्यक्तिहरूलाई सहज ऋण उपलब्ध गराउँदै आएको छ । धेरै परिवारको आर्थिक अवस्था सुधार गर्न यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

संस्थाका अध्यक्ष शेरबहादुर रावल भन्छन्, ‘हामीसँग २५ वर्षको अनुभव छ । यो सहकारी विशिष्ट प्रकृतिको संस्था हो । अब हाम्रो लक्ष्य कार्यक्षेत्रभित्रका प्रत्येक घरमा कम्तीमा एक सदस्य बनाउने र सहकारीलाई समृद्ध बाजुराको अभियानसँग जोड्ने हो ।’

अन्ततः सहकारीलाई केवल ऋण लिने र बचत गर्ने थलोका रूपमा होइन, साझा सपना पूरा गर्ने संस्थाका रूपमा बुझ्नुपर्छ । जब सदस्यको हितलाई केन्द्रमा राखेर नीति, विधि र प्रविधिमैत्री ढंगले सहकारी सञ्चालन हुन्छ, तब त्यो संस्था समुदायको आशा, विकास र समृद्धिको केन्द्र बन्न सक्छ । त्रिवेणीको यात्रा त्यसैको जीवन्त प्रमाण हो । आजको आवश्यकता सहकारीप्रति निराशा फैलाउनु होइन, राम्रो सहकारीको अभ्यासलाई सुदृढ गर्दै आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा उत्तरदायी र आत्मनिर्भर समुदाय निर्माण गर्नु हो । यही मार्गले समृद्ध बाजुरा र समृद्ध नेपालको सपना साकार पार्न सकिन्छ ।