काठमाडौं।
नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालको अवकाश हुन दुई साताभन्दा कम समय बाँकी रहेसँगै सरकारको प्रशासनिक नेतृत्व कसले सम्हाल्ला भन्ने चासो बढेको छ ।
अहिले वरिष्ठताभन्दा पनि कार्यकुशलताको आधारमा मुख्य सचिव नियुक्ति गर्ने संकेत देखिएसंगै मुख्यसचिव पदका दाबेदार सचिवहरूको मूल्यांकन तीव्र बनाइएको छ। अर्यालले उमेरहदका कारण यही असार २६ गते नियमित अवकाशमा जानुहुनेछ। त्यसपछि अहिले भएका सचिवहरुमध्ये को मुख्य सचिव बन्लान् भनेर कर्मचारी वृत्तमा चासो बढेको हो।
मुख्यसचिवले प्रधानमन्त्रीको सुपरिवेक्षण तथा निर्देशनको अधीनमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक प्रमुखका रूपमा कार्यालयको कार्यसम्पादन गराउने गर्दछ । सरकारका सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतको सुपरिवेक्षकको हैसियतले निजहरूले सम्पादन गरेका कार्यको सुपरिवेक्षण गर्ने तथा सचिवले सम्पादन गर्नुपर्ने कार्यमा आवश्यक निर्देशन दिने काम पनि मुख्यसचिवकै जिम्मेवारी हो ।
निजामती सेवा ऐनको दफा १९(२)(क) मा मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिव मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गर्न सकिने व्यवस्था छ। मुख्यसचिव नियुक्तिको दिनसम्मको वरीयता सूचीअनुसार पहिलोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा, दोस्रोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अतिरिक्त समूहमा रहेका हरिप्रसाद मैनाली र डिल्लीराम शर्मा,चौथोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र मोनिटरिङको जिम्मा दिएका गोविन्दप्रसाद शर्मा रहनुभएको छ। त्यसपछि क्रमशः गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सातौंमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ,आठौंमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नवौंमा लोकसेवा आयोगका सचिव रामेश्वर दंगाल र १० औैंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला रहनुभएको छ।
निर्वाचन आयोगका मधुसुदन बुर्लाकोटी, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर मुख्य सचिव अर्यालभन्दा अघि नै अनिवार्य अवकाशमा जानुहुने भएकोले उहाँहरु प्रतिस्पर्धामा हुनुहुन्न। बुर्लाकोटी असार २१ गते, बज्राचार्य असार १७ गते र पुष्कर असार २४ गते अनिवार्य अवकाशमा जानुहनेछ।
वरिष्ठतालाई आधार मानेमा किरणराज शर्मा मुख्य सचिव बन्ने सम्भावना बलियो रहेको छ। शर्मा मुख्य सचिव नभए आगामी श्रावण ४ मा पाँच वर्षे सेवा अवधिका कारण अवकाशमा जानुहनेछ। प्रतिस्पर्धामा रहेका अधिकांश सचिवहरू पनि आगामी केही महिनाभित्रै अनिवार्य अवकाशमा जाने अवस्थामा छन्।
मुख्यसचिव नियुक्तिलाई लिएर विगतमा राजनीतिक पहुँच र शक्तिकेन्द्रको प्रभाव महत्वपूर्ण मानिन्थ्यो। कांग्रेस, एमाले वा माओवादी नेतृत्वका सरकारका समयमा सचिवहरू, नेताहरू र प्रभावशाली शक्ति केन्द्रसंग निकटता बढाउन सक्रिय हुने गरेका उदाहरण प्रशस्तै छन्।तर रास्वपा नेतृत्वको वर्तमान सरकारमा निर्णय प्रक्रियामा प्रधानमन्त्री बालेन्द्र शाह र उहा“को सल्लाहकार समूहको भूमिका निर्णायक रह“दै आएको अवस्थामा परम्परागत शैलीको लबिङ र भनसुनको गतिविधि यसपटक न्यून देखिएको दाबेदार मध्ये एक सचिवले बताए। ती सचिवले भने– ‘अहिले सचिवहरूको व्यक्तिगत सम्बन्धभन्दा बढी उनीहरूको कार्यसम्पादन, निर्णय क्षमता र प्रशासनिक छवि मूल्यांकनलाई आधार बनाउने भनेर मुख्य सचिव मार्फत कुरो आइरहेको छ।त्यसैले गर्दा दौडधुपमा म लागेको छैन।अरु पनि खासै लागेको देखिएको छैन।’
कार्यकुशलताको आधार भन्दै विगतमा पनि वरीयताक्रम मिचेर मुख्य सचिवमा नियुक्ति गरेको थुप्रै उदाहरण रहेकोले यस पटक सो क्रम दोहोरिने सम्भावना तीब्र रहेको बुझिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानन्यायाधीश नियुक्तिमा झै मुख्य सचिव नियुक्तिमा वरिष्ठतालाई मात्र आधार लिने पक्षमा सरकार छैन।प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकार समूहले सम्भावित दाबेदार सचिवहरूको कार्यसम्पादन, निर्णय क्षमता, सुशासनप्रतिको प्रतिबद्धता र प्रशासनिक नेतृत्वको मूल्यांकन गरिरहेको बुझिएको छ। सचिवहरूको फाइल अध्ययन र मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ।











प्रतिक्रिया