नवनियुक्त उपकुलपति थापासमक्ष चुनौती र अवसर सँगसँगै

376
Shares

मुख्य चुनौती

–स्ववियु खारेज गर्ने निर्णय कार्यान्वयन गराउनु

–विद्यार्थी संघ संगठनको गतिविधि शून्य गर्ने

–स्ववियु काउन्सिल स्थापना गर्ने

–६५ दिनमा परीक्षाफल प्रकाशित गर्ने

–त्रिविको जमिन खाली गराउने


काठमाडौं।

त्रिभुवन विश्वविद्यालयको २२औं उपकुलपतिमा प्राडा भोला थापा नियुक्त नियुक्त हुनुभएको छ । यसअघि २०७७ सालमा काठमाडौं विश्वविद्यालयका उपकुलपति हुनुहुन्थ्यो । विद्यार्थी संघ संगठनलाई प्रतिबन्ध लगाउने र स्ववियु खारेज गर्ने चुनौतीको सामना गर्न तयार भएर नियुक्ति हुनुभएका उपकुलपति थापासँग दर्जनौं अवसर छन् ।

कुलपति बालेन्द्र साहले उपकुलपतिमा नियुक्ति गरेपछि सहकुलपति एवं शिक्षामन्त्री सस्मित पोखरेलसँग शुक्रबार नियुक्तिपत्र लिनुभएका थापासँग नियुक्तिसँगै थुप्रै चुनौती छन् । भन्नुपर्दा एउटा क्याम्पसजतिको विद्यार्थी अध्ययन गर्ने काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त हुँदा उहाँले धेरै सुधार गर्नुभयो । अब त्रिविभित्र देखिएको चुनौतीको पहाड कसरी चिर्ने भन्ने उहाँमाथि चुनौती थपिएको छ ।

‘मसँग सामान्य चुनौती छन् सँगसँगै त्रिविलाई सुधार गर्ने धेरै अवसरहरु छन्’ –उपकुलपति नियुक्ति भएसँगै नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँको पहिलो चुनौती समयमै परीक्षाफल प्रकाशित गर्नु रहेको छ । हुन त मन्त्री पोखरेलले परीक्षा सकिएको ६५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी थालिसक्नुभएको छ । सेमेस्टर प्रणालीअनुसार परीक्षाफल प्रकाशित गर्ने योजना नवनियुक्त उपकुलपतिले गरिसक्नुभएको छ । त्यसबाहेक त्रिविको पुरानो कोर्स परिवर्तन गर्नु पहिलो आवश्यकता हो । शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्नु उहाँको अवसर पनि हो । उहाँले भन्नुभयो– ‘यो विषयमा म गम्भीर छु । मेरो उच्च प्राथमिकतामा शैक्षिक क्यालेन्डर कार्यान्वयन गराउनु हो । सायद पहिलो काम यो हुनसक्छ ।’

उपकुलपति थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्रिविको सम्पत्ति छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नु, विश्वविद्यालयका क्याम्पसलाई सक्षम बनाउनु, राजनीतिक दल आबद्ध विद्यार्थी संघ संगठनलाई क्याम्पसबाट बिदा गर्नु, त्रिवि सेवा आयोगमा रोकिएको प्रक्रिया तत्काल सुरु गर्नु मुख्य आवश्यकता हो । ‘यसका लागि त्रिविका दुई पदाधिकारी, डीन, विभागीय प्रमुख र विद्यार्थीको महत्वपूर्ण हात हुन्छ’, नवनियुक्त उपकुलपति थापाले भन्नुभयो– ‘सरकारले त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउने तयारी गरेको छ । त्यसको उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ । फेज आउट हुन खोजेका विषयको बारेमा सोच्नुपर्छ ।’
केही दिनमै परिणाम आउने काम गर्ने बताउँदै उहाँले भन्न्ुभयो– ‘उपकुलपतिसामु जग्गा खाली गराउने विषय पेचिलो बन्न सक्छ । खाली गर्ने प्रक्रिया अघि बढाइसकेको विषयमा त्रिवि शान्त भएको छ । अब यस विषयमा तत्काल पहल गर्नेछौं, यो मेरो सम्भवतः पहिलो प्राथमिकता हुनसक्छ ।’

उहाँ सामु मुख्य गरी आंशिक शिक्षकलाई करार र करारमा कार्यरतलाई स्थायी गर्ने चुनौती छ । कर्मचारीको माग पनि त्यस्तै छ । वर्षौंदेखि अस्थायी, करार र ज्यालादारीका कर्मचारी स्थायी गर्ने विषय पेचिलो बनेको छ । विशेष गरी विश्वविद्यालयमा देखिएको तालाबन्दी संस्कारलाई स्थायीरुपमा बन्द गर्नुपर्ने चुनौती उपकुलपतिलाई छ ।

त्रिविको बिग्रिएको साख कसरी जोगाउने भन्ने विषयमा उहाँ गम्भीर हुनुपर्छ । त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेलमेट’ शिक्षकलाई कसरी रोक्ने यो विषय उहाँका लागि चुनौती हो ।

समयसापेक्ष शुल्क समायोजन गर्ने, अनुगमनलाई तीव्रता दिने, त्रिविको डिजिटल कक्षाकोठाको सुरुआत गर्ने, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन, एकद्वार खाता प्रणालीको सुरुआत, आर्थिक पारदर्शिता, भद्दा संरचनालाई व्यवस्थापन गर्नु उहाँको लागि चुनौती छ ।

पाठ्यक्रम परिमार्जन, विद्यार्थीलाई विदेशिनुबाट रोक्नु उहाँको चुनौती हो । यस्ता चुनौती समाधान गर्न सके उपकुलपतिको साख जोगिन सक्छ । विश्वविद्यालयको अध्ययन अध्यापन तथा प्रशासनिक कार्यमा प्रविधिको प्रयोग बढाउनुपर्छ । जनशक्तिलाई प्रविधि प्रयोगमा सहभागी गराउनुपर्छ । वार्षिक बजेटको हाराहारीमा बेरुजु छ । त्यसलाई घटाउँदै लैजानुपर्ने उपकुलपतिको चुनौती छ । त्यसभन्दा पनि पढ्न विदेश गएका तर नफर्केका र त्रिविको रकम लिएर हिनामिना गरेका शिक्षकलाई कारबाही गर्नु उपकुलपतिको चुनौती हो ।

सेवा प्रवाहमा सुधार हुन नसक्नु, शिक्षक र कर्मचारीहरुको सेवा सुबिधामा एकरुपता, सरकारबाट आर्थिक श्रोतको सुनिश्चितता, भौतिक पूर्वाधार र सुविधाको विकास, संरक्षण र आधुनिकीकरण, सम्पत्ति संरक्षण आर्थिक अनुशासन कायम गर्नु उहाँको चुतौती हो ।