पैँतीसदिने सूचनाको तीन वर्षपछि बल्ल चल्यो फिर्केमा डोजर

282
Shares

पोखरा ।

मिति २०८० कार्तिक महिनामा पोखरा महानगरपालिकाले एउटा सूचना जारी ग¥यो– ‘पोखरा महानगरपालिका वडा नं. १८ को अन्धेरीकुनादेखि वडा नं. २, ४, ५, ८, ७, १७ हुँदै वडा नं. ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र (यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र) पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लिखित मितिभित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचनासाथ जानकारी गराइन्छ ।’

यो सूचनाले फिर्के अतिक्रमण गरी बसेकाहरुमा खैलाबैला भयो । एक्सनमा जान खोजेको महानगरपालिका जान सकेन । स्थानीय उच्च अदालत धाए । तत्काल नभत्काउन पाएको आदेशले महानगरपालिका रोकियो । त्यसपछि पनि धमाधम फिर्के अतिक्रमणमा परिरह्यो । उक्त ३५ दिने सूचनाको ३ वर्षपछि बल्ल पोखरा महानगरपालिकाले फिर्केमा डोजर चलाउन सकेको छ । गत आइतबार फिर्केखोलाको खोलाघरभित्र बनेको संरचनामाथि डोजर चलाएको हो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहे पनि जमिन अतिक्रमणको सिकार मात्र नभई फोहोर विसर्जन गर्ने स्थलसमेतको रुपमा परिणत हुँदै गइरहेको बताउनुभयो । उहाँका अनुसार खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण गरिनुका साथै खोलाको प्राकृतिक बहाव नै अवरुद्ध भएपछि वर्षायाममा फिर्केखोला बस्ती र शहरभित्र पस्ने अवस्था सिर्जना भएको थियो ।

२०८० सालमा फिर्केखोलाको नापजाँच गरी सीमांकनका लागि पोल गाड्ने काम भएको थियो । ३५ दिनभित्र खोलाघरभित्रका संरचना हटाउन आह्वान गरेको उहाँले बताउनुभयो । त्यस क्रममा अदालतबाट अन्तरिम आदेश जारी भएपछि प्रक्रिया केही समय रोकिएको उहाँको भनाइ छ । अहिले पुनः अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश प्राप्त भएपछि उक्त प्रक्रिया पुनः अगाडि बढाइएको उहाँ बताउनुहुन्छ ।

अहिले खोलाघर खाली गर्ने तथा फिर्केखोलालाई प्राकृतिक रूपमा बग्न दिने अभियानमा सबैको साथ पाउने उहाँको विश्वास रहेको छ । ‘लामो समयदेखि फिर्केखोलाको मापदण्डबारे अन्योल कायम थियो । खोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोर निर्माण गर्नुको सट्टा फुटट्रेल, साइकल लेन, मर्निङ तथा इभिनिङ वाक र पैदल यात्राको आकर्षक गन्तव्यका रूपमा विकास गर्न उपयुक्त हुने सुझाव प्राप्त भएका थिए । विज्ञहरूको समेत साझा राय र लामो छलफलपश्चात् यही विषयलाई हृदयङ्गम गर्दै खोलाघरको सीमाबाट कायम रहेको १० मिटर मापदण्डलाई घटाएर ६ मिटर कायम गरिएको छ’, मेयर आचार्यले भन्नुभयो ।

खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्धरूपमा कार्यान्वयन गरिनेछ । यस्तै फिर्के बचाउनका लागि खबरदारी गर्दै आइरहनुभएका सामाजिक अभियन्ता रामबहादुर पौडेलले हिजो राजनीतिक दलको बलमा अतिक्रमणकारीहरुले अटेर गर्दै आइरहेको बताउनुभयो । उहाँले पोखरा महानगरपालिकादेखि अख्तियारसम्मले हिजो केही गर्न नसकेको र आज बालेन साहले काठमाडौंको अतिक्रमित संरचना हटाएपछि मात्रै यहाँ सम्भव भएको बताउनुभयो । ‘हामी फिर्के अतिक्रणको विषयमा धेरै बोल्यौं, करायौं तर कहीँ कतै कसैले सुनेनन्, आज केही हदसम्म खोलाले न्याय पाएको छ’, उहाँले भन्नुभयो, ‘अब फिर्के फेरि फर्कनेमा विश्वास लिएका छौं ।’

के थियो ३ वर्षअघि तगारो बनेको उच्चको आदेश ?

महानगरपालिकाले निकालेको ३५ दिने सूचनामा कारण देखाऊ आदेश जारी भएको थियो । राजन रौनियारले पोखरा महानगरपालिकालाई विपक्षी बनाएर २०८० कात्तिक १० गते सूचना रोक्न माग गर्दै सर्वोच्च गुहारेका थिए ।

उच्च अदालत पोखरा इजलास नं. २ मा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काल नहटाउन भनेको थियो । उक्त आदेशमा भनिएको थियो, ‘विपक्षीबाट मिति २०८०÷७÷१० मा प्रकाशित सूचनाअनुसारको कार्य रोकिँदा विपक्षीहरुलाई तत्काल क्षति हुन जाने अवस्था नरहनुको अतिरिक्त उक्त मितिको सूचना रोक्ने आदेशबाट पुग्न जाने क्षति भएमा सो उपरमा कानुनी उपचार प्राप्त गर्ने मार्गसमेत रहने हुँदा सुविधाको सन्तुलनका आधारमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षी पोखरा महानगरपालिकाबाट मिति २०८०÷७÷१० मा प्रकाशित सूचनाअनुसारको कुनै कार्य नगर्र्नू÷नगराउनू, यथास्थितिमा राख्नू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ अनुसार विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

त्यति बेला निवेदकको तर्फबाट अधिवक्ता तिलक पराजुली, मुकुन्दराज अर्याल तथा केशवप्रसाद पराजुलीले बहस गरेका थिए । रिट निवेदकहरुले दाबीका कि.नं. का जग्गाहरुमा विपक्षी महानगरपालिकाबाट नक्सा पास गरी घर बसोबास भोगचलन गरिआएको भन्ने नक्सा पास तथा जग्गाधनी प्रमाण पुर्जाहरुबाट देखिएको समेत उल्लेख गरेका थिए ।

पोखरा महानगरपालिकाले कार्तिक १० गते सूचना जारी गर्दै पोखरा महानगरपालिका वडा नं. १८ को अधेरीकुनादेखि वडा नं. २, ४, ५, ८, ७, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फिर्केखोलाको खोलाभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु ३५ दिनभित्र पूर्णरुपमा हटाउन सूचना जारी गरेको थियो । आदेशले महानगरपालिकाबाटै कानुनीरुपमा स्वीकृत पाएरै घर निर्माण भएको उल्लेख थियो । उच्च अदालत पोखराले यसअघि ०७६ असार १० गते मुआब्जा तथा क्षतिपूर्ति दिनू भनी परामादेश जारी गरेको थियो ।

बत्तीस दिन लगाएर भएको थियो सर्वेक्षण :

२०८० सालमा पोखरा महानगरपालिकाले बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको सर्वेक्षण गरेको थियो । सर्वेक्षण टोलीले २०८० साउन ३ गतेबाट फिर्केको मुहानदेखि अन्तिम विन्दुसम्म खोलाको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्च्याएको प्रतिवेदन प्रस्तुत गरेको थियो । सर्वेक्षणपश्चात् सार्वजानिक गरिएको प्रतिवेदनअनुसार खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी १ सय ६० वटा संरचना निर्माण गरिएको छ । तीमध्ये खोलाका दायाँ–बायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन् । व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेट्टाएको छ । संस्थागतरुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् ।

सीमांकन टोलीले फिर्केखोला किनारमा ३ सय ८८ वटा कंक्रिटका पिल्लरहरु गाडेका छ । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिह्न मात्रै लगाएर छोडिएको थियो । सर्वेक्षक, इन्जिनियर, प्राविधिक २१ जना र नगरप्रहरी ६ सहित २७ जनाको टोलीले फिर्केखोलाको सीमांकन गर्दा सबैभन्दा बढी वडा नं. ४ र ५ को सिमानामा खोला अतिक्रमण भएको पाइएको हो । यही वडामा नै व्यक्तिदेखि संस्थाले मनमौजीरुपमा खोला अतिक्रमण गरेर संरचना खडा गरेका छन् ।

अधिकतम ४० मिटरसम्म फैलिएको फिर्केखोला ३ मिटर ३० सेन्टिमिटरमा खुम्चिँदा यही क्षेत्रमा मात्रै स्थायी ६ वटा संरचना बनेका छन् । खोला मिच्ने ती ६ वटै संरचना आरसीसी भवनहरु हुन् । व्यक्तिले खोला मिचेर घर बनाउँदा यो क्षेत्रमा फिर्के सबैभन्दा बढी खुम्चिएको छ । समितिले प्रतिवेदनमा शतप्रतिशत नै खोलाघर (खोला हिँड्ने ठाउँ) मिचेर ३५ वटा स्थायी संरचना बनेको खुलाएको थियो ।

‘फिर्केखोलाको खोलाघर नापजाँच गर्ने क्रममा खोलाघर नै मिचेर ३५ वटा स्थायी संरचनाहरु निर्माण भएको पाइएको छ । कतिपय संरचनाहरु शतप्रतिशत खोलाघरमा बनेको पाइएका छन् भने कतिपय संरचनाहरुको आंशिक भाग खोलाघरमा बनेको पाइएको छ’, प्रतिवेदनमा उल्लेख छ।

यी हुन् फिर्के मिच्नेहरु :


सशस्त्र प्रहरी बल (एपीएफ) ले पोखरा–१७ गाईघाटमा बनाएको तालिम केन्द्र पनि खोलाघरभित्रै बनेको पाइएको छ । यसबाहेक पोखरा ८ बराल समाज घरदेखि पुन मगर समाज घर, कुँवर समाज घर, सोपाल समाज घर र पोखरा–४ मा भयरथान महिला समूहको भवन पनि खोलाघरभित्रै बनेका संरचना हुन् । पोखरा–५ राधाकृष्ण मार्गमा रहेको राधाकृष्ण मन्दिरको भवन र पोखरा–१८ अँधेरीकुनामा रहेको सामूहिक भवन पनि खोलाघरभित्रै बनेको प्रतिवेदनमा उल्लेख छ । यी १० वटा संघसंस्थाका अस्थायी भवन रहे तापनि १८ वटा स्थायी संरचना पनि खोलाघरभित्रै बनेका छन् ।

पोखरा–८ मा रहेको लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, मन्दिर, गिरी समाज घर, क्रियापुत्री भवन, पोखरा–४ मा रहेको पोखरा फोटोग्राफर एसोसियसनको भवन, पोखरा–२ मा निर्मित अर्चलबोट क्रियापुत्री भवन र पुन मगर समाज घर पनि फिर्केको खोलाघरभित्रै बनेका संरचना हुन् ।


फिर्केखोलाको बायाँतर्फ पनि विभिन्न संघसंस्थाहरुले ७ वटा संरचना खोलाघरभित्रै बनाएका छन् । फिर्के मिचेर मिलन पार्कअगाडि रहेको क्रियापुत्री भवन, बराल कुलायन मन्दिर, शिव मन्दिर, पोखरा–५ मा राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन र फिर्के तमु समाजघर रहेका छन् । फिर्केको मुहानदेखि फेवातालसम्म खोलाघरभित्र ३५ जना व्यक्तिले घर बनाएका छन् । समितिको प्रतिवेदनअनुसार पोखरा–८ मा १२ जना व्यक्तिले खोला बेचेर घर बनाएको पाइएको हो ।

यस्तै, फिर्के सबैभन्दा अतिक्रमित पोखरा–४ मा ६ वटा, पोखरा–७ मा व्यक्तिले नै खोला मिचेर १७ वटा स्थायी संरचना बनाएका छन् । पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट शुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर १८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केही माथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरको दूरीमा यो फेवातालमा मिसिन्छ । फिर्के बहने यति दूरीमा मात्र हो तर फिर्केमाथि सयौँ संरचना ठडिएका छन् ।