राष्ट्रिय एकता आजको अपरिहार्यता

470
Shares

राष्ट्रिय एकता कुनै पनि राष्ट्रको स्थायित्व, समृद्धि र पहिचानको प्रमुख आधार हो । नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण देशका लागि राष्ट्रिय एकताको महत्व अझै विशाल र फराकिलोे छ । जसको उद्देश्य केवल एक ऐतिहासिक स्मरणमात्र नभई सम्पूर्ण नेपाली जनतालाई एकताको सूत्रमा बाँध्नु पनि हो । त्यही भएर राष्ट्रिय एकता राष्ट्रप्रतिको कर्तव्यबोध, आपसी सद्भाव र साझा भविष्य निर्माणसँग जोडिएको एक अभिन्न पक्षसमेत हो ।

नेपालको गर्विलो इतिहास विविधता र संघर्षका विविध गाथाहरुले सजिएको छ । विभिन्न राज्य, जाति, समुदाय र संस्कृतिलाई एकीकृत गर्दै आधुनिक नेपालको निर्माण भएको हो । यस ऐतिहासिक एकीकरणले हामीलाई यो सम्झाउँछ कि आज हामी एउटै झन्डामुनि स्वतन्त्र र निर्भिक नागरिकका रुपमा बाँचिरहेका छौं । यसको मूल कारण भनेको एकता नै हो । यसले विगतका त्याग, बलिदान र योगदानप्रति सम्मान प्रकट गर्दै अवसर प्रदान गर्दछ । राष्ट्रिय एकताको लागि हातेमालो गर्नुको अर्को महत्वपूर्ण पक्ष सामाजिक सद्भावको संरक्षण र प्रवद्र्धन गर्नु हो । समाजमा जातीय, भाषिक, धार्मिक वा क्षेत्रीय विभाजनको भावना देखा पर्नु राष्ट्रका लागि घातक हुन सक्छ । यस्तो अवस्थामा राष्ट्रिय एकताले विविधतामा एकता भन्ने नेपाली विशेषतालाई जागृत गराउँछ । यसले फरक–फरक पहिचान भएकालाई सहर्ष स्वीकार गरी तिनलाई सम्मान प्रकट गर्दै साझा राष्ट्रिय पहिचान निर्माण गर्न प्रेरित गर्दछ ।

नेपालका लागि राजनीतिक रुपमा समेत राष्ट्रिय एकताको ठूलो महत्व छ । राष्ट्रिय एकता कुनै पनि राष्ट्रको राजनीतिक स्थायित्व, शासन प्रणालीको प्रभावकारिता र दीर्घकालीन समृद्धिको आधारस्तम्भ हो । विशेषतः बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक संरचना भएको नेपालजस्तो देशमा राजनीतिक रुपमा राष्ट्रिय एकताको महत्व अत्यन्त गहिरो र संवेदनशील छ । राजनीतिक शक्ति, नीति निर्माण र राज्य सञ्चालनको केन्द्रमा जब राष्ट्रिय एकताको भावना स्थापित हुन्छ तब मात्र लोकतन्त्र मजबुत, समावेशी र दिगो बन्छ । राजनीतिक व्यवस्थाको सफलता जनताको एकतामा निर्भर हुन्छ । लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीजस्ता राजनीतिक संरचनाहरु कागजमा मात्र सीमित हुँदैनन् । तिनको वास्तविक प्रभाव तब देखिन्छ जब नागरिक, राजनीतिक दल र राज्य संयन्त्रबीच विश्वास र सहकार्य कायम हुन्छ । राष्ट्रिय एकताविना राजनीतिक स्वार्थ विभाजन र अस्थिरताको अखडा बन्न जान्छ । राजनीतिक रुपमा एकताको सहमति, संवाद र सहकार्यको संस्कार विकास गर्छ । जसले द्वन्द्वभन्दा समाधानलाई प्राथमिकता दिन प्रेरित गर्छ ।

राजनीतिक रुपमा राष्ट्रिय एकताको वास्तविक महत्व व्यवहारमा देखिनुपर्छ । यो केवल नारा, भाषण वा घोषणापत्रमा मात्र सीमित हुनुहुँदैन । राजनीतिक दलहरुले जिम्मेवारीपूूर्ण भूमिका खेल्नु, नागरिकले सचेत सहभागिता जनाउनु र राज्यले न्यायपूर्ण शासन सुनिश्चित गर्नु यी सबै राष्ट्रिय एकताको अभ्यासका आधार हुन् । राजनीतिक रुपमा राष्ट्रिय एकता स्थापित भएमा मात्र नेपाल अटल, स्थिर र सशक्त राष्ट्रका रुपमा अघि बढ्न सम्भव हुन्छ । त्यसैले राष्ट्रिय एकता राजनीतिको सजावट मात्र नभई राजनीतिको एक प्रमुख मेरुदण्डसमेत हो । एकताविना राजनीति दिशाहीन हुन्छ र एकतासहित राजनीति राष्ट्र निर्माणको सशक्त माध्यम बन्न पुग्छ । त्यही भएर राजनीतिक रुपमा राष्ट्रिय एकताको खाँचो अत्यधिक छ ।

अझ युवापुस्ताको लागि त राष्ट्रिय एकता निकै नै अर्थपूर्ण मानिन्छ । युवा राष्ट्रका भविष्य हुन् । यदि युवामा राष्ट्रिय भावना, एकता र सहकार्यको चेतना विकास भएन भने देशको भविष्यसमेत गलत दिशातर्फ अघि बढ्न सक्छ । राष्ट्रिय एकताले युवालाई इतिहास बुझ्न, वर्तमानको जिम्मेवारी महसुस गर्न र भविष्यप्रति प्रतिबद्ध हुन पे्ररित गर्छ । यसले उनीहरुलाई विभाजन होइन सहकार्य गर्न, घृणा होइन सहिष्णुता देखाउन, निराशा होइन आशाको बाटो देखाउन मद्दत गर्दछ । समाजमा प्रत्येक युवाले राष्ट्रिय एकताको सही अर्थ बुझ्न आवश्यक छ । युवामा यदि जाति, धर्म, भाषा र क्षेत्रका आधारमा विभाजनकारी सोचको विकास भयो भने राष्ट्र कमजोर बन्छ । राष्ट्रिय एकताले युवालाई फरक पहिचानलाई अस्वीकार होइन सम्मान गर्न सिकाउँछ । यसले ‘म पहिले नेपाली हुँ’ भन्ने साझा चेतनाको विकास गराउँछ । युवा पुस्ताको लागि राष्ट्रिय एकताको महत्वपूर्ण पक्ष भने राष्ट्र निर्माणसँग जोडिएको हुन्छ । विकास, सुशासन, रोजगारी, शिक्षा र प्रविधिको क्षेत्रमा युवाको सक्रिय भूमिका अपरिहार्य हुन्छ । तर विभाजित समाजमा सामूहिक लक्ष्य प्राप्त गर्न कठिन हुन्छ । राष्ट्रिय एकताले युवालाई व्यक्तिगत सफलताभन्दा सामूहिक समृद्धितर्फ उन्मुख गराउँछ । यसले सहकार्य, नेतृत्व र जिम्मेवारीको भावना विकास गर्छ, जुन राष्ट्र निर्माणको मूल आधारस्तम्भ पनि हो ।

राष्ट्रिय एकताको वास्तविक अभ्यास युवाको दैनिक व्यवहारमा देखिनुपर्छ । सहपाठी, सहकर्मी वा समाजका अन्य सदस्यहरुसँगको व्यवहारमा समानता, सम्मान र सहयोग देखिनु नै राष्ट्रिय एकताको साँचो रुप हो । राष्ट्रिय एकता युवाका लागि केवल पाठ्यपुस्तकको विषय होइन, यो त समग्र जीवनपद्धति हो । यसैले युवा पुस्ताका लागि राष्ट्रिय एकता केवल भावनात्मक नारा होइन, यो जिम्मेवारी, प्रतिबद्धता र भविष्यप्रतिको दायित्व हो । एकतामा बाँधिएको युवा पुस्ताले नै सशक्त, समृद्ध र सम्मानित नेपालको निर्माणमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।

आजको विश्व तीव्ररुपमा परिवर्तनशील र आत्मनिर्भर बन्दै गएको छ । प्रविधि, अर्थतन्त्र, राजनीति र संस्कृतिका सीमाहरु क्रमशः धुमिल हुँदै गएका छन् । यस्तो वैश्विक परिवेशमा राष्ट्रहरु केवल आफ्नो भौगोलिक सीमाभित्र सीमित रहेर सुरक्षित र समृद्ध हुन सक्दैनन् । यद्यपि विश्वसँग खुला सम्बन्ध राख्नु आवश्यक भए पनि त्यसका बीच राष्ट्रिय एकता कमजोर हुनु राष्ट्रका लगि गम्भीर चुनौती बन्न सक्छ । त्यसैले वैश्विक सन्दर्भमा राष्ट्रिय एकताको महत्व झन् गहिरो र निर्णायक बन्दै गएको छ । वर्तमान सूचना र प्रविधिको युगमा गलत सूचना, दुष्प्रचार र साइबर युद्धजस्ता नयाँ चुनौती देखिएका छन् । यस्ता चुनौतीहरु प्रायः समाजमा विभाजन फैलाउने उद्देश्यले प्रयोग गरिन्छन् । राष्ट्रिय एकताको चेतनाले नागरिकलाई सचेत, जिम्मेवार र विवेकशील बनाउँछ । यसले अफवाहभन्दा तथ्य, घृणाभन्दा सहष्णिुता र उत्तेजनाभन्दा विवेकलाई प्राथमिकता दिन सिकाउँछ । जब राष्ट्रिय एकताको भावना बलियो बन्छ तब विश्वभर नेपालको सकारात्मक छवि निर्माणमा सहयोग पुग्छ । यसले राष्ट्रिय पहिचानलाई सुदृढ बनाउँछ । राष्ट्रिय एकता नै राष्ट्रको शक्ति, बल, स्थायित्व र भविष्यको आधार हो । भाषा, जाति, धर्म, संस्कृति र भूगोलको विविधताकाबीच आपसी सम्मान, सहकार्य र सहिष्णुताको भावना विकास गराउन सक्नु नै साँचो अर्थमा राष्ट्रिय एकता हो ।

अतः राष्ट्रिय एकता कुनै अमूर्त भावना वा अवसर विशेषमा दोहोरिने नारा मात्र होइन, यो राष्ट्रको स्थायित्व, समृद्धि र स्वाभिमानको आधारस्तम्भ हो । विविध भाषा, जाति, धर्म, संस्कृति र भौगोलिक पहिचानबीच आपसी सम्मान, सहकार्य र सहिष्णुताको भावना विकास गर्न सक्नु नै साँचो अर्थमा राष्ट्रिय एकता हो । जब नागरिकहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन्छन्, तब मात्र राष्ट्र आन्तरिक रूपमा सुदृढ र बाह्य रूपमा सम्मानित बन्न सक्छ । आजको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रिय एकताको महत्व झनै व्यापक बन्दै गएको छ । गलत सूचना, विभाजनकारी सोच र स्वार्थ प्रेरित राजनीतिविरुद्ध राष्ट्रिय एकता नै सबैभन्दा प्रभावकारी सुरक्षा कवच हो । यसले लोकतन्त्रलाई मजबुत बनाउने मात्र होइन, सामाजिक सद्भाव, राजनीतिक स्थायित्व र दीर्घकालीन विकासको मार्गप्रशस्त गर्दछ । यही भएर राष्ट्रिय एकता आजको आवश्यकता मात्र नभई भोलिको सुरक्षित र उज्यालो भविष्यतर्फको अपरिहार्य मार्गसमेत हो ।