विश्वकै प्रतिष्ठित फिल्म महोत्सव कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली फिल्म इलिफेन्ट इन द फगको टोलीलाई सरकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ।
निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामासहितको टोलीलाई नौमती बाजा, फूलमाला र शुभकामनासहित स्वागत गरिएको हो। इलिफेन्ट इन द फगले कान्स फिल्म फेस्टिभल २०२६ अन्तर्गतको अन सर्टेन रिगार्ड विधामा प्रतिष्ठित जुरी अवार्ड जित्दै नेपाली फिल्मको इतिहासमै नया“ अध्याय थपेको छ। अफिसियल सेलेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको यो फिल्मको उपलब्धिलाई नेपाली फिल्म क्षेत्रस“गै सरकाले ऐतिहासिक कोसेढुंगाका रूपमा लिएको छ।
फिल्मले ध्वनि सिर्जनाका लागि बेस्ट साउन्ड क्रियसन अवार्डसमेत प्राप्त गरेको छ। उक्त सम्मान फिल्मको ध्वनिको गहिराइ, लय, संगीतात्मकता र भावनात्मक प्रभावका आधारमा दिइएको जनाइएको छ। टिमको स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायत फिल्म क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कलाकर्मीको सहभागिता रहेको थियो।
मन्त्रीद्वयले यो उपलब्धिले नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा नया“ पहिचान दिलाएको उल्लेख गर्दै फिल्म टोलीलाई बधाई दिएका थिए। सञ्चारमन्त्री तिमिल्सिनाले फरक धारका सिनेमालाई राज्यले प्रोत्साहन गर्ने नीति अघि बढाइने बताए भने पर्यटनमन्त्री पौडेलले फिल्मकर्मीलाई मुलुकका अवैतनिक सांस्कृतिक दूतको संज्ञा दिए।
सूचना तथा सञ्चार मन्त्रालयले निकट भविष्यमै विशेष कार्यक्रममार्फत फिल्म टोलीलाई सम्मान गर्ने तयारी गरेको छ। त्यस्तै चलचित्र विकास बोर्डले पनि यसै साता सम्मान कार्यक्रम आयोजना गरी टोलीलाई नगद २ लाख ५० हजार रुपिया“सहित सम्मान गर्ने घोषणा गरेको छ।











प्रतिक्रिया