एएमएल नेपालद्वारा गरिमा क्यापिटललाई एएमएल–सीएफटी तालिम


काठमाण्डौँ
नेपालमा एन्टी–मनी लाउन्डरिङ (एएमएल) तथा काउन्टरिङ द फाइनान्सिङ अफ टेरोरिज्म (सीएफटी) सम्बन्धी परामर्श सेवामा सक्रिय संस्था एएमएल नेपालले गरिमा क्यापिटलका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल÷सीएफटी तालिम सम्पन्न गरेको छ ।

तालिमको उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल÷सीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमता अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल÷सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपाल (सेबोन) का एएमएल निर्देशनअनुसार बजार मध्यस्थकर्ताको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षाबारे प्रस्तुति गरिएको थियो ।

तालिमको सहजीकरण श्रीधर अधिकारी र लेखनाथ पोखरेलले गरेका थिए । कार्यक्रममा गरिमा क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौती तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए ।

एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पुँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएल÷सीएफटी अनुपालन आवश्यक रहेको बताएका छन् । संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता र अन्य रिपोर्टिङ इन्टिटीलाई एएमएल÷सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।