एकपटक माता पार्वतीले आफ्ना पति शिवसँग सोध्नुभयो– ‘हे नाथ, जब कलियुग आउँछ, तब मानिसले धर्म र मोक्ष कसरी प्राप्त गर्छन् होला ?’ पार्वतीले सोध्नुभएको यस प्रश्नको जवाफमा शिवले जुन उत्तर दिनुभयो, पछि गएर त्यही नै तन्त्रको रुपमा प्रसिद्ध भयो ।
शिवले भन्नुभयो– ‘योगिनी तन्त्र’ मा वर्णन गरिएको छ कि कलियुगमा वैदिक मन्त्र प्रभावहीन, शक्तिहीन र विषहीन सर्पजस्तै हुनेछ । अर्थात् काम नलाग्ने निरर्थकजस्तै हुनेछ ।’
शिवको भनाइमा कलियुगमा मानिसहरु शुद्ध र अशुद्धको भेदभाव सम्झिँदैनन् । यिनीहरुले वैदिक नियमको अवहेलना गर्छन् । साथै नियम र शुद्धताले रहित भएर वेद मन्त्रको उच्चारण एक नाममात्रको परम्परा बन्नेछ । जस्तै– कोही व्यक्ति गंगाको किनारमा उभिएको छ तर कुवा खनेर प्यास बुझाउन चाहेजस्तै हुनेछ ।
शिवले स्पष्टरुपमा वैदिक मन्त्रको पूर्ण शक्ति सत्य, त्रेता र द्वापर युगमा मात्र साकार हुनेछ भन्नुभयो । कलियुगमा त्यस्ता प्रभावशाली साधना कठिन हुनेछ भन्नुभयो । किनकि (१) आचरणको शुद्धता रहँदैन (२) मन र वचनमा मेल हुँदैन (३) धर्म केवल बाह्यरुपमा मात्र सीमित हुनेछ पनि भन्नुभयो ।
तर पार्वतीले पुनः सोध्नुभयो– ‘तब कलियुगमा मानिसले आफ्नो पापको नाश कसरी गर्छन् त ? पूजाको फल कसरी पाउँछन् त ?’
शिवजीले उत्तरमा भन्नुभयो– ‘कलियुगमा तन्त्र साधनाले त्यही फल दिनेछ, जुन सत्ययुगमा वैदिक पूजाले दिन्छ ।’
तन्त्रको मार्ग वैकल्पिक होइन, वैकल्पिक विज्ञान हो, जहाँ साधक बन्धनबाट मुक्त भएर प्रयोग गर्दछ, अनुभव गर्दछ र आफ्नो आन्तरिक सामथ्र्यद्वारा ईश्वरलाई प्राप्त गर्दछ । तन्त्र साधनाका तीन मुख्य स्तम्भ (१) मन्त्र– ध्वनिको शक्तिबाट चेतनाको जागरण (२) तन्त्र– विधि र प्रयोगको विज्ञान (३) यन्त्र– ब्रह्माण्डीय ऊर्जाको स्थिर गर्ने माध्यम । तर शिवजीले यो चेतावनी पनि दिनुभयो– तन्त्रमा उसैले मात्र प्रवेश गर्नु, जसको मित्र ईश्वर पाउने पागलपन होस्, जसले संसारको एक प्रयोगशाला मानेको छ र जो साधनामा पूर्ण समर्पण हुन सकोस् ।
कलियुगमा तन्त्र कुनै अन्धविश्वास होइन, बल्की आत्मा र ब्रह्मको मिलनको व्यावहारिक विज्ञान हो । यसमा न त बाह्य आडम्बरको आवश्यकता पर्छ, न सामाजिक मान्यता नै । केवल साधना, एक निष्ठा र प्रयोगको भावना चाहिन्छ । शिवको सन्देश स्पष्ट थियो– कलियुगमा जसले सत्यको खोज गर्छ, ऊ नियमले होइन, अनुभवद्वारा ईश्वरलाई प्राप्त गर्दछ । तन्त्र कुनै रहस्य होइन, यो रहस्यलाई खोल्ने साँचो हो ।











प्रतिक्रिया