ओखलढुङ्गामा ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइयो 

2.73k
Shares

ओखलढुङ्गा  

ओखलढुङ्गामा ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइएको छ । खोप तालिका अनुसार जिल्लाका ८ वटा स्थानीय तहका ४ हजार ७ सय ५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाइएको हो । 

जिल्लामा रहेका १६ देखि  ५९ महिना भित्रका बालबालिकाहरूलाई पूर्ण खोपको सुनिश्चितता गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख मनीषा मोक्तानले बताउनु भएको छ । यसैबीच  ओखलढुङ्गा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जिल्लामा रहेका १६ देखि  ५९ महिना भित्रका बालबालिकाहरूलाई मापदण्ड अनुसार सबै खोपहरू दिई सकिएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका जन स्वास्थ्य निरीक्षक उमा गुरुङले बताउनु भएको छ । 

यसैबीच  खोप कार्यक्रमलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न ८ जना स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४ को खिजि काती स्वास्थ्य चौकीका दालकी शेर्पा, चिशंखुगढी आधारभूत अस्पतालका गंगा भुजेल रहेका छन् । 

यसैगरी  सिद्धिचरण नगरपालिकाका शिखा गुरुङ, मानेभन्ज्याङ गाउँपालिका टोक्सेल स्वास्थ्य चौकीका सुनिता मगर, सुनकोशी गाउँपालिका कटुन्जे स्वास्थ्य चौकीका भानुभक्त ढकाल, रानीवन प्राथमिक स्वास्थ्य केन्द्र चम्पादेवीका मदन कार्की र लिखु आधारभूत अस्पतालका विवेक कुमार चौधरीलाई सम्मान गरिएको छ ।