ट्राफिक व्यवस्थापन : चुलिँदो चुनौती एवं समाधानका सम्भावित उपायहरु

1.79k
Shares

मुलुकमा सडकको क्षमताभन्दा बढी सवारीसाधनहरु राजश्व संकलनको नाममा अनियन्त्रित खरिद बिक्री, पर्याप्त एवं उपयुक्त पार्किङको समस्या, २० वर्ष नाघेका पुराना सवारी साधनहरुलाई विस्थापित गर्न नसक्नु, सवारी साधनको अवस्था र सवारी चालकमा रहेको पूर्ण ज्ञानको अभाव, ट्राफिक नियम उल्लंघन गरी बारम्बार पटके गल्ती गर्नेहरुलाई निरुत्साहित गर्ने किसिमको कडा कारबाही वा जरिवाना नहुनु, ट्राफिक लाइट र ट्राफिक नियम प्रयोगरउपयोगको लागि भरपर्दो प्रविधि भित्र्याई वैज्ञानिकरुपमा व्यवस्थापन हुन नसक्नु, ट्राफिक कै अगाडीबाट धुँवाको मुस्लो छोड्दै प्रदूषण गर्दै हिँड्ने र सवारी साधनको अस्वाभाविक अवस्था थाहा पाउँदापाउँदै फितलो कारबाही गरी छाडिनु जस्ता विषयवस्तुहरूले जबसम्म प्रश्रय वा छुट पाइरहन्छ र वर्षको एकपटक बिरालो बान्ने चलन जस्तै ट्राफिक सचेतनाको लागि भनी  सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेर मात्र प्रभावकारी ट्राफिक व्यवस्थापन हुनसक्ने देखिन्न।

वर्तमान अवस्थासम्म आईपुग्दा ट्राफिक व्यवस्थापनमा चुलिंदै गईरहेको समस्याहरुलाई आंकलन गरी बेलैमा समस्या समाधानका उपायहरुको खोजविन गरी लागू गर्न नसकिएमा दीर्घकालमा समस्या समाधान हुन नसकि ट्राफिक ब्यबस्थापनमा जटिलता थपिंदै जाने देखिन्छ ।  

हामी सबैले भोगेको देखेको कुरा, शायद यहाँहरु सबैलाई विदितै भएपनि विद्दमान ट्राफिक व्यवस्थापनमा आइपरेका व्यवधानहरुलाई यस पङ्क्तिकारको ब्रम्हले भ्याएसम्म यथार्थपरक ढङ्गले प्रष्ट पार्न खोजेको छु । 

पङ्क्तिकारको आँखै अगाडि एउटा मोटरसाइकल बायाँबाट आएर दायाँतर्फ हुँईकिएर गयो, बालाबाल कारसित ठोक्किएर दुर्घटनामा हुनबाट बच्यो । यहाँ यस्ता प्रकृतिका मोटरसाइकलद्वारा अनियन्त्रित तीव्र गतिमा हुइँकाउने मात्र नभई अहिलेका अल्लारे युवाहरुले मोटरसाईकलको स्वरुप परिवर्तन, अस्वाभाविक मात्रामा ध्वनि प्रदूषण र अझ पछाडि युवतिको साथ भएमा त थप जोसमा आई होस गुमाएर लिरीविरी लिरीविरी गर्दै कहिले कुन लेन कहिले कुन लेन गर्दै नचाहँदा नचाहँदै मानवीय जोखिम निम्तिने ठूला ठूला दुर्घटना हुन पनि कुनै बेरै लाग्दैन । यहाँ मूल सडक र शाखा सडकको प्रयोग गर्ने सवारी साधनहरुले पालना गर्नुपर्ने नियम, सडकका जंक्सन प्वाइन्टहरूमा सवारी साधनहरुले स्टप, लुक,गो को नियम र कुन सवारी साधनलाई कस्तो कस्तो अवस्थामा प्राथमिकता दिने भन्ने कुरामा कसैलाई मतलब नै छैन। 

त्यस्तै,  करिब २ महिना अघि बनेपामा एउटा ट्रिपर जल्यो, तर सिसिटिभि फुटेज हेर्दा ट्रिपरको बाँयापट्टिबाट स्कुटीले ट्रिपरलाई उछिन्दै गर्दा उक्त स्कुटर चालक अनियन्त्रित भई स्कुटरसहित पल्टन गई ट्रिपरको बाँया पछाडीको चक्कामा छिर्दा स्कुटर चालकको मृत्यु हुन पुगेको देखिएको छ । अब यहाँ एकातर्फ मानवीय क्षति पुगेको संवेदनशीलता छ तर अर्कोतर्फ एक नागरिकको कमाईखाने भाँडो जीवनभरीको कमाई बिना गल्तीमा, गल्ती कसको हो समेत थाहै नपाई कानुन हातमा लिएर आक्रोशित भिडद्वारा जल्न पुगेको छ। आक्रोशित भिड भन्दैमा मुलुकमा कानुन नै नभएको हो र ?  सरसरती हेर्दा आमनागरिकमा डर, भर र अनुशासन घट्दै गई अराजक मनाशायले प्रश्रय पांउदै अनुशासनहीनताको पराकाष्ठातर्फ उन्मुख भइरहेको देखिन्छ । राज्यको कानूनमा समेत कुनै पनि दुर्घटना निम्तिँदा सानो सवारी साधनको गल्ती भएतापनि यहाँ दोष ठूलो सवारी साधनले भोग्नुपर्ने कानुनी जटिलता रहेको देखिन्छ ।

केही विकृत उदाहरणहरु, के सुधार गर्न सकिएला त ?

यहाँ मोटरसाइकल र स्कुटर चालकलाई सबभन्दा बढी हतार हुन्छ भने भाडाको सवारी साधानहरुले अनियन्त्रित एवं अव्यवस्थितरुपमा गरिने हतारो र यिनीहरूको सिन्डिकेट प्रणालीद्वारा एकाधिकार जमाउन सफल भएबाट दिनानुदिन ट्राफिक व्यवस्थापनमा असहजता थपिने क्रम जारी रहेको छ । सरकार, आमनागरिकहरु र अनुगमन नियन्त्रण एवं नियमन गर्ने र गराउने सम्बद्ध पक्षहरुलाइ झकझकाउनको निमित्त हामीले थाहा पाइराखेका थुप्रै अनुशासनहीनता झल्किएका विकृत केही विकृत उदाहरणहरु यस पङ्क्तिकारले पस्कने जमर्को गरेको छु ।

-लेन अनुशासन:  यहाँ दुई लेनको सडकमा चारवटा ठूलारमझौला किसिमका सवारी साधन र दाँयाबाँया मोटरसाईकलरस्कुटीले घेरिएको हुन्छ अनि लेन परिवर्तन गर्न एवं दाँयाबाँया मोड्न पनि कुनै मान्यता प्राप्त सङ्केतको प्रयोग गरिएको हुन्न । 

-सिङ्गलरडबल लाइन: यसप्रकारको लाइन कोरिएको सडक खण्डहरुमा दुईतर्फी सवारी साधन चलाउन छुट्टाएको ठाउँ मात्र हो तरपनि यस्ता लाइन कोरिएका सडक खण्ड, जेब्रा क्रसिङ्ग र मोड्न निषेध गरिएको सडक खण्डबाट विपरीत दिशातर्फ मोड्न नपाइने थाहा हुँदाहुँदै पनि मोडेर नियम विपरीत सवारी चलाएको देखिन्छ ।

अस्वस्थ भाडाका सवारी साधनहरुको प्रतिस्पर्धा:  भाडाको सवारी साधनहरु यात्रु चढाउन र सामान ओसार्न तँछाड मछाड गरिनुको साथै जथाभाबी सवारी साधनहरु रोकी यात्रु तथा सामानहरु चढाउने र ओराल्ने कार्यहरुमा ट्राफिक नियमको ठाडो उल्लंघन गरी असहज, अनियन्त्रित एवं अस्वाभाविक तरिका अपनाउँदा अनावश्यकरुपमा ट्राफिक जाम हुने विशेषतः दुर्घटना निम्तिई असावधानीको कारण अकल्पनीय मानवीय क्षतिको सँगसँगै सवारी साधनमा समेत उल्लेख्य क्षति पुग्न गएको हामी सबैलाई अवगत नै छ ।

–  विभिन्न एप्सद्वारा सञ्चालित भाडाका सवारी साधनहरुको संख्यात्मक वृद्धि:-  यहाँ यात्रुहरुलाई आफू रहेकै स्थानमा विभिन्न एप्सद्वारा लोकेशन ट्रयाक गरी आउने भाडाका सवारी साधनहरु सञ्चालनमा आएबाट गन्तव्यसम्म आउनजानको लागि सुविधा थपिएतापनि यसप्रकारका भाडाका ट्याक्सी विशेष गरी मोटरसाइकल र स्कुटीहरुले अनावश्यकरुपमा ट्राफिक चाप र ट्राफिक जाम वृद्धि गरी ट्राफिक अस्तव्यस्तता बढाउन उल्लेख्य भूमिका खेलेको देखेका नै छौँ । मोटरसाइकल र स्कुटर खरिद बिक्रीमा र यसलाई भाडाको सवारी साधनकोरुपमा प्रयोग गरिँदा भविष्यमा व्यस्त शहरहरुमा यस्ले बढाउने अस्तव्यस्तलाई कसरी हटाउन सकिएला र ?

-पैदल यात्री तथा यात्रुहरुको लापरबाहीपन:-  विशेष गरी पैदल यात्रीहरुले रातो बत्ती बल्दाबल्दै एवं जथाभाबी जहाँसुकैबाट मोबाईलमा कुरा गर्दे बाटो काट्ने र सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरुले समेत बस बिसौनीबाट नभई जहाँसुकैबाट मनलाग्दी सार्वजनिक यातायातमा चढ्ने र ओर्लनेजस्ता लापरवाहीले पनि ट्राफिक व्यवस्थापनमा असहजता थप्दै गएको देखिन्छ।

नेपालको ट्राफिक व्यवस्थापनमा चुलिँदो चुनौतीहरु के के छन् त ?

१) ट्राफिक लाइट र सुरक्षाको निमित्त सिसिटिभीको प्रबन्ध हुन नसक्नु 

-ट्राफिक लाइटहरूको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु र प्रविधिको प्रयोग भन्दा पनि ट्राफिकहरुबाट म्यानुअल तरिकाले ट्राफिक व्यवस्थापन हुनु।

-ट्राफिक लाइटहरू बारम्बार बिग्रिरहनु र समयमा मर्मत सम्भार हुन नसक्नु ।

-ट्राफिक व्यवस्थापनको निमित्त भरपर्दो प्रविधि ९जस्तै ट्राफिक व्यवस्थापन मैत्री सुरक्षा प्रबन्धको लागि सिसिटिभी, स्पिड रेकर्डर आदि भित्र्याउन नसक्नु ।

२) ट्राफिक नियमको अल्पज्ञान र जानी जानी बढ्दो उल्लङ्घन:

-सवारी चालकहरुद्वारा लेन अनुशासन, सडक बत्तिको ख्याल नराख्नु, सवारी साधन मोड्दा जानी जानी गलत तरिका अपनाउनु, तीव्र गति एवं उक्त गति मै जिकज्याक सवारी चलाउनु, सडकको ईन्टरसेक्सन तथा पैदल यात्रीहरुलाई बाटो काट्दा प्राथमिकता नदिनु, प्रदूषणको मापदण्ड नपुगेका र सवारी साधनको अवस्था यकिन नगरी चलाउनु, सार्वजनिक यातायातले जथाभाबी गाडी रोकेर यात्रु बटुल्ने होडबाजीमा अनियन्त्रित तरिकाले सडक दुर्घटनाको जोखिम मोलेर गाडी हाँकी अनावश्यक ट्राफिक जाम बढाउनु, जथाभाबी पार्किङ गर्नेजस्ता सवारी चालकहरुद्वारा स्वअनुशासन कायम हुन नसक्दा उल्लङ्घनकर्ताहरुले प्रश्रय पाई क्रमिकरुपमा बढ्दै गएको ।

-पैदलयात्रीहरुद्वारा जेब्रा क्रसिङ्ग र आकाशे पुलबाट बाटो नकाटी जहाँसुकै जतासुकैबाट बाटो काट्नाले सडक दुर्घटना र ट्राफिक जाममा वृद्धि हुँदै गएको

-सवारी चालक एवं पैदलयात्री (दुवै वर्ग) लक्षित उनीहरुलाई ट्राफिक सचेतनाको कमी र सवारी चालक अनुमतिपत्र कुन तरिकाले कुन अवस्थामा (दवावरप्रभावद्वारा) प्राप्त गरेको निर्क्यौल हुन नसक्नु र पटके गल्ती गर्नेहरुलाई सामान्य जरिवाना गरी  पटक पटक उन्मुक्ति दिनाले सडक दुर्घटना निम्तिरहनु ।

३) सवारी चापमा वृद्धि हुँदै जानु:

-सडकको अनुपातमा भाडाका तथा नीजि सवारी साधनहरु उल्लेख्यरुपमा थपिने क्रम जारी रहनु 

-विभिन्न एप्सहरु प्रयोग मार्फत सञ्चालित यात्रुवाहक मोटरसाइकल सजिलो कमाइको साधन बन्नु र यसको बिक्री वितरण कुनै रोकथाम नभई राजश्व संकलनको लक्ष्य प्राप्तिको लागि अनियन्त्रित तवरले वृद्धि हुँदै जानु। यस्ता प्रकृतिका सवारी साधनहरु व्यस्त चोकहरुमा यात्रु कुर्ने बहानामा थुप्रिएर बस्नाले ट्राफिक जाम र सडक दुर्घटनाको जोखिम बढ्दो क्रममा रहेको पाइएको ।

-सवारी साधनहरु मध्ये भाडाका बस, ट्याक्सी र विशेष गरी मोटरसाइकल एवं स्कुटीहरु कुनैपनि ट्राफिक लाइट पछि अनियन्त्रित तरिकाले चलाउंदा ट्राफिक अस्तव्यस्तता र सडक दुर्घटनाको जोखिममा वृद्धि हुँदै गइरहेको ।  

-लक्षित समयमा बनिसक्नुपर्ने र मर्मत सम्भार भईसक्नुपर्ने सडक विभिन्न बहानामा बन्न नसक्नु । साथै, बनेका सडकहरु पनि गुणस्तरहीन भई तोकिएको मापदण्ड पुरा हुनु अगावै बिग्रिएर सडकमा सवारी चाप बढ्न गएको देखिएको ।

४)जथाभाबी पार्किङ र पार्किङ क्षेत्रको अपर्याप्ततास् अव्यवस्थित पार्किङ र पार्किङ गर्ने स्थानको यकिन नभई गाडी खरिद गरी सडकमा नै पार्किङ गर्नुले ट्राफिक ब्यबस्थापनमा समस्या थपिँदै गइरहेको।

५) जरिवाना गराउने र भराउने भरपर्दो आधुनिक प्रविधि नहुनुस् ट्राफिक नियम उल्लङ्घन गर्ने र दुर्घटना गराउने सवारी साधनको शीघ्र पहिचानको आधुनिक प्रविधि नहुनुले जरिवाना तिराउन र कारबाहीको दायरामा ल्याउनलाई कठिनाइ हुँदै गइरहेको ।

६) जथाभाबी जहाँसुकैबाट यात्रुहरु चढाउने र ओराल्ने बेथितिले जन्माएको समस्या: बस स्टयाण्डरस्टपहरुबाट मात्र यात्रु ओराल्ने र चढाउने व्यवस्था हुन नसक्दा सार्वजनिक यातायात तथा अन्य भाडाका सवारी साधनहरुले जथाभाबी जहाँसुकैबाट अस्वभाविक प्रतिस्पर्धा मार्फत बिच सडकमा नै रोकेर यात्रु चढाउने र ओराल्ने बेथितिले निम्त्याउन सक्ने सडक दुर्घटना र अनावश्यक ट्राफिक जामको समस्या । 

७) सडकको न्यूनतम स्तर कायम हुन नसक्नुस:

-सडकमा रहेका खाल्डाखुल्डी, नमिलेको सतह, सडकको मर्मत सम्भार वा ढल र खानेपानी, विद्दुतको तार बिछ्याउन सडक खन्दा रातको समयमा समेत देखिने गरी उपयुक्त साइन नराखिँदा निम्तिएको सडकदुर्घटना र ट्राफिक व्यवस्थापनमा भोगिरहेको दुर्गति ।

-सडकको गुणात्मक स्तर कायम हुन नसकि वर्षेनि राज्यलाई ठूलो धनराशि सवारी कर बापत बुझाएका सवारी धनिहरुलाई सडकको कारण भएको मानवीय एवं सवारी साधनमा पुग्न गएको क्षति प्रति अन्तर्राष्ट्रिय प्रचलन अनुसार राज्यले क्षतिपूर्ति दिलाउने अभ्यास भएता पनि हाम्रो मुलुकमा त्यस्तो अभ्यास लागू नहुनाले तिरेको करको सही  सदुपयोग नभई आमजनमानस दोहोरो मारमा परेकोले उनीहरुमा असन्तुष्टि बढ्दै गएको ।

-समय मै पुरा नहुने एवं नाम मात्रको सडक निर्माण, योजना विहीन डोजरे विकासले निम्त्याउने विपद् र पहाडी भू(धरातलमा बनेका कच्ची एवं साँघुरा सडकहरुमा गन्तव्यसम्म नपुग्दा गरिने कठिन यात्रा अत्यन्त जोखिमयुक्त रहेको देखिएको ।

-विभिन्न राजमार्ग एवं सडकहरुमा सडक बत्तिहरु मार्फत पर्याप्त उज्यालोको प्रबन्ध नहुनाले सवारी साधनहरुले मोलिरहनुपरेको जोखिम । 

-सडकको भारवहन क्षमता भन्दा बढी भार बोकेर आएका सवारी साधनहरुलाई प्रभावकारी नियमन गर्न नसक्नाले भएको सडकको दुरावस्था ।

-राजमार्गहरुसङ्ग जोडिएर दांयाबांया विभिन्न प्रकृतिका पसल व्यवसायहरू हुनाले निम्तिएको दुर्घटनाको जोखिमले राजमार्गमा आवागमनले अवरोध उत्पन्न गरिरहेको पाइएको ।

८) सवारी साधनको हतार एवं तीव्र गतिबाट उत्पन्न हुनसक्ने क्षति:

-विशेष गरी दुई पाङ्ग्रे सवारी साधनहरुलाई हामीले नजिकबाट नियाल्यौं भने त्यसमा सवार ब्यक्तिहरुलाई जस्तो हतार कसैंलाई नभएको जस्तो देखिन्छ । उनीहरु बाँयाबाट ओभरटेक गरेर दायाँ जान, बाँयाबाट दाहिना जान वा विपरीत दिशाबाट आउने सवारी साधनलाई छेक्नेगरी पनि आफ्नो साधन हतारिएर चलाउने गरेको हामी सवैले महसुस गरेकै छौँ ।

-अर्को सार्वजनिक सवारी साधन र विभिन्न एप्सको प्रयोग मार्फत भाडामा यात्रु ओसार्ने सवारी साधनहरुले हतारिएर तीव्र गतिमा ट्राफिक नियमको उल्लङ्घन गरी जथाभाबी चलाउने गरेको पाइएको ।

-निर्माण सामाग्री बोक्ने ट्रिपर, मिनि टाटा, जिप तथा अन्य डेलिभरी भ्यानहरुले बढी ट्रिप भ्याउने हिसाबले हतारिएर तीव्र गतिमा जथाभाबी चलाउने गरेको पाइएको ।

९) आपत्कालीन सवारी साधनहरुले प्राथमिकता नपाउनु:

-दमकल, एम्बुलेन्स एवं सुरक्षा निकायका गाडीहरुलाई बिना रोकटोक निर्वाध आवागमन सडकमा छुट्टै लेनको व्यवस्था हुनुपर्नेमा नभएतापनि आम सवारी साधनहरुको अस्तव्यस्तताले गर्दा प्राथमिकता पाउन नसकि ट्राफिक जाममा फसिरहनुपर्ने असहजताले निम्त्याउनसक्ने जोखिम विद्यमान रहेको ।

-आपत्कालीन सवारी साधनहरुले प्राथमिकता नपाउँदा हुनसक्ने सम्भावित अपूरणीय क्षति सम्बन्धमा आमजनमानसमा पूर्ण सचतेनाको कमी देखिएको । 

१०) पुराना एवं प्रदूषण जाँच फेल भएका सवारी साधनहरु माथि प्रभावकारी अनुगमन र व्यवस्थापन हुन नसक्नु:

-विभिन्न मापदण्डबाट म्याद नाघिसकेका सवारी साधनहरुको सही तरिकाले व्यवस्थापन नहुनाले नयाँ सवारी मात्र थपिँदै जाँदा सवारी चाप वृद्धिको प्रत्यक्ष असर सडकमा देखिने गरेको ।

-धुवाको मुस्लो छोड्ने सवारी साधनहरुलाई अन द स्पट प्रदूषण चेक गर्ने व्यवस्था नहुनु र सम्बद्ध नियामक निकायले प्रभावकारी कदम चाल्न नसकेको महुशुस गरिएको ।

११) आमनागरिकलाई वैज्ञानिक प्रकृतिको सार्वजनिक यातायात सुविधाको लागि दीर्घकालीन योजना र पूर्वाधारहरुको विकास हुन नसक्नुस् विशेष गरी शहरहरुमा मेट्रो रेल, स्काई ट्रेन र ठूला बसहरु एवं देशमा भएका विभिन्न प्रदेशहरुको मुख्य मुख्य जनघनत्वलाई जोड्ने तीव्र गतिको रेल सुविधाको दीर्घकालीन योजना र पूर्वाधारहरुको विकास हुन नसकेको देखिन्छ ।

१२) चुलिँदो सडक दुर्घटना एवं मानवीय क्षति :  मानवीय कारणबाट ८८/३५ प्रतिशत दुर्घटना हुने गरेको भनि यस अघि नै ११ माघ २०७९ मा गठन भएको यातायात क्षेत्रको समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबाट जानकारी प्राप्त भईसकेको नै छ । यसवाहेक सवारी साधन, यात्रु, सडकको अवस्था र मौसमको अवस्थाले पनि दुर्घटना निम्तने गरेको भनिएको छ। सडक दुर्घटनाबाट नेपालमा प्रत्येक दिन औसत ७ जनाले अकालमा ज्यान गुमाइरहेको पाइएको छ।

१३)सवारी तथा यातायात व्यवस्था ऐन, नियमावली एवं कार्यविधिमा नमिलेका अप्रासङ्गिक धारा उपधाराहरुलाई परिमार्जन हुन नसक्नु ।

समाधानका उपायहरु के के हुनसक्लान त ?

विशेषतः ट्राफिक व्यवस्थापनमा चुलिएका समस्याहरु समाधानको लागि स्व अनुशासन अर्थात् व्यक्ति स्वयमले सवारी साधन प्रयोग गर्दा अनुशासित, ईमान्दारिता एवं एकले अर्कोलाई दिनुपर्ने प्राथमिकता दिई अक्षरशः पालना गर्नुपर्ने नियमलाई पालना गरेमात्र पनि ट्राफिक व्यवस्थापनमा सहजता हासिल हुने निश्चित छ ।

यद्यपि, ट्राफिक व्यवस्थापनमा चुलिँदै गएका समस्या प्रभावकारी ढङ्गले समाधानको लागि सम्भावित उपायहरु निम्नानुसार हनसक्ने देखिएकोले सुझाइएको छ ।

१) राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लागू भएका ट्राफिक नियमको ब्यबहारिकरुपमा सवारी साधन प्रयोगकर्ता र आम जनमानसमा विभिन्न माध्यमबाट प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गरी सो को स्पष्ट बुझेको ब्यबहारिकरुपमा यकिन गर्न सम्बद्ध निकायहरुले गम्भीरतापूर्वक कार्यान्वयन गर्ने र गराउने । कार्यान्वयनको क्रममा बिस्तारै नरमबाट कठोर कदम चाल्न समेत योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने देखिन्छ ।

२) नियम उल्लङ्घन गर्ने सवारी साधनहरुमाथि निगरानी र जरिवाना तिराउन आधुनिक सवारी साधन ट्र्याकिङ्ग र डिजिटिलाईज्ड जरिवाना भराउने प्रविधिको विकास गरी शीघ्र कार्यान्वयनमा जानुपर्ने देखिन्छ । स्वस्फूर्तरुपमा ट्राफिक नियम उल्लङ्घन गरेको जरिवानाको स्लिप व्यक्तिको ठेगाना वा उसले प्रयोग गर्ने मोवाइलको मेसेजको ईनवक्समा वा उसको इमेलमा प्राप्त हुने वा स्वतः उसको सवारी साधनकोलागि निश्चित रकम खातामा जम्मा भएको यकिन खाताबाट कट्टी हुने व्यवस्था लागू गर्दा प्रभावकारी हुने देखिन्छ ।

३) अनियन्त्रित, अस्वाभाविक र ट्राफिक नियमको पटक पटक उल्लङ्घन गर्ने अनुशासनहीन एवं सवारी चलाउने क्षमता गुमेका स्तरहीन सवारी चालकहरुको सवारी चालक अनुमतिपत्र समायवधि तोकि निलम्बन गर्न सक्ने र खारेजको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

४) सडक निर्माण र मरामतको अवस्थामा तोकिएको मापदण्डमा कुनै छुट नदिई गुणस्तरयुक्त ढङ्गले बने नबनेको यकिन गरिनुपर्ने, कुनैपनि सडकको नियमित निरीक्षण गर्दा सडकमा स(साना बिग्रिएका स्थानको तत्काल सुधारको लागि आवश्यक कदम चालिहाल्ने पद्धतिको विकासको लागि सडक विभाग र तालुक मन्त्रालयको तत्परता आवश्यक रहेको देखिन्छ ।

५) सार्वजनिक यातायात चढ्ने र ओराल्नको लागि निश्चित बस बिसौनीहरुको प्रवन्ध र सो स्थान बाहेक सार्वजनिक यातायातलाई रोक्न नदिन अनुगमन र जरिवानाको व्यवस्थालाई कडाईकोसाथ लागू गर्नुपर्ने देखिएको ।

६) सम्पूर्ण सर्भिस लेनहरुलाई सुचारु गरिनुपर्ने, जुन दिशाको सर्भिस लेन हो सोही दिशामा मात्र सवारीसाधनहरु चल्नुपर्ने, यस्ता लेनहरूमा अनावश्यक पार्किङ्गलाई पनि तत्काल हटाउनुपर्ने देखिएको ।

७) दुर्गम ईलाका एवं कच्ची साँघुरा सडकहरुमा चल्ने सवारी साधनहरुको अवस्था र क्षमता भन्दा बढी यात्रु नबोकेको यकिन गर्न प्रभावकारी अनुगमन गर्नुपर्ने देखिएको ।

८) सम्भव भएमा मोटरसाईकलबाट ट्राफिक व्यवस्थापनमा आईपरेको असहजता घटाउन छुट्टै लेनको व्यवस्था, जोर विजोर प्रणाली, मोटरसाईकलको खरीद विक्री नियन्त्रण वा के के गर्न सकिन्छ सम्भाव्यता अध्ययन गरी प्राप्त सुझावलाई अविलम्व लागू गर्नुपर्ने देखिन्छ ।

९) आपतकालीन सवारी साधनहरुले प्राथमिकता पाउन छुट्टै लेनको व्यवस्था र साइरनको आवाज आउने बित्तिकै सम्पूर्ण सवारी साधनहरुले दाँयाको लेन खाली गरी निर्वाध आवागमनको लागि बाटो खोली सहजता प्रदानको लागि सचेतना फैलाउन जरुरी देखिन्छ ।

१०)अन द स्पट प्रदूषण जाँचमा पास नहुनेलाई भारी जरिवाना भराउने, प्रदूषण जाँचमा कहिल्यै पास नहुने र राजश्व एवं नवीकरण गर्न लामो समयसम्म छुट भएका सवारी साधनहरुलाई पूर्णरुपमा सवारी आवागमनमा प्रयोग गर्न नदिने नियन्त्रणको कठोर नीति अवलम्बन गरिनुपर्ने देखिन्छ । 

११) सम्भव भएसम्म सार्वजनिक स्थानहरुमा आमनागरिकले यात्रा गरिरहने २० फिट वा सो भन्दा तलका सडकहरुलाई एकतर्फी गर्नुपर्ने र यस्ता साँघुरा सडकहरुका किनारामा कुनैपनि हालतमा कुनैपनि प्रकृतिका सवारी साधनहरुलाई पार्किङ्ग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ ।

१२) सवारी साधनहरुको मरामत सम्भार गर्ने वर्कसपहरुको लागि सवारी साधनहरुको प्रकार अनुसार मूल सडक भन्दा भित्र निश्चित स्थानमा कम्पाउण्ड सहितको वर्कसपमात्र सञ्चालन गर्न अनुमति प्रदानमा कडाइ गर्नुपर्ने देखिएको ।

१३) आकस्मिक र लापरबाहीपूर्ण ढङ्गले हुने सडक दुर्घटनामा भएको मानवीय एवं सवारी साधन प्रति आक्रोशित भिडबाट थप क्षति हुन नदिन विभिन्न माध्यमद्वारा निरन्तर आमजनसमुदायलाई सचेत गराइराख्ने र यसरी कानुन अनावश्यक तरिकाले हातमा लिने ब्यक्तिहरुलाई प्रचलित कानुन कडाईकासाथ लागू हुने समेत खबरदारी गर्नुपर्ने देखिएको, सुसूचित गर्दागर्दै पनि यस्तो उत्श्रृङ्खल गतिविधिमा संलग्न भए कानूनत: कडा कारबाही गर्नुपर्ने देखिएको छ ।

१४) लामो दुरीमा सञ्चालन हुने यात्रुवाहक र विभिन्न सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनहरुका सवारी चालकहरु ले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको आराम, समय अन्तरालमा ब्रेक लिए नलिएको यकिन गर्न स्वचालित प्रविधि अनिवार्य जडान गर्न लगाई सो को पालना गरेनगरेको लगातार नियमन गर्नुपर्ने देखिन्छ ।  

१५) समसामयिकरुपमा असहजता कायम रहेको सवारी तथा यातायात व्यवस्था ऐन, नियमावली एवं कार्यविधिमा नमिलेका एवं बाझिएका अप्रसाङ्गिक धारा उपधाराहरुलाई बहुजन हितायको सिद्धान्तलाई अवलम्बन गर्दै सुधार तथा परिमार्जन गरी ब्यबहारिकरुपमा लागू गरिनुपर्ने देखिन्छ ।

निष्कर्ष:

“तीव्र गति मानवीय क्षति”,“बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” र “ट्राफिक नियम पालना गरौं” भन्नेजस्ता वर्षमा एकपटक सचेतनामूलक साताव्यापी ट्राफिक कार्यक्रम सञ्चालन गर्दा उक्त कार्यक्रमको केही समयसम्म त्यसको क्षणिक प्रभाव पर्न र पार्न सक्ला तर यसको भरपर्दो एवं दिगोपन त्यति देखिन्न । यसमा सम्बन्धित मन्त्रालय, सडक विभाग, ट्राफिक कार्यालय, निजी एवं सार्वजनिक सवारी चालक र यात्रुहरु बीचको पारस्परिक निरन्तर समन्वयमा ट्राफिक नियमको अनुशासित तवरले अक्षरशः पालना गरेमा मात्र पनि ट्राफिक व्यवस्थापनले धेरै हदसम्म सहजता प्राप्ति गरिहाल्नेछ। रह्यो कुरा विभिन्न सुधारका आवश्यकीय पक्षमा योजना र प्राथमिकता निर्धारण गरी समय मै ट्राफिक ब्यबस्थापनलाई थप सहजता प्रदान गर्ने कुरालाई मनन गरी हेर्दा यहाँ श्रोत साधन र दृढसंकल्प सहितको इच्छाशक्ति भएमा गरे असम्भव के छ र? भन्ने युक्ति चरितार्थ गर्न केहि समय त लाग्न सक्छ तर सम्भव छ । 

यहाँ विश्वका विकसित देशहरुको ट्राफिक व्यवस्थापनले एकैरातमा कायापलट गरी  सहजता हासिल गरेको हैन, यो त लक्ष्योन्मुख प्राथमिकतामाथिको दृढसंकल्प सहितको निरन्तर प्रभावकारी कार्यान्वयनको नतिजा देखिएको मात्रै हो । यसैले सरकारले ट्राफिक व्यवस्थापनमा आवश्यक श्रोत साधन सहित योजना तर्जुमाको क्रममा प्राथमिकता निर्धारण गरी प्रभावकारी कार्यान्वयन गरी लक्षित उद्देश्य हासिल गर्नमा जोड दिनु अपरिहार्य रहेको देखिन्छ । 

(लेखक नेपाली सेनाबाट अवकाश प्राप्त ब्रिगेडियर जनरल हुन्)