नेपाललाई ९ महिनामा साढे १२ खर्ब व्यापार घाटा

आयात उच्च वृद्धिका कारण घाटा बढ्यो


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिना (साउनदेखि चैत मसान्तसम्म) मा नेपाललाई १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार आयातको तुलनामा निर्यात निकै कम हुँदा व्यापार घाटा गत वर्षकै तुलनामा १३ दशमलव ०४ प्रतिशतले वृद्धि भएको हो ।

विभागका अनुसार गत आव २०८१÷८२ को सोही अवधिमा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ व्यापार घाटा थियो । एक वर्षको अवधिमा मात्रै व्यापार घाटा १ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बढेको छ । यो वृद्धिले नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको चापलाई स्पष्ट रूपमा संकेत गर्दछ ।

विभागको तथ्याङ्कले चालु आवको ९ महिनामा वस्तु तथा सेवा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ । तर, आयातको वृद्धिदर निर्यातको भन्दा केही कम देखिए पनि कुल परिमाण भने आयातको अंश अत्यधिक रहेको छ । पछिल्लो ९ महिनामा नेपालले १४ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात १३ खर्ब ९ अर्ब रुपैयाँ थियो । यो आयात १३ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी, सोही अवधिमा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गत वर्षको तुलनामा निर्यातमा १८ दशमलव ४६ प्रतिशतले वृद्धि भएको हो । गत आवको ९ महिनामा नेपालले १ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै निर्यात गरेको थियो ।

निर्यातको वृद्धिदर आयातको भन्दा उच्च देखिए पनि आयातको कुल रकम नै अत्यधिक हुँदा व्यापार घाटा भने फराकिलो बन्दै गएको छ । विभागका अनुसार कुल वैदेशिक व्यापारमध्ये ८६ दशमलव ९९ प्रतिशत हिस्सा आयातको रहेको छ भने निर्यातको हिस्सा जम्मा १३ दशमलव ०१ प्रतिशत मात्रै छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँ रहेको कुल वैदेशिक व्यापार चालु वर्षको सोही अवधिमा बढेर १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेपालले विश्वका १६७ देश तथा क्षेत्रहरूसँग व्यापार सम्बन्ध सञ्चालन गरेको छ । यी मध्ये ३५ देशसँग नेपाल व्यापार नाफामा रहेको छ भने बाँकी १२२ देशसँग व्यापार घाटा रहेको छ । यसले नेपालको व्यापार संरचना कति एकपक्षीय रूपमा आयातमुखी छ भन्ने तथ्यलाई उजागर गरेको छ ।

अर्थविद्हरूले नेपालको व्यापार घाटाको मुख्य कारण आन्तरिक उत्पादनको कमी र विदेशी वस्तुप्रतिको बढ्दो मागलाई औंल्याएका छन् । आयात उदारीकरणपछि नेपाली बजारमा सस्तो र गुणस्तरीय विदेशी वस्तुको आगमन बढेको तर नेपाली उद्योगहरूले प्रतिस्पर्धा गर्न नसक्दा व्यापार घाटा थप चौडा बन्दै गएको उनीहरूको भनाइ छ ।

पेट्रोलियम पदार्थ, फलाम, सिमेन्ट, मेसिनरी पाट्र्सलगायतका वस्तुको आयात नेपाली बजारको मागअनुसार नै बढ्दै गएको छ तर निर्यात योग्य वस्तुको उत्पादन र गुणस्तरमा भने पर्याप्त सुधार आउन सकेको छैन, अर्थविद् डा. चण्डीमा श्रेष्ठले भन्नुभयो । यसैगरी, ऊर्जा, पूर्वाधार र दक्ष जनशक्तिको अभावले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन नसकेको उहांको तर्क छ ।

सरकारी अधिकारीहरूले भने व्यापार घाटा कम गर्न विभिन्न उपाय अख्तियार गरिएको बताएका छन् । निर्यात प्रवद्र्धन कार्यक्रम, निजी क्षेत्रलाई प्रोत्साहन, कृषि र पर्यटन क्षेत्रको विस्तारलगायतका विषयमा सरकारले गम्भीर रूपमा काम गरिरहेको उनीहरूको भनाइ छ । तर, अर्कोतर्फ व्यापार घाटासँगै रेमिट्यान्स आप्रवाह र विदेशी लगानीको अवस्थाले भने केही राहत दिएको छ । तर दीर्घकालीन रूपमा व्यापार घाटा नै यसको मुख्य चिन्ताको विषय बनेको छ ।

९ महिनाको व्यापार तथ्याङ्क एक नजरमा
विवरण गत आव (२०८१÷८२) चालु आव (२०८२÷८३) वृद्धि (प्रतिशतमा)
कुल आयात १३ खर्ब, ९ अर्ब, १४ खर्ब, ९० अर्ब १३.८३ %
कुल निर्यात १ खर्ब ८८ अर्ब २ खर्ब २२ अर्ब १८.४६ %
व्यापार घाटा ११ खर्ब २१ अर्ब, ३३ करोड, १२ खर्ब ६७ अर्ब ५६ करोड १३.०४ %
कुल वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब १७ खर्ब १३ अर्ब १४.४० %