खैरेनटार (तनहुँ), ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा नेपाली सेनाले उच्च पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राख्दै सफल भूमिका निर्वाह गरेको बताउनुभएको छ। पश्चिम पृतनाअन्तर्गत तनहुँको खैरेनटारमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
प्रधानसेनापति सिग्देलले नेपाली सेनाले इतिहासदेखि नै अराजनीतिक चरित्रलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै अनुशासन, ‘चेन अफ कमान्ड’ र राष्ट्रिय एकताको भावनालाई संगठनको मूल आधारका रूपमा सुदृढ गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रा वीर पुर्खाहरूको त्याग, तपस्या र बलिदानलाई जोगाउँदै राष्ट्रभक्तिको जीवन्त इतिहास कायम राख्न नेपाली सेना सधैँ तटस्थ र अराजनीतिक भूमिकामा दृढ रहनेछ।” उहाँले मुलुकको सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाले स्वदेश तथा विदेशमा संस्थाको विश्वसनीयता र प्रतिष्ठा उच्च बनाएको उल्लेख गर्नुभयो।

हालको जटिल सुरक्षा परिवेशतर्फ संकेत गर्दै उहाँले साइबर सुरक्षा, सीमापार अपराध, प्राकृतिक विपद् र सामाजिक अस्थिरताजस्ता चुनौतीप्रति सजग रहनुपर्ने आवश्यकता औँल्याउनुभयो। यस्ता चुनौतीको सामना गर्न सेना थप प्रविधिमैत्री, सक्षम र समन्वयकारी ढंगले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न बहालवाला तथा अवकाशप्राप्त सैनिकहरूले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो। सैनिक कल्याणकारी कोष निर्देशनालयद्वारा आयोजित उक्त कार्यक्रममा प्रधानसेनापति सिग्देलले बहालवाला र अवकाशप्राप्त सैनिकलाई एउटै छातामुनि ल्याउने उद्देश्यले कल्याणकारी कार्यक्रमलाई स्थानीय तह र वडास्तरसम्म विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
“‘बहुजन हिताय, बहुजन सुखाय’ को मर्मअनुसार स्वास्थ्य, शिक्षा, सीप विकास र स्वरोजगारका कार्यक्रमलाई परिणाममुखी बनाइनेछ,” उहाँले भन्नुभयो। कार्यक्रममा सैनिक कल्याणकारी कोष निर्देशनालयका कार्यकारी अधिकृत हिरालाल जोशी ले कल्याणकारी कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गरिने जानकारी दिनुभयो। सो अवसरमा कोषमार्फत उत्कृष्ट व्यवसाय सञ्चालन गरिरहेका सैनिक परिवारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो भने वृद्ध तथा अशक्त व्यक्तिहरूलाई ह्विलचेयर वितरण गरिएको थियो।
वि.सं. २०७० देखि सुरु भएको ‘भूपू सैनिक सम्मेलन’ यस वर्ष ‘प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नाराका साथ पश्चिम पृतनाअन्तर्गतका विभिन्न जिल्लामा सञ्चालन भइरहेको छ। उक्त सम्मेलनमा ठूलो संख्यामा भूपू सैनिकहरूको सहभागिता रहेको जनाइएको छ।











प्रतिक्रिया