सत्ताको प्रकृति र अहङ्कारको विरासत

188
Shares

सत्ता र शक्तिको स्वभाव नै आधारभूतरूपमा अहङ्कारी, उन्मत्त र आत्मकेन्द्रित हुन्छ भन्ने कटु सत्यलाई मानव सभ्यताका विभिन्न कालखण्डले पटक–पटक पुष्टि गर्दै आएका छन् । इतिहासको पाना पल्टाउँदा देखिन्छ कि शक्ति प्राप्त गरिसकेपछि मानिसमा आफू सर्वोपरि र अजेय भएको भ्रम पैदा हुन्छ । यो भ्रमले विवेकलाई छोपिदिन्छ र अरूका सल्लाह वा सुझावलाई उपेक्षा गर्ने प्रवृत्ति जन्माउँछ । विश्व इतिहासमा नेपोलियन बोनापार्ट, एडोल्फ हिटलर वा मुसोलिनीजस्ता शासकहरू यसका ज्वलन्त उदाहरण हुन् ।

तिनले आफ्नो महत्वाकाङ्क्षाको उचाइमा पुगेपछि धर्तीलाई नै आफ्नो मुठ्ठीमा ठाने तर अन्ततः त्यही अहङ्कारको बोझले उनीहरूलाई इतिहासको अन्धकारमा विलीन गरायो । नेपोलियनले युरोप जित्ने महत्वाकाङ्क्षामा आफ्ना सेनालाई रुसको हिउँमा होमिदिए, जसको परिणाम उनको साम्राज्यको पतन बन्यो । हिटलरको ‘आर्य श्रेष्ठता’ को दम्भले विश्वलाई महायुद्धमा धकेल्यो र स्वयं उनलाई बंकरभित्र आत्महत्या गर्न विवश तुल्यायो । यी घटनाक्रमले के सिकाउँछन् भने, सत्ताको नशाले शासकलाई आफ्नै पतनको पदचाप सुन्न असमर्थ बनाउँछ ।

नेपालको सन्दर्भमा सत्ताको यो बीभत्स र अहङ्कारी रूप झन् गहिरो गरी जकडिएको देखिन्छ । आधुनिक नेपालको इतिहासमा भीमसेन थापाजस्ता शक्तिशाली मुख्तियार, जसले झन्डै तीन दशक एकछत्र शासन गरे, उनी पनि अन्त्यमा सत्ताकै षड्यन्त्र र अहङ्कारको सिकार हुनुप¥यो । समयक्रममा विकसित भएका विरोधी भारदारहरूको घेराबन्दीमा परेर जेलको कालकोठरीमा आत्महत्या गर्न विवश पारिनु सत्ताको त्यो निर्दयी स्वरूप थियो, जहाँ शक्तिको शिखरमा रहँदा कसैको अस्तित्व स्वीकार गरिँदैनथ्यो ।

त्यसै गरी, कोतपर्वको रगतको भेलबाट उदाएका जङ्गबहादुर राणाले शासन सत्तालाई आफ्नो पारिवारिक पेवा बनाए । सत्ता जोगाउन आफ्नै मामा माथवरसिंह थापाको हत्या गर्नेदेखि लिएर भाइभतिजाहरूबीचको शक्तिसंघर्षले राणा शासनको जग नै रगतमा डुबेको थियो । सत्ताकै लागि राणाहरूभित्र ‘ए’, ‘बी’ र ‘सी’ क्लासको विभाजन गरियो र आफ्नै दाजुभाइबीच काटाकाट र निर्वासनको शृङ्खला चल्यो । सत्ताको यो मोह र अहङ्कारले मानिसलाई यतिसम्म अन्धो बनाउँछ कि उसले रगतको नातासमेत बिर्सिन्छ र केवल शक्तिको कुर्सीलाई मात्र आफ्नो अन्तिम सत्य मान्दछ ।

१९९७ सालको त्यो कहाली लाग्दो समयलाई फर्केर हेर्दा, जब चार शहीदहरूलाई मृत्युदण्ड दिने निर्णय गरियो, तब निश्चय नै कसै न कसैले त्यसलाई भङ्ग गराउन राजा त्रिभुवनलाई सुझाव दिएकै हुनुपर्छ । शासन गर्ने अधिकार राणा प्रधानमन्त्रीको भए पनि मृत्युदण्डको स्वीकृतिपत्रमा हस्ताक्षर राजाले नै गर्नुपथ्र्यो । शक्तिशाली राणाशासनले राजाको स्वीकृति लिन खोज्दा राजाले जुन आक्रोश र अहङ्कार प्रदर्शन गरे, त्यसले सत्ता सञ्चालकहरूमा कस्तो मनोविज्ञान हाबी हुन्छ भन्ने प्रस्ट पार्छ ।

‘शासन तिमीहरू गर्ने, मार्ने सदर मैले गर्नुपर्ने !’ भन्दै तत्कालीन राजा त्रिभुवन रिसाउनुले एकातिर शक्तिको बाँडफाँडको द्वन्द्व देखाउँछ भने अर्कोतिर प्राणदण्डजस्तो गम्भीर विषयमा समेत मानवीय संवेदनाभन्दा सत्ताको अहं ठूलो भएको झल्को दिन्छ । इतिहासका यस्ता पानाहरूले आज पनि हामीलाई सत्ताको कठोर र निर्दयी अनुहारको स्मरण गराइरहेका छन्, जसको अन्तिम सार भनेकै शक्तिको उन्मादमा गरिने विवेकहीन निर्णयहरू नै हुन् ।

२०१७ सालको राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक इतिहासमा एउटा ठूलो अवरोध सिर्जना गर्दा राजा महेन्द्रको मानसपटलमा के–कस्ता विचारहरू खेलेका थिए होलान् भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ । जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई गिरफ्तार गरी जेल हाल्ने कठोर कदम चाल्दा निश्चय नै उनलाई पनि यसको दूरगामी परिणामबारे सचेत गराउने पात्रहरू नभएका होइनन्, तर सत्ताको शक्तिले आँखा छोपिएका शासकलाई जनभावनाभन्दा आफ्नै महत्वाकाङ्क्षा प्यारो लाग्छ ।

निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रत्यक्ष शासन हातमा लिँदा जुन खालको दम्भ प्रदर्शन गरियो, त्यसले नेपाली राजनीतिमा तानाशाही प्रवृत्तिको एउटा नयाँ जग बसायो । यस्तो परिस्थितिमा जुनसुकै शासकले पनि आफूलाई राष्ट्रको एकमात्र मुक्तिदाता ठान्ने भूल गर्छन् । यसले गर्दा जनमतको अपमान हुन पुग्छ र लोकतन्त्रको गला थिचिने काम हुन्छ । राजा महेन्द्रको त्यो कदमले देशलाई दशकौँ पछाडि धकेल्ने कार्य गरेको बताइन्छ, जसको मूल जड भनेकै सत्ताको त्यो अहङ्कारी स्वभाव थियो, जसले आफूलाई कानुन र जनताभन्दा माथि ठान्ने गर्दछ ।

गणतन्त्रको उदय हुनुभन्दा ठीक अगाडि २०६२ सालमा राजा ज्ञानेन्द्रले कीर्तिनिधि विष्ट र तुलसी गिरीजस्ता पुराना पात्रहरूलाई अघि सारेर प्रत्यक्ष शासन शुरु गर्दा पनि इतिहासले आफूलाई दोहो¥याएको महसुस गराएको थियो । त्यति बेलाको बदलिएको विश्वपरिवेश र सचेत नागरिक समाजको बीचमा ‘त्यसो गर्नुहुँदैन’ भनेर धैरेले सुझाव र चेतावनी दिएका थिए होलान्, तर सत्ताको नशा यस्तो हुन्छ कि यसले आफ्नै पतनको घण्टी पनि सुन्न दिँदैन ।

नागरिक आवाज, सञ्चारमाध्यमका गुनासा र सडकमा उर्लिएको विरोधको लहरलाई बेवास्ता गर्दै चालिएका ती कदमहरू अन्ततः राजतन्त्रकै अन्त्यको कारक बने । जसरी एउटा ढल्न लागेको रुखले आफ्नो जरा कमजोर भएको थाहा पाउँदैन, त्यसै गरी सत्ताको उन्मादमा रहेका शासकहरूले जनताको आक्रोशलाई नजरअन्दाज गर्दा तिनले सत्ता मात्र गुमाउँदैनन्, बरु इतिहासको कठघरामा उभिनुपर्ने स्थिति पनि सिर्जना हुन्छ । अन्ततः जनताको शक्तिको अगाडि कुनै पनि निरंकुशता टिक्न सक्दैन र अहङ्कारको महल बालुवाको घरजस्तै ढल्न पुग्छ भन्ने नै यस कालखण्डको मुख्य सार हो ।

पञ्चायत र राजतन्त्रको अन्त्यपछि आएका लोकतान्त्रिक नेताहरू देउवा, ओली, बाबुराम वा माधव नेपाल जुनसुकै पात्र सत्तामा पुगे पनि तिनीहरूको कार्यशैलीमा सत्ताकै पुरानो अहङ्कारी प्रवृत्ति हाबी भएको देखिनु विडम्बनापूर्ण छ । यी नेताहरूका पालामा जे–जति नराम्रा कामहरू भए, भ्रष्टाचार र कुशासनका शृङ्खलाहरू चले, ती सबैका विरुद्ध नागरिक समाज र सञ्चारमाध्यमले निरन्तर खबरदारी र सुझाव नदिएका होइनन् ।

पत्रपत्रिकाका पानाहरू उनीहरूका गल्ती औँल्याउँदै भरिए, सडकमा नागरिकका गुनासाहरू गुन्जिए, तर सत्ताको कुर्सीमा बसेपछि सुन्ने शक्ति हराउने रोग यी नेताहरूमा पनि सङ्क्रामकरूपमै देखियो । अहिले तीमध्ये कतिपय नेताहरू शक्तिहीन भएर पाखा लागेका छन् र पश्चात्तापको भावमा आफ्ना विगतका गल्तीहरू सम्झँदै बसिरहेका छन्, जुन सत्ताको उन्मादले दिने अनिवार्य उपहार हो । जनताको नाममा राजनीति गर्नेहरूले जब सत्तालाई आफ्नो पेवा ठान्छन् र सुझावहरूलाई तिरस्कार गर्छन्, तब उनीहरूको हबिगत पनि इतिहासका तिनै अहङ्कारी शासकहरूको जस्तै हुन्छ ।

सत्ता प्राप्तिको होडबाजीमा सिद्धान्त र निष्ठालाई तिलाञ्जलि दिनु आधुनिक नेपाली राजनीतिको अर्को कुरुप पाटो हो । हिजो व्यवस्था परिवर्तनका लागि ज्यानको बाजी लगाउनेहरू सत्ताको चास्नीमा डुबेपछि जनताको दुःखलाई एउटा तथ्याङ्क मात्र ठाने । स्वास्थ्य, शिक्षा र रोजगारजस्ता आधारभूत आवश्यकताका लागि नागरिकहरू भौँतारिरहँदा शासकहरू भने आफ्नै गुट र निकटका मानिसहरूलाई पोस्न व्यस्त देखिए । भ्रष्टाचारका ठूला–ठूला काण्डहरू सार्वजनिक हुँदा पनि लज्जाबोध हुनुको साटो सत्ताको आडमा त्यसलाई ढाकछोप गर्ने र उल्टोे जनतालाई सदाचारका अर्ति–उपदेश दिने काम भइरहे । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने नै भयो ।

नयाँमा जे कुरा पनि राम्रो देखिन्छ । अहिलेको सरकारले पनि सबै राम्रा काम मात्रै गर्छ र पुरानो प्रवृत्तिबाट मुक्त छ भन्ने भ्रम पाल्नु शायद हतारो हुन सक्छ । नयाँ अनुहार र नयाँ नाराका साथ आएकाहरूमा पनि सत्ताको स्वाद चाखिसकेपछि उही पुरानो अहङ्कारी स्वभाव र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति नदेखिएला भन्न सकिने ठोस आधारहरू फेला पर्न गाह्रो छ । सत्ता आफैँमा एउटा यस्तो चरित्र हो, जसले जोसुकैलाई पनि बिस्तारै आफ्नो रङ्गमा ढाल्ने प्रयत्न गर्छ र जनअपेक्षाभन्दा स्वार्थको राजनीतिमा केन्द्रित गराउँछ ।

इतिहास साक्षी छ, कतिपय क्रान्तिकारीहरू सत्तामा पुगेपछि झन् ठूला तानाशाह बनेका छन् । त्यसैले, नयाँ पात्रहरूले पुरानाका गल्तीलाई नै आफ्नो मार्गचित्र बनाउने हुन् कि भन्ने संशय पनि नागरिकस्तरमा व्याप्त छ । यदि अहिलेको सरकारले पनि विगतका शासकहरूका गल्तीबाट पाठ सिक्दैन र नागरिकको आवाजलाई सम्मान गर्दैन भने, यसको परिणाम पनि पुरानै शक्तिहरूको भन्दा फरक हुने छैन । आशा गरौँ, यो सरकार इतिहासकै नमुना सरकार होस् । हरेक कामहरू छिटो निर्णय होऊन् तर धेरै सोचेर गरिएको होस् ।

निष्कर्षमा भन्नुपर्दा, सत्ता र शक्तिको स्वभाव नै जन्मजात अहङ्कारी र आत्मकेन्द्रित हुने भएकाले यसलाई सन्तुलनमा राख्न निरन्तरको नागरिक खबरदारी र नैतिक धरातलको आवश्यकता पर्दछ । इतिहासले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ नै यही हो कि सत्ता सधैँ अस्थिर हुन्छ, तर त्यसको उन्मादमा गरिएका निर्णयहरूले युगौँसम्म समाजलाई असर गरिरहन्छन् । शासकहरू आउँछन् र जान्छन्, तर जनता र राष्ट्रको अस्तित्व स्थायी हुन्छ । तसर्थ, सत्तामा बस्नेहरूले विगतका शासकहरूको हबिगत र अहङ्कारले निम्त्याएको विनाशलाई ऐनाको रूपमा हेर्नु जरुरी छ । सत्ताको नशामा लठ्ठिएर जनमतलाई लत्याउनेहरू ढिलो वा चाँडो इतिहासको विस्मृतिमा हराउँछन् । लोकतन्त्रको सुदृढीकरणका लागि शासकहरूमा विनम्रता, जवाफदेहिता र त्यागको भावना हुनु अपरिहार्य छ, अन्यथा यो केवल एउटा शासन परिवर्तनको चक्र मात्र साबित हुनेछ । सत्ताको अहङ्कार एउटा यस्तो महारोग हो, जसको उपचार केवल नागरिक सचेतना र शासकको आत्मबोधमा मात्र निहित छ ।