फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री: म आफैं ठगिएँ, कानुनी उपचारमा जान्छु


काठमाडौँ।

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ आफैं ठगिएको तथ्य सार्वजनिक भएको छ। भ्रष्टाचार र ठगीविरुद्ध कडा अभियान चलाइरहेका मन्त्री गुरुङले पोखरामा व्यवसाय सञ्चालनका लागि लिएको जग्गा नै अतिक्रमण क्षेत्रमा परेको खुलेपछि उक्त अवस्था बाहिर आएको हो।

सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउने अभियान चलिरहेकै बेला करिब ८–१० वर्षअघि लिजमा लिएको जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने जानकारी पाएपछि मन्त्री गुरुङ ठगिएको निष्कर्षमा पुगेका हुन्।

युवा उद्यमीका रूपमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले मन्त्री गुरुङसहित तीन जना साझेदारले उक्त जग्गा भाडामा लिएका थिए। तर जग्गाधनीले सो जग्गा मापदण्ड बाहिर रहेको र लालपुर्जा सुरक्षित रहेको भन्दै झुक्याएर सम्झौता गराएको मन्त्री गुरुङको भनाइ छ।

पछि महानगरपालिकाबाट बुझ्दा उक्त जग्गा अतिक्रमित क्षेत्रमा पर्ने पुष्टि भएपछि उनले नैतिकताका आधारमा लगानी तथा निर्माण कार्य रोकेको बताएका छन्।

आफ्नो लगानी र योजनामाथि ठगी भएको भन्दै मन्त्री गुरुङले अब कानुनी उपचार खोज्ने स्पष्ट पारेका छन्। आफूहरूमाथि भएको अन्यायविरुद्ध कानुनी प्रक्रियामार्फत अघि बढ्ने उनको दृढता छ।