नेपालीकै प्रयासमा नेपालको भविष्य कोर्ने दिन

1.03k
Shares

जति–जति निर्वाचनको मिति नजिकिँदै गरेको छ, त्यति नै मात्रामा राजनीतिक दलका नेताहरूको अभिव्यक्ति आक्रामक र भ्रमपूर्णरुपमा प्रवाह हुन थालिरहेको छ । मतदातालाई के भनेर आफूप्रति आकर्षित गर्ने र के भनेर अरूप्रति नकारात्मक भाव पैदा गराउने भन्ने अभियानमा प्रायः उम्मेदवार अनि तिनका समर्थकहरू लागिपरिरहेका देखिन्छन् । जो कोही किन नहुन्, आफूले आफूलाई राष्ट्रवादी र अरू सबै विदेशी शक्तिबाट परिचालित गोटी हुन् भनेर लान्छना लगाउन र भ्रम फैलाउन मुढेबल प्रयोग गरिरहेका देखिन्छन् ।

अधिकांश राजनीतिक दलहरूले आ–आफ्नो तर्पmबाट घोषणापत्र वा बाचापत्रहरू सार्वजनिक गरिरहेका छन् । तर पनि उम्मेदवारहरू आफूलाई कसरी उत्कृष्ट प्रमाणित गर्ने होला भन्नेमा भन्दा पनि अरूलाई कसरी कमजोर देखाउने भन्ने उद्देश्यले षड्यन्त्रका तानाबाना बुनिरहेका छन् । यसपालिको निर्वाचनमा भ्रम र अफवाहहरू फैलाउनको लागि महत्वपूर्ण माध्यम सामाजिक सञ्जाललाई बनाइएको देखिन्छ । सामाजिक सञ्जालको भरमा नागरिकबाट आफ्ना उम्मेदवारको परीक्षण गर्ने निर्णय गरियो भने मुलुकको लागि आवश्यक पर्ने सही नेतृत्व नपाउन पनि सकिन्छ । तसर्थ फागुन २१ गतेको निर्वाचन राजनीतिक दलका उम्मेदवारहरूको मात्र परीक्षा होइन, आम मतदाताको अग्निपरीक्षासमेत हुनेछ ।

विडम्बना नै मान्नुपर्छ, नेपाली राजनीतिमा आफू अनुकूल कुनै कुरा भएन कि त त्यसलाई विदेशी प्रभाव वा हस्तक्षेपसँग जोड्ने संस्कार बनाइएको छ । जुन दलको आफ्नो राष्ट्रिय चिन्तन छैन, जसले आफ्ना राजनीतिक उद्देश्य नै विदेशीहरूले बनाएका नीतिअनुसार चलाउने गर्दछन्, उनीहरूले समेत अरूलाई विदेशीको इशारामा चल्ने शक्ति भनेर आलोचना गरिरहेका हुन्छन् । विदेशीले बनाएका नीति र सिद्धान्तलाई घृणा गर्नुपर्छ भन्ने पनि छैन ।

आज हामीले जे–जति विज्ञानका सुविधाहरू उपभोग गरिरहेका छौं, ती हामीले आविष्कार गरेका पक्कै होइनौं, विदेशी वैज्ञानिकहरूकै बुद्धिको अनुशरण गरिरहेका छौं । बाहिरको कुनै विचार र वस्तु प्रयोग गर्नु सामान्य कुरा हो । हाम्रा प्रमुख पाठ्यपुस्तकहरूको स्रोत नै विदेश हो भने यो विषयमा आलोचना र टिप्पणी गरिरहनुपर्ने आवश्यक देखिँदैन । टिप्पणी नै गर्ने हो भने धर्मनिरपेक्ष र गणतन्त्रको खाका नै नेपालको मौलिक होइन, के अब हामी पछाडि फर्कर्ने ? बाहिरको जे राम्रो छ, त्यसको अनुशरण गर्नु र भित्रको विकृतिहरू त्याग्नु नै सही मानेमा बुद्धिमानी कार्य हो । तर हामी यसैलाई राजनीतिको हतियार बनाएर विपक्षीलाई देशी र विदेशीको ट्याग लगाउन उद्यत् भइरहेका हुन्छौं ।

पक्कै पनि निर्वाचन भनेको जनताले आफ्नो भाग्य र भविष्य कोर्ने महत्वपूर्ण अवसर हो । निर्वाचनमा मतदान गर्नु जनताको कर्तव्य पनि हो । निर्वाचनमा मतदान गर्न चुक्यौं भने हाम्रो भविष्य पनि चुक्नेछ । निर्वाचन प्रजातन्त्रको इन्जिन हो । इन्जिनमा लापरबाही गरियो भने जसरी मोटरगाडी बिग्रन्छ त्यसै गरी निर्वाचनमा मतदाताले लापरबाही गरे भने जनताको मात्र होइन मुलुककै भविष्य जोखिममा पर्छ ।

तसर्थ मतदान कुनै लहड होइन, यो विवेकको परीक्षा पनि हो । हामीले मतदान गर्दा कसैको अनुहार हेरेर होइन, कोही कसैको नातागोता हेरेर होइन, कसैको कुरा सुनेर होइन, आफ्नो विवेकको प्रयोग गरेर मतदान गर्नुपर्दछ । हामीले हाम्रो मतलाई बिकाउको वस्तु ठान्नुहुँदैन, यसलाई मुलुक टिकाउनको माध्यम बनाउनुपर्छ । हामीले जब विवेक पु¥याएर मतदान गर्छौं, त्यसबाट हामीले हाम्रो सार्वभौम अधिकारको रक्षा गर्न सक्छौं । आफू सार्वभौम नागरिक हौं कि बाधाबन्धक हौं, निर्वाचनको बेलामा हामीले प्रयोग गर्ने विवेकले नै निर्धारण गर्ने गर्दछ ।

फागुन २१ गते हुने निर्वाचनमा नयाँ–पुराना धेरै दलहरूले जनतासँग भोटको अपेक्षा गरिरहेका छन् । बजारमा हरेक व्यापारीले आफ्नो सामानलाई सक्कली भनिरहेका हुन्छन्, उसले आफ्नो सामानप्रति ग्राहकको आकर्षण बढाउन विभिन्न माध्यमले विज्ञापन गरिरहेको हुन्छ । सबै सामान विज्ञापनमा प्रचार गरिएझैँ नहुन पनि सक्छ भनेझैँ आज राजनीतिक दलहरूले जनताको विश्वास जित्नको लागि घोषणापत्र वा बाचापत्रहरू जनताको घरदैलोमा ल्याइरहेका छन् ।

ती घोषणापत्र वा बाचापत्रमा लेखिएका कैयौँ कुरा जनतालाई आश्वस्त पार्न वा अलमलमा पार्न वा भ्रममा पार्न पनि प्रस्तुत गरिरहेका छन् । तसर्थ एउटा ग्राहकले जसरी विज्ञापनको औचित्य र सामानको यथार्थता बुझेर कुन सामान खरिद गर्ने भनेर निर्णय गर्दछ त्योभन्दा गम्भीर चिन्तन गरेर जनताले मतदान गर्नुपर्ने हुन्छ । आज नयाँ र पुराना दलहरू भन्ने हावा फैलाइएको छ । पक्कै पनि पुराना दलहरूसँग इतिहास छ ।

इतिहास छ भनेर नै त्यसकै पछि लाग्नु वा नयाँ दलले के गर्छन् हेरुँ न त भनेर मतदान दिने होइन । मतदान गर्नुअघि कसको घोषणापत्र कस्तो छ ? ती घोषणापत्रमा लेखिएका कुरा पालना गर्न सक्ने क्षमता उनीहरूमा कत्तिको छ ? हिजो उनीहरूले बाचा गरेका कुराहरू कति पूरा गरे वा गरेनन् भन्ने अध्ययन गर्नुका साथै उम्मेदवारको चरित्रसमेतको विश्लेषण गरेर मतदान गर्नुपर्ने हुन्छ । दलका कार्यकर्तालाई आफ्ना नेताले भनेका कुरामा आँखा चिम्लेर विश्वास गर्ने छुट छ तर आम नागरिकमा विवेकको नै प्रयोग गर्नुपर्ने जिम्मेवारी छ । तसर्थ यो मुलुकको भविष्य कता लाने भन्ने जिम्मेवारी स्वतन्त्र सार्वभौम नेपाली जनताको विवेकमा अडिएको छ ।

कैयौँको धारणा सुनिन्छ, ‘नेपालमा प्रजातन्त्र, गणतन्त्र वा परिवर्तन हामीले ल्याएका हौं, तसर्थ हामीलाई नै जिम्मेवारी दिनुपर्दछ ।’ हुन त हिजो कसैले केही गरेका थिए भने त्यसको थुप्रै ब्याजसहितको सावाँ पनि असुलिसकेका होलान् । त्यसतर्फ पनि विचार गर्नुपर्ने हुन्छ । कतिले आफूले असुलेका ब्याज मुलुककै हितमा खर्च गरेका पनि छन्, तिनीहरूको सम्मान गर्नु पनि पर्दछ । यस्ता कुराको हिसाबकिताब मतदाताले राम्रोसँग राखेका हुन्छन् ।

बदलिँदो परिस्थितिसँगै जेनजी आन्दोलनको भावनालाई समेत सम्मान गर्न सक्ने सक्षम र इमानदार नेतृत्वको आवश्यकता देखिएको छ । जेनजी भावनाको कसले सम्मान गर्दछ ? त्यसतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । जेनजी आन्दोलन भाद्र २३ र २४ गते घटेको घटना मात्र होइन, त्यो आन्दोलनभन्दा धेरै अघिदेखि नेपाली जनताले राज्यबाट राखेको अपेक्षा र गरेको चाहना पनि हो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र आए पनि जनताको भावनाको सम्मान हुने गरी कसैले कार्य गर्न सकेको देखिएन ।

कार्य गर्न नसक्नु एउटा पाटो होला तर जनभावनालाई तहसनहज पार्नु गम्भीर भूल थियो । आम नेपालीको चाहना भ्रष्टाचारको पूर्ण नियन्त्रण गरी मुलुकमा सुशासन बहाली गरेर मूलुकलाई समृद्धिको मार्गमा लगिदिए हुन्थ्यो भन्ने थियो । भोलि जसले यो कार्य गर्न सक्छ, विश्लेषण गरी सही नेतृत्व छान्नु नेपालीको अग्निपरीक्षा बनेको छ निर्वाचनको सन्दर्भ ।

निर्वाचनमा उमेर गौण विषय हो । उम्मेदवारको चरित्र र क्षमता विशेष कुरा हो । बूढोले जित्नै नहुने र युवामा अनुभव नै छैन भन्ने खालका दुवै तर्क सान्दर्भिक छैनन् । बूढामा पनि युवा जोश हुन सक्छ, युवामा पनि बौद्धिक सिथिलता हुन सक्छ । हामी यता पनि अलमलिने होइन । आज मुलुकले परिवर्तन खोजेको छ ।

परिवर्तनकै लागि दुई वर्षअघि नै संसद्को निर्वाचन हुन गइरहेको छ । हुन त परिवर्तन भनेको राजनीतिक दलको परिवर्तन पक्कै होइन होला, राजनीतिक दलमा भएका नेताहरूको सोचमा परिवर्तन खोजिएको हो । जेनजी आन्दोलनपछि पुराना दलका केही नेताहरूमा पक्कै परिवर्तन आउँदै गरेको पनि देखिएको छ । यो परिवर्तनको सन्देश उनीहरूले जनताको दिमागमा कसरी पु¥याउन सक्षम हुन्छन् ? त्यसले निर्वाचनमा पक्कै परिणाम देखाउनेछ ।

पुरानो शक्तिबाट आजित भएकाहरू नयाँ शक्तिमा विकल्प खोजिरहेका छन् । यहाँ हामीले स्वीकार्नै पर्दछ कि नयाँ व्यक्ति आउँदैमा परिवर्तन हुन्छ नै भन्ने होइन । तर पुरानाले विश्वास गुमाएको बेलामा नयाँलाई सहज भने अवश्य हुन्छ । किनकि ऊ परीक्षण भइसकेको हुँदैन । आज कोही लोकप्रिय भएकोमा कसैलाई औडाहा भएको पनि देखिन्छ । जनताले कसैलाई विश्वास गर्छन्, ऊ जनतामाझ लोकप्रिय हुन्छ भने त्यसको सम्मान गर्नुपर्छ ।

औडाहा भएकाहरूले पनि राम्रो व्यवहार देखाए उनीहरू पनि जनताका माझ प्रिय भइहाल्छन नि । आजसम्म जतिपटक निर्वाचन भयो र जसले विजय हासिल गरे, ती सबै लोकप्रिय भएर नै निर्वाचनमा जितेका हुन् । अलोकप्रियले त निर्वाचनमा जमानत पनि जोगाउन सक्दैन भन्ने साधारण तथ्यलाई समेत हामीले बुझिरहेका छैनौं जस्तो छ । आज लोकप्रिय भएकाहरूले भोलि जनभावनाअनुसार कार्य गर्न सकेनन् भने उनीहरू पनि क्रमशः जनताको मनबाट टाढिँदै जान्छन् भन्ने तथ्य स्वीकार्नै पर्ने हुन्छ ।

जे होस्, निर्वाचनमार्फत हामीले हाम्रो अवस्था परिवर्तन गर्नुपर्छ । लहैलहैमा व्यवस्था परिवर्तन धेरै गरियो । यसको लागि सही नेतृत्व मात्र होइन, संविधान संशोधन गर्न सक्ने आधार पनि सुनिश्चित गरिदिनुपर्ने भएको छ । आज संविधान संशोधन अपरिहार्य भइसकेको छ । वर्तमान संविधानको केही व्यवस्थाहरूका कारणले मुलुकमा स्थायित्व प्रदान गर्न सक्दैन भन्ने देखिएको छ । तसर्थ संविधानलाई कुनरुपमा संशोधन गर्नुपर्छ भन्ने दलका कुन खाले धारणाहरू आउँछन् ?

त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ । यसपटकको निर्वाचनमा जनताले जनताको भावनालाई सम्मान गर्ने, मुलुकको भविष्यलाई सुनिश्चित गर्ने कुनै एक दललाई बहुमत नै प्रदान गर्ने गरेर मतदान गर्नुपर्दछ । निर्वाचनपछि मिलिजुली सरकार बनाउनुपर्ने अवस्था दोहोरियो भने त्यसले कुनै निकास दिँदैन । जनता फेरि निराश हुनुपर्ने हुन्छ, तसर्थ विवेक पु¥याएर मतदान गर्नु जनताको जिम्मेवारी बनेको छ ।

कुनै नेताले हिजो बारम्बार जनतालाई धोखा दिएका थिए र आज कुनै मुकुण्डो ओढेर जनताका सामु आएका छन् भने तिनलाई कुनै पनि हालतमा मतदान गर्नुहुँदैन । जाली, फटाहा र स्वार्थी जो भए पनि परास्त गर्नुपर्छ । सक्षम, इमानदारलाई जसरी भए पनि जिताउने लक्ष्य राख्नुपर्छ । पक्कै निर्वाचनमा मुकुण्डो भिरेर कैयौँ व्यक्ति हाम्रो घर–आँगनमा मत माग्न आएका छन् र फेरि आउनेछन् । तिनको पहिचान हामीले गर्न सकेनौं भने हामी फेरि फस्नेछौं । अबको निर्वाचनमा जनता फेरि फस्नु भनेको मुलुकको भविष्य नै फस्नु हो । तसर्थ सचेत मतदाताको भूमिका हामीले निर्वाह गर्न सक्नुपर्छ । फागुन २१ गते नेपाली जनताको अग्निपरीक्षाको घडी हो, तसर्थ विवेकको प्रयोग गरौं, आत्मसम्मान जोगाऔं ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)