पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली भूभागमा सामान्य बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्नेछ।

आज राति कोशी र बागमती प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा तुवाँलो रहने जनाइएको छ।