काठमाडौँ ।
नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस–२०८२ विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजित विशेष समारोहमा मुलुकका उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको शुभारम्भमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार अर्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे। सो अवसरमा राष्ट्रपतिले नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही–२०८२’ विमोचन गर्नुका साथै विभिन्न खेल तथा प्रतिस्पर्धामा उत्कृष्ट हुने सैनिकहरूलाई पुरस्कार प्रदान गरे।

कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा राष्ट्रिय झण्डासहित ब्यानर प्रदर्शन गरिएको थियो। सैनिक टोलीले राइफल तथा तोपबाट बढाइँ गर्दै अनुशासित मार्चपास प्रस्तुत गरेका थिए। साथै, विभिन्न सांस्कृतिक झाँकी, सैनिक कला र व्यावसायिक प्रदर्शनले समारोहलाई आकर्षक बनाएको थियो। कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीले समेत सांगीतिक प्रस्तुति दिएका थिए।

प्रधानसेनापतिले सुरक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने गैर–सैनिक व्यक्तित्वहरूलाई प्रशंसा–पत्र तथा कदर प्रदान गरे। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानसेनापतिहरू, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, विशिष्ट पदाधिकारी, राजदूतहरू, बहालवाला तथा अवकाशप्राप्त सैनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।

महाशिवरात्रि तथा सेना दिवसको अवसरले नेपाली सेनाको व्यावसायिक दक्षता, राष्ट्रिय एकताप्रति प्रतिबद्धता र नागरिक–सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।














प्रतिक्रिया