युवाहरूको भावना अनुरूपको नीति निर्माण र सुशासन कायम गर्नका लागी मेरो उम्मेदवारी हो– प्रतिनिधिसभा उम्मेदवार लुइँटेल  

3.76k
Shares

ओखलढुङ्गा ।

 प्रतिनिधि सभा निर्वाचनका लागी ओखलढुङ्गाबाट नेपाली  काँग्रेसका उम्मेदवार कुमार लुइँटेलले आसन्न निर्वाचनबाट आफू निर्वाचित हुने ठोकुवा गरेका छन्  । उम्मेदवार लुइँटेलले नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुङ्गाले सोमबार बिहान आयोजना गरेको पत्रकारसँग उम्मेदवारको भेटघाट कार्यक्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका हुन् । 

बीपी  स्मृति भवन ओखलढुङ्गामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा लुइँटेलले काँग्रेस रूपान्तरणसहित चुनावी मैदानमा होमिएकोमा आसन्न निर्वाचनमा आफू जित तर्फ उन्मुख रहेको बताए । आफू निर्वाचित भए पछि समग्र युवाहरूको भावना अनुरूपको नीति निर्माणमा जोड दिने उनको भनाई रहेको छ । उम्मेदवार लुइँटेलले भने “विकास निर्माणको काम आवश्यकताको आधारमा निरन्तर चलिरहने प्रकृया हो त्यो पनि रोकिन्न तर समग्र देश विकासका लागी नीति निर्माणमा ध्यान दिनु पर्ने भएकाले मुलुक सुहाउँदो नीति निर्माणमा मेरो जोड रहनेछ” । 

हाल कार्यन्वयनमा रहेका कतिपय नीति नियमहरू समय अनुकुल नरहेको र कतिपय नीतिनियमहरू निर्माण नभएका कारण देश विकासमा बाधा भएका कारण समग्र मुलुकको उन्नतिका लागी  नीति निर्माण तथा परिमार्जनमा आफ्नो जोड रहेको नेता लुइँटेलकी भनाई रहेको छ । मुलुकको विकासका लागी तत्कालका लागी भ्रष्टाचार निक्कै ठुलो बाधा रहेकाले शुसासनमुखी मुलुक निर्माणका लागी कानुन निर्माणमा आफ्नो भूमिका रहने नेता लुइँटेलले स्पष्ट पारे । 

यसैगरी  नेपाली  काँग्रेसका समानुपातिक उम्मेदवार खिलानाथ दाहालले नेपालमा ठूला ठूला परिवर्तन नेपाली काङ्ग्रेसको नेतृत्वमा भएकाले आम नागरिकले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फ नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नु पर्ने बताए । नेता दाहालले २००७ को क्रान्ति देखी पञ्चायती ब्यवस्था बिरुद्धको आन्दोलन समेत नेपाली कांग्रेसको नेतृत्वमा भएको स्मरण गर्दै २०८२ सालको युवा पुस्ताको आन्दोलन पश्चात काङ्ग्रेसमा युवाहरूको भावना अनुसारको मुद्दा समेटेर जाने प्रण गरेकाले युवा पुस्ता समेतको काङ्ग्रेसमा आकर्षण भएको बताए । 

नेपाली काँग्रेससँग ८० वर्ष हाराहारी लोकतन्त्रको पक्षमा काम गरेको लामो अनुभव रहेको र मुलुकको संविधान समेत  कांग्रेसको नेतृत्वमा जारी भएकाले आम नागरिकहरूले उत्साह पूर्वक तरिकाले नेपाल कांग्रेसलाई मतदान गर्न उनले आव्हान गरे ।

 पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भएका पत्रकारहरूलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसकै अर्का समानुपातिक उम्मेदवार गोमा के सीले नेपाली काङ्ग्रेस मुलुककै एक मात्रै समावेशी तथा लोकतान्त्रिक पार्टी रहेकोले देशै भरि काङ्ग्रेसको जनलहर बढेको  बताइन ।