काठमाडौं ।
विमानस्थल तथा हवाई मार्ग आसपास उडान सुरक्षामा बाधा पुग्ने अग्ला भवन, टावर, रुखलगायतका संरचना हटाउन नेपाल हवाई सेवा प्राधिकरणलाई अधिकार दिने प्रस्ताव गरिएको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा तोकिएको मापदण्डभन्दा बढी उचाइका संरचना निर्माणमा प्रतिबन्ध लगाउने तथा निर्माण भइसकेका संरचना भत्काउन वा रुख काट्न सरकारसमक्ष अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ।
मापदण्डविपरीत निर्माण भएका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नै खर्चमा तोकिएको समयभित्र हटाउनुपर्नेछ। तोकिएको अवधिमा नहटाए प्राधिकरणले आफैं हटाएर लागेको खर्च सम्बन्धित पक्षबाट असुल गर्न सक्ने व्यवस्था विधेयकमा छ।
यस्तै, उडान सुरक्षामा गम्भीर जोखिम देखिएमा प्राधिकरणका अख्तियारप्राप्त अधिकारीले सुरक्षा निकाय र स्थानीय प्रतिनिधिको रोहवरमा निजी घरजग्गामा प्रवेश गर्न सक्ने प्रस्ताव गरिएको छ। हवाई दुर्घटना रोक्न वा उपकरणको आपत्कालीन मर्मत गर्नुपर्ने अवस्थामा भने पूर्वसूचनाबिनै जुनसुकै समयमा निजी घर वा जग्गामा प्रवेश गर्न सक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ।











प्रतिक्रिया