काठमाडौं ।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। सो क्रममा उनीहरुले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज गर्नुका साथै धाकधम्की र हातपात गरेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाटै तीनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि ‘अभद्र व्यवहार गर्न नहुने कसूर’ अन्तर्गत अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया