उदयपुर ।
त्रियुगा नगरपालिकाको सवै वडामा पुस्ताकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र नेपाल लाइब्रेरी फाउन्डेसन विच सम्झौता भएको छ ।
त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुलाई पठन संस्कृतिको विकास गर्न र मानिसमा पुस्तक पढ्ने बानी बसाउन पुस्तकालयको स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगत र नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठ विच सम्झौता भएको छ ।
त्रियुगा नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बालमैत्री, बालबालिकाको ज्ञानमा पहुँच, पठन संस्कृतिको विकास, विद्यालय पुस्तकालयलाई सिकाइको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धताका साथ सहकार्य गर्ने गरी द्विपक्षीय सम्झौता भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।
दुवै संस्थाको अगुवाइमा त्रियुगा नगरपालिका अन्तर्गतका १६ वटै वडाका सामुदायिक विद्यालयहरूको अवलोकन भ्रमण गरी विद्यालयमा पुस्तकालय भए नभएको तथा पुस्तकालयको वर्तमान अवस्थाको यथार्थ पहिचान गरिने सम्झौतामा उल्लेख छ । सम्झौतामा पुस्तकालय नभएका विद्यालयमा सम्बन्धित विद्यालयको समेत सहभागिता र सहकार्यमा बालपुस्तकालय स्थापना गरिने उल्लेख छ ।
पुस्तकालय भएको तर पूर्ण नभएको, अव्यवस्थित वा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विद्यालयमा सम्बन्धित विद्यालयको समेत सहभागितामा पूर्ण रुपमा व्यवस्थित तथा बालमैत्री पुस्तकालयको विकास तथा आधुनिकीकरण गरिने सम्झौतामा उल्लेख छ ।
पुस्तकालय स्थापना तथा पुनःआधुनिकीकरणका लागि सम्बन्धित विद्यालयको सहभागितामा उपयुक्त कोठा छनोट गरी आवश्यकता अनुसार रङ्ग रोगन, विद्युतीय वायरिङ, फर्निसिङ तथा अन्य आवश्यक भौतिक व्यवस्थापन गरिने सम्झौतामा उल्लेख छ ।
विद्यालय पुस्तकालय परियोजनाको विस्तृत लागत अनुमान तयार गर्ने तथा सोही लागत अनुमान अनुसार आवश्यक स्रोत–साधन जुटाउने
कार्यमा दुवै पक्षको समान तथा सक्रिय भूमिका रहने सम्झौतामा उल्लेख छ ।
यस परियोजनामा सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था, व्यवसायी, दाता तथा अन्य सरोकारवालाहरूलाई परियोजनामा सहभागी गराउन सहकार्यको ढोका खुला राखिनेछ ।
जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरले परियोजनाको प्रारम्भिक स्रोत व्यवस्थापनका लागि उदयपुर जिल्लास्थित उद्योगी, व्यवसायी, संघ–संस्था तथा सम्पूर्ण सरोकारवालासँग आवश्यक समन्वय र सहजीकरण गर्ने भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।
नेपाल लाइब्रेरी फाउण्डेसनले व्यवस्थित तथा बालमैत्री पुस्तकालयको स्थापना र आधुनिकीकरणका लागि पुस्तकालय व्यवस्थापन सम्बन्धी आवश्यक प्राविधिक तथा संयोजनकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।
पुस्तकालय स्थापना तथा आधुनिकीकरण कार्य सम्पन्न भएपछि दुवै संस्थाको पहिचान खुल्ने गरी संयुक्त सहकार्य झल्कने बोर्ड÷साइनबोर्ड राखिने सम्झौतामा उल्लेख छ ।
प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना वा आधुनिकीकरणका लागि सम्बन्धित विद्यालय तथा अन्य सरोकारवालासँग आवश्यकतानुसार छुट्टै समझदारी–पत्र÷सम्झौता गरिने उल्लेख छ ।
सम्झौता १ वर्ष कायम रहने र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले जानकारी दिए ।











प्रतिक्रिया