नुवाकोटका बाढीपीडितलाई इजरायलको दोस्रो चरणको राहत

त्रिशूली–२ का प्रभावित परिवारलाई अत्यावश्यक सामग्री हस्तान्तरण, पुनःस्थापनासम्म सहयोग जारी राख्ने प्रतिबद्धता


काठमाडौं

इजरायलले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि आपत्कालीन मानवीय सहायता जारी राखेको छ । काठमाडौंस्थित इजरायली दूतावासले विदुर नगरपालिका-२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई शुक्रबार दोस्रो पटक आपत्कालीन गो-ब्यागसहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ।

दूतावासकी चार्ज डे अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले विपत्तिमा परेको समुदायलाई तत्काल राहतसँगै पुनःस्थापना र पुनःप्राप्तिको चरणसम्म सहयोग आवश्यक रहेको जिकीर गर्दै भनिन्- ‘सबै पीडा हटाउन नसके पनि हामी एकअर्कासँग उभिन, सहयोग गर्न र कोही पनि एक्लो छैन भन्ने अनुभूति दिलाउन सक्छौँ।’  बेबारले त्रिशूली भ्रमणपछि बाढीबाट भएको पीडा गहिरो भए पनि प्रभावित समुदायमा देखिएको मानवीय शक्ति र एकता उल्लेखनीय रहेको बताइन्।

इजरायली दूतावासका अनुसार नुवाकोटमा गरिएको सहायता उसको बाढीपीडितका लागि सञ्चालन गरिएको दोस्रो चरणको राहत हो । यसअघि दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित समुदायलाई आपत्कालीन सहायता उपलब्ध गराएको थियो ।

दूतावासले नेपाली सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको अवस्था र आवश्यकताको निरन्तर मूल्यांकन गरिरहेको जनाएको छ । राहत तथा पुनःप्राप्तिको काम अघि बढ्दै जाँदा पहिचान भएका आवश्यकताका आधारमा सहयोग जारी राख्ने प्रतिबद्धता पनि दूतावासले जनाएको छ ।

राहतबाट पुनःस्थापनातर्फको दबाब

भोटेकोशीमा आएको बाढीले रासुवाबाट नुवाकोट हुँदै त्रिशूली नदी प्रणालीमा ठूलो क्षति पुर्‍याएपछि नुवाकोटका घर, सडक, पुल, विद्यालय तथा अन्य संरचना प्रभावित भएका छन् । नेपाल सरकारले १० सेप्टेम्बरसम्मको स्थितिमा बाढीबाट रासुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा खोज तथा उद्धार जारी रहेको जनाएको छ । 

विदुर नगरपालिकाले बाढीका कारण घर बस्न नमिल्ने भएका परिवारलाई वैकल्पिक आवासका लागि प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा सहयोग गर्ने तथा खाद्यान्न, भान्साका सामग्री र सरसफाइका सामग्री उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ । 

बाढीपछि विदुरका विद्यालयसमेत प्रभावित भएका थिए । नगरपालिकाका अनुसार ७९ विद्यालयमध्ये बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त वा विस्थापितलाई राख्न प्रयोग भइरहेका विद्यालयबाहेक अधिकांश विद्यालयमा पठनपाठन पुनःसञ्चालन गर्ने तयारी गरिएको थियो । नुवाकोटमा राहतको तत्काल आवश्यकता कायम रहे पनि क्षतिग्रस्त घर, विद्यालय, सडक र पुलको पुनर्निर्माण तथा सुरक्षित स्थानमा पुनःस्थापना अबको प्रमुख चुनौती बनेको छ । यही कारण प्रभावित क्षेत्रमा पुग्ने अन्तर्राष्ट्रिय सहयोग तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन पुनःस्थापनासँग जोड्नुपर्ने आवश्यकता देखिएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार भारत, चीन, अमेरिका, जापान, बेलायत, दक्षिण कोरिया, इजरायललगायतका देश तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकसहित विभिन्न अन्तर्राष्ट्रिय साझेदारले बाढीपछिको उद्धार तथा राहतमा सहयोग गरेका छन् ।