काठमाडौं।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न विषम परिस्थितिको मौका छोपेर हुनसक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको छ।
बाढीका कारण सुरक्षा निकाय उद्धार, खोजी तथा राहत वितरणमा केन्द्रित भइरहेका बेला प्रभावित क्षेत्र र विस्थापित बस्तीमा आपराधिक गतिविधि हुनसक्ने जोखिम बढेपछि प्रहरीले सूचना संकलन, गस्ती, निगरानी तथा सामाजिक सञ्जाल अनुगमनलाई तीव्र बनाएको हो।
विपद्का कारण मानिसहरू सुरक्षित स्थानमा स्थानान्तरण हुने, घर तथा व्यवसायिक प्रतिष्ठानहरू खाली हुने र कतिपय क्षेत्रमा सुरक्षा उपस्थिति कम हुनसक्ने अवस्थालाई आपराधिक समूहले दुरुपयोग गर्न सक्ने प्रहरीको आकलन छ।
यसबीच धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले सेफभित्र रहेको रकम चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
त्यस्तै, बाढी तथा विपद्को नाममा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी बढाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै च्याटजीपीटीको प्रयोगबाट नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्।
यसैगरी, बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीला चोकका २५ वर्षीय मदन गुरुङसहित दुई जनालाई प्रहरीले भदौ ११ गते पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार विपद्का बेला राहत तथा सहयोगका नाममा हुने साइबर ठगी पनि अर्को चुनौतीका रूपमा देखिएको छ। नक्कली राहत अभियान, झुटा बैंक विवरण, फर्जी सहयोग प्रमाणपत्र तथा सामाजिक सञ्जालमार्फत रकम संकलन गर्ने गतिविधि हुनसक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराइरहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को मौका छोपी हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी थप संवेदनशील भएर परिचालन गरिएको बताए।
उनका अनुसार प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षासँगै चोरी, लुटपाट र साइबर ठगी नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। सामाजिक सञ्जालबाट हुने सम्भावित साइबर स्क्यामबारे समेत नागरिकलाई सचेत गराउने काम भइरहेको उनले बताए।
बाढी प्रभावित क्षेत्रमा थप जनधनको क्षति हुन नदिन जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। खाली भएका घर, पसल तथा अन्य संरचनामा चोरी तथा लुटपाट हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले गस्ती र निगरानीसमेत बढाएको छ।
बाढीका कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या देखिएपछि अवरुद्ध सडक खुलाउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समेत प्रहरीले समन्वय गरिरहेको छ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा भेटिने नगद, सुनचाँदी, गरगहना, महत्वपूर्ण कागजात तथा अन्य बहुमूल्य सामग्री आफूसँग नराखी नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
त्यस्तै, चोरी, लुटपाट, ठगी वा अन्य आपराधिक गतिविधि भइरहेको वा हुनसक्ने सूचना प्राप्त भए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा जानकारी गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ।












प्रतिक्रिया