काठमाडौं ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले भोटेकोशी बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठ वटा हेलिकोप्टर परिचालन गरिएको जनाइएको छ। उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने निर्णय परिषद्को बैठकले गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि राज्यसँग उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार उद्धार कार्यलाई सहज बनाउन धुन्चे, त्रिशूलीलगायतका क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णयसमेत गरिएको छ।
आङदेम्बेले विपद्को समयमा राजनीतिक पक्ष–प्रतिपक्षभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए।
“कुन–कुन मन्त्रालयलाई कसरी क्रियाशील बनाउने र आवश्यक रकमको जोहो कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्षभन्दा माथि उठेर हामी सबै जनताको साथमा छौँ,” उनले भने, “हामीसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने निर्णयमा पुगेका छौँ।”
यसैगरी, बाढीबाट घाइते तथा बिरामी भएकाहरूको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको आङदेम्बेले बताए।
भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका टोली उद्धार तथा खोजी कार्यमा परिचालित छन्। उद्धार तथा क्षतिको थप विवरण संकलन भइरहेको छ।














प्रतिक्रिया