सय वर्ष पुरानो पलिया रेलवे स्टेशनलाई स्तरोन्नति गर्न माग, रेलवे लाइन ब्रोडगेजमा विस्तार गर्नुपर्ने सुझाव

0
Shares

लखिमपुर खिरी, भारत, ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्लामा रहेको करिब सय वर्ष पुरानो ऐतिहासिक पलिया रेलवे स्टेशनलाई अत्याधुनिक बनाउन र यस खण्डको छोटी लाइन (नेरो गेज) लाई ठूलो लाइन (ब्रोडगेज) मा विस्तार गर्न नेपाल र भारत दुवै देशका नागरिकहरूले जोडदार माग गरेका छन्। नेपालको धनगढीदेखि करिब ४० किलोमिटर दूरीमा रहेको यो रेलवे स्टेशनबाट पूर्वमा नानपारा, गोण्डा हुँदै गोरखपुर र पश्चिम–दक्षिणमा मैलानी भएर लखनऊ, बरेली तथा हल्द्वानी जोड्ने यो पुरानो रेलवे लाइन समयमै स्तरोन्नति नहुँदा हाल रेलको संख्या निकै न्यून छ, जसले गर्दा सीमावर्ती दुवै देशका बासिन्दाले आवतजावत र मालसामान ढुवानीमा ठूलो सास्ती खेप्नुपरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विकास निर्माणका कामप्रति सकारात्मक रहँदै आएका र उहाँले यसअघि पलिया क्षेत्रको दुई पटक भ्रमणसमेत गरिसक्नुभएकाले यहाँको भौगोलिक तथा यातायात सम्बन्धी समस्याबारे उहाँलाई राम्रोसँग अवगत छ। यसै सन्दर्भलाई जोड्दै पलियाका स्थानीय बासिन्दा र सुदूरपश्चिमका नागरिक अगुवाहरूले सय वर्ष पुरानो पलिया रेलवे स्टेशनको पुनरुत्थान, आधुनिकीकरण र ब्रोडगेज निर्माणका लागि मुख्यमन्त्री योगी आदित्यनाथको विशेष ध्यान जानुपर्ने सुझाव दिएका छन्। उहाँको अग्रसरताले यो महत्त्वपूर्ण पूर्वाधारले छिट्टै मूर्तरूप पाउनेमा दुवै देशका नागरिक आशावादी छन्।

पलिया स्टेशन अत्याधुनिक बन्ने र रेलमार्ग ब्रोडगेजमा परिणत हुने हो भने दुवै देशका लागि ठूलो आर्थिक र सामाजिक राहत पुग्ने देखिन्छ। भारत तथा तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ र उपभोग्य वस्तुको ढुवानी भाडा घट्दा सुदूरपश्चिममा सामानको मूल्य सस्तो हुने र आयात–निर्यात सहज बन्ने अपेक्षा गरिएको छ। यसका साथै सडक यात्रामा हुने दुर्घटनाको जोखिम र यात्रीहरू लुटिने खतरा अन्त्य भई रोजगारी, उपचार तथा अध्ययनका लागि भारतका प्रमुख शहरहरू धाउने नागरिकहरूलाई सहज, सुरक्षित र सुलभ यात्राको पहुँच पुग्नेछ।

गौरीफन्टा–दुधवा–पलिया खण्डको रेल सेवा विगत ३५ वर्षदेखि (वि.सं. २०४७ देखि) ठप्प छ र त्यहाँका लिकहरूसमेत निकालिएका छन्। नेपालमा पूर्व–पश्चिम राजमार्ग नबन्दाको समयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री भीम रावल, पूर्वमन्त्रीहरू लेखराज भट्ट, रमेश लेखक र एन.पी. साउद लगायतका शीर्ष नेताहरू राजनीतिक कामका लागि काठमाडौँ धाउन यही पलिया स्टेशनबाट गोण्डा–गोरखपुर हुँदै जाने गर्थे। यो नाकाको रणनीतिक र आर्थिक महत्त्वलाई बुझेर नै नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा त्यहाँका सरकार प्रमुखसमक्ष पलियादेखि गौरीफन्टासम्मको बन्द रेलवे सेवा पुनः सुचारु गर्न र पलिया स्टेशनको व्यवस्थित स्तरोन्नति गर्न निरन्तर माग राख्दै आएका थिए।

यस रेलवे स्टेशनको स्तरोन्नति र ब्रोडगेज विस्तारका लागि सुदूरपश्चिमका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै आफ्ना भनाइ अघि सारेका छन्। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले पलिया रेलवे स्टेशन आधुनिक बन्दा धनगढी र समग्र सुदूरपश्चिमकै आर्थिक तथा पर्यटकीय ढोका खुल्ने बताउनुभयो। “ऐतिहासिक रूपमा जोडिएको यो रेलमार्ग आधुनिक ब्रोडगेजमा परिणत हुन सके सुदूरपश्चिमको कनेक्टिभिटीमा क्रान्ति नै आउनेछ,“ नगर प्रमुख हमालले भन्नुभयो।

त्यस्तै, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले यस क्षेत्रको व्यापारिक लागत घटाउन ब्रोडगेज विस्तार अनिवार्य रहेको बताउनुभयो। “गौरीफन्टा–पलिया खण्डमा सुविधायुक्त ब्रोडगेज रेल सेवा जोडिने हो भने भारत र तेस्रो मुलुकबाट हुने सामान ढुवानीको समय र भाडा निकै घट्नेछ, जसले सुदूरपश्चिमलाई व्यावसायिक हब बनाउन मद्दत गर्छ,“ अध्यक्ष ओझाले जोड दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पुष्पराज कुँवरले सीमावर्ती पूर्वाधारको विकासले दुवै देशको अर्थतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो। “सय वर्ष पुरानो यो रेलवे स्टेशन उपेक्षामा पर्नु दुवै देशका लागि घाटा हो। यसलाई आधुनिक रूप दिएर ब्रोडगेज जोड्दा दुवै देशका सीमावर्ती बजारको आर्थिक गतिविधिले नयाँ फड्को मार्नेछ,“ कुँवरले भन्नुभयो।

नागरिक अगुवा मायाप्रकाश भट्टले यो रेलमार्ग दुई देशबीचको रोटी–बेटीको सम्बन्ध र सामाजिक सामीप्यताको मुख्य आधार भएको उल्लेख गर्नुभयो। “नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकको आउजाउलाई सुरक्षित बनाउन यो ऐतिहासिक पूर्वाधारको स्तरोन्नति तत्काल हुनुपर्छ,“ भट्टको भनाइ थियो।

यातायात व्यवसायी टेकराज जोशीका अनुसार सुविधाजनक रेलवे स्टेशन र ब्रोडगेज रेल सेवा नहुँदा सर्वसाधारणले अकल्पनीय जोखिम मोलेर सडक यात्रा गर्नुपरेको छ। “बसको अस्वस्थ प्रतिस्पर्धा, महँगो भाडा, यात्राका क्रममा लुटिने जोखिम र अकाल दुर्घटना हटाउन पलिया स्टेशनको आधुनिकीकरण र ब्रोडगेज विस्तार नै एकमात्र सुरक्षित विकल्प हो,“ जोशीले भन्नुभयो।

सय वर्ष पुरानो पलिया स्टेशनलाई अत्याधुनिक बनाउन सुदूरपश्चिमका बासिन्दाले काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकार र उत्तर प्रदेश सरकारलाई आग्रह गरिसकेका छन्। यता भारतमा नागरिक अगुवा रवि गुप्ताले पलियालाई अलग्गै जिल्ला बनाउने र रेलवे स्तरोन्नति गर्ने अभियानलाई तीव्र बनाएका छन्। दुवै देशका सरोकारवालाहरूले संयुक्त दबाब दिएपछि अब उत्तर प्रदेश सरकार र भारतीय रेल मन्त्रालयले यसतर्फ ठोस कदम चाल्ने विश्वास लिइएको छ।