ट्याक्टरको ठक्करबाट सर्लाही क्याम्पसमा बीबीएस अध्ययनरत युवतीको मृत्यु


सर्लाही ।

 सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकमा शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी छोरी गुडिया कुमारी गुप्ता रहेको प्रहरीले जनाएको छ। उनी मलंगवास्थित सर्लाही क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत थिइन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १० बजे मलंगवा नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गुडियालाई नेपाल बैंक चोकअगाडि ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि उनलाई प्रहरीले उद्धार गरी तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पतालमा बिहान १०ः२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।  उनका अनुसार प्रादेशिक अस्पतालमा पोस्टमार्टम लगायतका आवश्यक प्रक्रिया भइरहेका छन । 

चालक गोडैता नगरपालिका–११ निवासी श्री साहका १७ वर्षीय छोरा अजय साह रहेको प्रहरीले जनाएको छ।

चालकसँग सवारीसाधन सञ्चालनसम्बन्धी आवश्यक कागजात समेत नरहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गुडियाको मृत्युको खबरपछि परिवार तथा राजश्री चोक र आसपासको क्षेत्रमा शोक छाएको छ।