काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल परिवर्तन गर्ने कुनै तयारी नरहेको स्पष्ट पार्नुभएको छ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूको कार्यक्षमताबारे प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसलाई मन्त्री हेरफेरसँग जोडेर हेर्न नहुने बताउनुभयो।
उहाँका अनुसार रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने अभ्यास रहेकाले सरकारका कामकारबाहीबारे सांसदहरूले प्रश्न उठाउनु सामान्य विषय हो। यसै विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको भन्दै उहाँले मन्त्री परिवर्तनबारे कुनै छलफल वा तयारी नभएको प्रस्ट पार्नुभयो।
लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह र आफूबीच कुनै विवाद वा मतभेद नरहेको दाबी गर्नुभयो। दुई नेताबीच सम्बन्ध बिग्रिएको भन्ने समाचारले बरु आफूहरूलाई अझ नजिक ल्याउने उहाँको टिप्पणी थियो।
प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भन्ने अभिव्यक्ति दिएको विषयलाई राजनीतिक विवादका रूपमा व्याख्या गर्न आवश्यक नरहेको पनि लामिछानेले बताउनुभयो। प्रधानमन्त्री साह कलाकार तथा कवि भएकाले उहाँका हरेक अभिव्यक्तिमा राजनीतिक अर्थ खोज्न नहुने उहाँको भनाइ थियो।
“सिङ्गो पार्टी उहाँसँग उभिएको छ, कहाँ हुनुहुन्छ एक्लो ?” भन्दै लामिछानेले सरकार र प्रधानमन्त्रीप्रति पार्टीको समर्थन यथावत् रहेको बताउनुभयो।
रास्वपामा कुनै गुट छैन
सभापति लामिछानेले पार्टीभित्र दुई धार वा गुट रहेको भन्ने दाबीसमेत अस्वीकार गर्नुभयो। महाधिवेशनपछि पार्टीको समायोजन प्रक्रिया पूरा भइसकेकाले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः केन्द्रीय समितिमा जिम्मेवारी दिँदै जाने प्रक्रिया रहेको उहाँले बताउनुभयो।
केन्द्रीय समितिलाई पूर्णता दिने काम पाँच वर्षभित्र क्रमशः सम्पन्न गर्ने कार्ययोजना रहेको भन्दै उहाँले तत्काल सबै पदाधिकारी तथा सदस्यको नाम टुंग्याउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
लामिछानेले आफू र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत वाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिबद्धतामा आधारित रहेको दाबी गर्नुभयो। सामान्य घटनालाई आधार बनाएर दुई नेताबीच राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने उहाँको भनाइ थियो।
सरकारको कामप्रति सन्तुष्ट, व्यवस्थापनमा कमजोरी स्वीकार
सरकारले राम्रोसँग काम गरिरहेको दाबी गर्दै लामिछानेले केही विषयमा व्यवस्थापनगत कमजोरी भने देखिएको स्वीकार गर्नुभयो। पछिल्लो समय देखिएको ग्यास अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने उहाँले बताउनुभयो।
राम्रो काम भइरहेका बेला पनि कहिलेकाहीँ समस्या देखिन सक्ने भन्दै उहाँले समस्याको समाधानतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो।
लामिछानेले रास्वपा सरकार जनताले दिएको म्यान्डेटअनुसार देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर अघि बढिरहेको दाबीसमेत गर्नुभयो।











प्रतिक्रिया