काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उच्चस्तरको टीएचसी (High THC Cannabis) भएको ३९ किलो २८८ ग्राम गाँजासहित आठ जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार विदेशबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइएको उच्चस्तरको गाँजा बरामद गरिएको हो। ब्युरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार म्यानमारको बैंककबाट आएको थाई एयरवेजको उडान नम्बर TG319 र भारतको भुवनेश्वरबाट आएको बटिक एयरवेजको उडान नम्बर OD541 मार्फत नेपाल आएका यात्रुहरूको चेकजाँच गर्दा उनीहरूले बोकी ल्याएको लगेजबाट गाँजा बरामद भएको हो।
TG319 उडानबाट पक्राउ पर्ने पाँच जना म्यानमारका नागरिक रहेका छन्। उनीहरूमा २३ वर्षीय Zar Ni Lin, २६ वर्षीय Ei Ei Thwe, ३२ वर्षीय Aung Bwar, ३२ वर्षीय Chue Myat Thwal Shein र ३२ वर्षीय Zin Myo Aung रहेका छन्।
त्यस्तै, OD541 उडानबाट पक्राउ पर्ने तीन जना भारतको पञ्जाब ठेगाना भएका नागरिक रहेको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा २३ वर्षीय Khushdeep, ३२ वर्षीय Gurdeep Singh र २६ वर्षीया Kamini रहेका छन्।
ब्युरोका अनुसार पक्राउ परेकाहरूको साथबाट ३९ किलो २८८ ग्राम लागूऔषध गाँजा, आठ थान पासपोर्ट र आठ थान मोबाइल फोन बरामद भएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।











प्रतिक्रिया