कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज


काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेर साउन २८ गते काठमाडौं फर्किएका देउवा भेलामा सहभागी हुन लागेका हुन्। उनलाई कांग्रेस नेता–कार्यकर्ताले काठमाडौं फर्किएलगत्तै भव्य स्वागत गरेका थिए।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुनेछ। बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै नयाँ नीति तथा कार्यक्रम तय गरिनेछ।

भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकले जनाएको छ।