मन्थली ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संघीय व्यवस्था बलियो र दिगो बनाउन प्रदेश सरकारको भूमिका स्थापित गर्नुपर्ने बताउनुभएको छ।
प्रेस चौतारी नेपाल रामेछापसँग शुक्रबार भएको भेटघाटमा महासचिव पोखरेलले प्रदेश सरकारको अस्तित्वबिना सङ्घीयता प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताउनुभएको हो।
उहाँले संघीय व्यवस्थालाई संस्थागत गर्न प्रदेश तहलाई अधिकार सम्पन्न र सबल बनाउनुपर्नेमा जोड दिनुभयो। “प्रदेश सरकार छैन भने सङ्घीयता पनि रहँदैन,” उहाँले भन्नुभयो, “त्यसैले संघीयतालाई संस्थागत र सफल बनाउन प्रदेश तहलाई अधिकारसम्पन्न र सबल बनाउनु आवश्यक छ।”
महासचिव पोखरेलले संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। जनताको विकास र समृद्धिको चाहना पूरा गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
पत्रकारहरूसँगको भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक सुधारका प्रयास तथा एमालेको भावी राजनीतिक रणनीतिबारे समेत धारणा राख्नुभएको थियो।
उहाँले संघीय संरचनालाई प्रभावकारी बनाउन राज्यका सबै तहले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने बताउँदै प्रदेश सरकारलाई कमजोर बनाउने नभई यसको भूमिका र अधिकारलाई स्पष्ट रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।











प्रतिक्रिया