स्याङ्जा ।
स्याङ्जाका विद्यार्थीहरुले आफूले आविष्कार गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरुको प्रदर्शनी गरेका छन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न विज्ञान प्रदर्शनी कार्यक्रममा जिल्लाभरका विद्यालयका विद्यार्थीहरुले वैज्ञानिक सोच, प्रयोगात्मक ज्ञान र सिर्जनशीलताको उत्कृष्ट प्रस्तुति दिएका हुन् ।
सदरमुकाम स्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा विद्यालयस्तरका विद्यार्थीहरुले विज्ञान, प्रविधि, आविष्कार तथा नवप्रवर्तनसँग सम्बन्धित विविध सामग्री प्रदर्शन गरेका थिए । त्यस्तै थप २० जना विद्यार्थी वैज्ञानिकहरुले पनि आफ्ना आविष्कार, अनुसन्धान तथा सिर्जनात्मक परियोजनाहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा आँधीखोला गाउँपालिकाको त्रि–शहिद नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयले विज्ञान र प्रविधिको प्रयोगमार्फत तयार पारिएको सिर्जनात्मक सामग्री प्रस्तुत गर्दै निर्णायकको उच्च मूल्यांकन प्राप्त गरेको थियो । त्यसैगरी भानुभक्त आचार्य माध्यमिक विद्यालय, गल्याङ द्वितीय, जीवन ज्योति माध्यमिक विद्यालय, बिरुवा तृतीय तथा त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालय, पुतलीबजार सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले विज्ञान र प्रविधिको विकासले नै राष्ट्रको भविष्य निर्धारण गर्ने बताउँदै विद्यार्थीहरुलाई अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले बालबालिकामा सानैदेखि वैज्ञानिक सोच र खोजमूलक प्रवृत्ति विकास गर्न सके भविष्यमा दक्ष वैज्ञानिक उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो ।
कुलपति तिवारीले विज्ञान केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । “विद्यार्थीहरुमा रहेको सिर्जनशीलता र वैज्ञानिक सोचलाई उजागर गर्न यस्ता प्रदर्शनी अत्यन्त आवश्यक छन्,” उहाँले भन्नुभयो, “भविष्यमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नेपालले पनि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न आजका विद्यार्थीहरुलाई अवसर दिनुपर्छ ।”
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको समग्र विकास र समृद्धिका लागि विज्ञान तथा प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विज्ञान र प्रविधिप्रति बालबालिकामा सानै उमेरदेखि रुचि र महत्वबोध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आजको युग प्रविधिमैत्री भएको उल्लेख गर्दै वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तनमार्फत मात्रै समाजलाई आधुनिक र आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिलाई व्यवहारिक शिक्षासँग जोड्न सकियो भने विद्यार्थीहरु भविष्यमा दक्ष जनशक्तिका रुपमा स्थापित हुन सक्छन् ।”
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बालबालिकालाई सानैदेखि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आकर्षित गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहँले भविष्यमा दक्ष वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा नवप्रवर्तनकर्ता उत्पादन गर्न विद्यालय तहदेखि नै प्रयोगात्मक र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
आचार्यले विद्यालयमा हुने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले विज्ञान शिक्षालाई केवल सैद्धान्तिक नभई व्यवहारिक र प्रयोगात्मक बनाउनु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विद्यार्थीहरुमा रहेको विज्ञान तथा प्रविधिको प्रयोगात्मक ज्ञान र आविष्कारसम्बन्धी अन्तर्निहित प्रतिभा प्रस्फुटनमा यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवप्रवर्तन र वैज्ञानिक सोचलाई प्रोत्साहन गर्न निरन्तर यस्ता गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । पौडेलले विद्यार्थीहरुले प्रस्तुत गरेका सामग्रीहरुले उनीहरुको सिर्जनशील क्षमता र प्रयोगात्मक दक्षता उजागर गरेको बताउँदै ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरुमा समेत वैज्ञानिक चेतना र प्रविधिप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो ।
विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थीहरुले वातावरण संरक्षण, वैकल्पिक ऊर्जा, स्मार्ट प्रविधि, कृषि प्रविधि, रोबोटिक्स, स्वचालित प्रणाली, विज्ञान प्रयोग तथा दैनिक जीवनमा उपयोगी उपकरणहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले स्थानीय स्रोत र साधनको प्रयोग गरेर तयार पारेका सामग्रीहरुले अवलोकनकर्ताको ध्यान आकर्षित गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरुलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रथम हुने विद्यालयलाई १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार रुपैयाँ, तृतीयलाई ५ हजार रुपैयाँ तथा सान्त्वना हुने विद्यालयलाई ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । त्यसैगरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सिर्जनशीलता प्रस्तुत गर्ने अन्य विद्यार्थीहरुलाई पनि नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको मूल्यांकन विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका सल्लाहकार तथा विज्ञान शिक्षक राजकुमार ढकाल र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका अध्यक्ष तथा विज्ञान शिक्षक सुजन लम्सालले गर्नुभएको थियो । मूल्यांकनका क्रममा वैज्ञानिक सोच, प्रयोगात्मकता, उपयोगिता, सिर्जनशीलता तथा प्रस्तुतीकरणलाई आधार बनाइएको जनाइएको छ ।
प्रदर्शनी अवलोकन गर्न पुगेका अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले विद्यार्थीहरुको प्रतिभा र सिर्जनशीलताको प्रशंसा गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई अनुसन्धान, आविष्कार र विज्ञानप्रतिको रुचि बढाउन महत्वपूर्ण प्रेरणा दिने बताएका छन् ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यार्थीहरुको बढ्दो सक्रियताले स्याङ्जामा वैज्ञानिक चेतना विस्तार हुँदै गएको संकेत गरेको छ । विद्यालयस्तरमै अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सके भविष्यमा दक्ष वैज्ञानिक, प्राविधिक तथा अनुसन्धानकर्ता उत्पादन गर्न सकिने विश्वास सहभागीहरुले व्यक्त गरेका छन् ।











प्रतिक्रिया