नेपाल चिकित्सक संघ निर्वाचनमा डा. मंगल रावलको अग्रता कायमै, मतगणना जारी


काठमाडौं।

नेपाल चिकित्सक संघको जारी निर्वाचन अन्तर्गत हालसम्म १ हजार ६७३ मतको गणना सम्पन्न भएको छ। प्राप्त प्रारम्भिक नतिजाअनुसार अध्यक्ष पदमा डा मंगल रावलले अग्रता कायम राखेका छन्।

उनी ७६८ मतसहित शीर्ष स्थानमा रहँदा उनका निकटतम प्रतिस्पर्धी डा बद्री रिजाल ६८९ मतका साथ दोस्रो स्थानमा छन्। त्यस्तै डा नारायणप्रसाद भुसाल १९७ मतसहित तेस्रो स्थानमा रहेका छन्।

बरिष्ठ उपाध्यक्ष पदतर्फ डा कीर्तिपाल सुवेदी ७०० मतसहित अग्रस्थानमा छन्। उनलाई डा सञ्जीव तिवारी ले ६४० मतका साथ पछ्याइरहेका छन् भने डा अजयकुमार मिश्र २३८ मतसहित तेस्रो स्थानमा छन्।

महासचिव पदमा प्रतिस्पर्धा निकै रोचक देखिएको छ। डा कालुसिंह खत्री ५९८ मतसहित अग्रस्थानमा रहँदा डा विश्वराज दवाडी ५७१ मतका साथ नजिकै छन्। डा अमृत भुसाल ४१५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

यसैगरी सातै प्रदेशका उपाध्यक्ष पदतर्फ पनि मतपरिणाम आउने क्रम जारी छ। कोशी प्रदेशमा डा रोशन खड्का, मधेशमा डा अमित रञ्जन मिश्र, बागमतीमा डा सुवास भट्टराई, गण्डकीमा डा यज्ञराज सिग्देल अग्रस्थानमा छन्। त्यसैगरी लुम्बिनी प्रदेशमा नन्दाकुमारी गुरुङ, कर्णालीमा डा रविन खड्का र सुदूरपश्चिममा डा प्रमोद जोशी ले अग्रता लिइरहेका छन्।

निर्वाचन समितिका अनुसार उपत्यका बाहिरका मतदान केन्द्र, विशेषगरी पोखरा र त्यसपछिका पश्चिम क्षेत्रका केन्द्रहरूको मतगणना सम्पन्न भइसकेको छ। हाल काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल चिकित्सक संघ भवनको छैटौं तल्लामा पाँच समूह बनाएर मतगणना कार्य तीव्र गतिमा भइरहेको छ।
मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन केही समय लाग्ने बताइएको छ। प्रतिस्पर्धा कडा देखिएकाले अन्तिम परिणामले नेतृत्व कसले सम्हाल्ने भन्ने चासो चिकित्सक समुदायमा बढ्दै गएको छ।