पीएम कपमा यामाहाको प्रायोजन


काठमाडौँ
प्रधानमन्त्री कप २०२६ अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा यामाहाले “पावर्ड बाइ” प्रायोजकका रूपमा सहभागिता जनाउँदै नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने प्रयास गरेको छ ।

२३ मार्च २०२६ मा काठमाडौंमा सार्वजनिक गरिएको जानकारीअनुसार नेपालमा क्रिकेट खेल मात्र नभई भावना पनि भएकाले युवाको सपना साकार पार्ने उद्देश्यले यो सहकार्य गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) द्वारा हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता एक महिनासम्म सञ्चालन हुने देशकै प्रमुख घरेलु प्रतियोगिता हो, जसमा प्रत्यक्ष प्रसारण, मोटरसाइकल तथा नगद पुरस्कारसहित विभिन्न अवार्डहरू पोस्ट म्याच कार्यक्रममार्फत वितरण गरिनेछ ।

यामाहाले विगतदेखि नै उत्कृष्ट प्रदर्शनप्रति प्रतिबद्धता जनाउँदै विभिन्न युवा लक्षित पहलहरू सञ्चालन गर्दै आएको छ। पीएम कपसँगको सहकार्यले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रतिको प्रतिबद्धता अझ मजबुत बनाएको जनाइएको छ । यस वर्ष उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिता वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानीलगायतका मैदानहरूमा सञ्चालन हुने छ भने सातै प्रदेशसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफसहित १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यामाहाको सहभागिताले घरेलु क्रिकेट थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले प्रतियोगिताले युवा उत्साह झल्काउने बताए भने कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यामाहा सधैं सपनाको शक्तिमा विश्वास गर्ने र पीएम कप जस्ता मञ्चले भविष्यका खेलाडी जन्माउने धारणा राख्नुभयो । यामाहाले सबै क्रिकेट प्रेमीलाई प्रतियोगितामा सहभागी भई समर्थन गर्न आह्वान समेत गरेको छ ।