पारसको मुटुको आईसीडी ब्याट्री परिवर्तन


काठमाडौं ।

पारस शाहको मुटुमा जडान गरिएको इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री परिवर्तन गरिएको छ । उक्त प्रक्रिया नर्भिक इन्टरनेसनल हस्पिटलमा सफलतापूर्वक सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार आइतबार बिहान डा. यादवदेव भट्टको नेतृत्वमा चिकित्सक टोलीले शाहको आईसीडी उपकरणको ब्याट्री परिवर्तन गरेको हो । बिहान करिब ८ बजे अस्पताल पुगेका शाहको आवश्यक स्वास्थ्य परीक्षणपछि साढे ९ बजे शल्यक्रिया प्रक्रिया सम्पन्न गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सक डा. भट्टले पुरानो ब्याट्रीले काम गर्न छाडेपछि नयाँ ब्याट्री जडान गरिएको जानकारी दिनुभयो । शाहलाई सन् २०१३ फेब्रुअरीमा थाइल्यान्डमा बसिरहेका बेला गम्भीर हृदयाघात भएपछि बैंककस्थित अस्पतालमा लामो समय उपचार गरिएको थियो । त्यसपछि उहाँको मुटुको चाल नियन्त्रण गर्न आईसीडी उपकरण जडान गरिएको थियो ।

चिकित्सकहरूका अनुसार यस्तो उपकरणको ब्याट्री निश्चित समयपछि परिवर्तन गर्नुपर्ने हुन्छ । समयमै ब्याट्री परिवर्तन नगरेमा उपकरणले अपेक्षित रूपमा काम नगर्न सक्छ, जसले बिरामीको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ । डा. भट्टले शाहलाई अझै केही दिन अस्पतालमै राखेर निगरानी गरिने बताउनुभएको छ । ‘हाल अवस्था स्थिर छ, तर चिकित्सकीय निगरानीका लागि केही दिन अस्पतालमै राखिन्छ’ –उहाँले जानकारी दिनुभयो । अस्पताल स्रोतका अनुसार शल्यक्रिया प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल शाहको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।