वैशाख १ बाट रात्रिकालीन साझा बस चल्ने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ । लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर, कान्ति, टिचिङ, गंगालाल हृदयकेन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।

यो उत्तर–दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघरमण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नुपर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ’ – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो ।
रात्रिकालीन बससेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको कार्यवाहक प्रमुख डंगोलको भनाइ थियो ।

राती ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटीभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।