ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकमा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौँ
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक–२०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकले उक्त अवसर पारेर सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्न लागेको हो ।

बैंकका अनुसार ग्लोबल मनि विक–२०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसात गर्दै आगामी मार्च १६ देखि मार्च २२, २०२६ सम्म देशभरका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा बैंकले वित्तीय सचेतना अभिवृद्धिका लागि विभिन्न जानकारीमूलक सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने जनाएको छ ।

वित्तीय साक्षरता प्रवद्र्धनका लागि बैंकले हरेक वर्ष आफ्ना शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा हालसम्म बैंकका ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस्ता कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी प्रदान गरिँदै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेस्ट बैंक अवार्ड–२०२४” तथा “युरो मनि अवार्ड फर एक्सलेन्स–२०२४” अन्तर्गत दुई विधाबाट नेपालको उत्कृष्ट बैंकका रूपमा सम्मानित भइसकेको छ। साथै बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट पनि विभिन्न विधामा सम्मानित हुँदै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका हाल ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले स्वदेशमा बैंकिङ सेवा उपलब्ध गराउनुका साथै विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकमार्फत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न देशबाट रेमिट्यान्स भित्रिने व्यवस्था गरिएको छ ।